News Portal

लोकतन्त्रमाथि कसैको खतरा छैन-मन्त्री बाँस्कोटा

पत्रपत्रिका
५१८ पटक

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमाथि कुनै पनि किसिमको खतरा नरहेको दाबी गरेका छन् । प्रेस संगठन रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रतिपक्षी नेताहरूबाट भइरहेको आलोचनाको खण्डन गरे । बाँस्कोटाले भने, ‘जनताको त्याग, तपस्या र बलिदानीबाट प्राप्त गणतन्त्र त्यति सजिलै ढल्दैन ।’

लोकतन्त्रमाथि विभिन्न किसिमले हमला गर्ने तत्व सक्रिय भए पनि लोकतन्त्र खतरामा नरहेको मन्त्री बाँस्कोटाले बताए । ‘लोकतन्त्रमाथि हमला गर्ने तत्वसँग सदैव सचेत रहनुपर्छ, धमिलो पानीमा माछा मार्न पल्केकाहरू कहिले धर्मका नाममा, कहिले वंशजका नाममा सल्बलाई रहेका छन्’, उनले भने ।

सरकारले मिडियालाई नियन्त्रण गर्ने नभई नियमन मात्रै गर्ने उनले बताए । त्यसैका लागि मिडियासम्बन्धी नयाँ कानुन ल्याउन लागेको बाँस्कोटाले स्पष्ट पारे । उनले भने, ‘मूल प्रभावका सञ्चार संस्था कसैको लोभ, धाक, धम्कीको प्रभावमा नपरी व्यवसायमा इमानदार हुनुपर्छ । सनसनीपूर्ण बनाएर अफ्ठ्यारो पर्ने र उन्मुक्ति खोज्ने प्रवृत्ति राम्रो होइन ।’

सञ्चारजगत सरकारप्रति नभएर नेपाली जनताप्रति उत्तरदायी र जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो । मिडियाको दुरुपयोग रोक्न सरकार कानुन निर्माणमा लागेको पनि मन्त्री बाँस्कोटाले चर्चा गरे । सामाजिक सञ्जालले मूल प्रवाहको मिडियालाई निर्देशित गर्न नसक्ने र त्यस्तो भएमा समाज अराजकतातर्फ जाने भएकाले सचेत हुनुपर्नेमा बाँस्कोटाको जोड थियो ।नयाँ पत्रिकाले खबर छापेको छ।

प्रतिकृया दिनुहोस्