News Portal

बेपत्ता परिवारको गुनासो, दिवसले हाम्रो घाउमा नून चुक मात्रै छरेर जान्छ

ईश्वरकाजी खाइजू
६९५ पटक

भक्तपुर। तत्कालीन माओवादी जनयुद्धको क्रममा बेपत्ता व्यक्तिका परिवारका सदस्यले प्रत्येक वर्ष आउने अन्तर्राष्ट्रिय दिवसले आफूहरुको घाउमा नूनचुकमात्रै गरेर जाने गरेको भन्दै आक्रोश पोखेका छन् । सरकारले बेपत्ताको सूची तयार गरे पनि बेपत्ता परिवारले पाउनुपर्ने न्यूनत्तम सेवासुविधासमेत पाउन नसकिएको उनीहरुको आक्रोश थियो ।

उनीहरुले आफ्नो कोही सदस्य बेत्तपा छन् भन्ने भुल्न भुल्न खोज्दा खोज्दै प्रत्येक वर्ष आउने अन्तर्राष्ट्रिय बेपत्ता दिवसले खाटा बस्न लागेको घाउमा नूनचुक छरेर जाने गरेको स्पष्ट पारेका छन् ।

अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा बिहीबार भक्तपुरमा आयोजित अन्तरक्रियाका सहभागीले बेपत्ताको अवस्था स्पष्ट नहुँदा उनका छोराछोरीले नागरिकतासमेत पाउन नसकेको गुनासो गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा आयोजित उक्त कार्यक्रमका सहभागीले भने, ‘अभिभावक बेपत्ता भएको वर्षौं भइसक्यो । तैपनि हामीले उहाँको नाउँमा नागरिकतासम्म पाउन सकेको छैनौं ।’

त्यस्तै उनीहरुले पैतृक सम्पत्तिको रुपमा रहेको जग्गाजमिनसमेत नामसारी गर्न नपाएको सुनाए । उनीहरुले आफ्ना अभिभावक बेपत्ताको सूचीमा हुँदा पनि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता नदिइनु अन्याय भएको गुनासो गरे ।

‘प्रशासनमा हाम्रो अभिभावक बेपत्ता भएको सूची छ तैपनि हामीले उहाँको नाममा नागरिकता पाउन सकेका छैनौं’, बेपत्ता परिवारकी स्वस्तिका बिसुंकेले भनिन्, ‘पैतृक सम्पत्ति पनि नामसारी गर्न पाएका छैनौं ।’

उनले वेपत्ताको सूचीमा सूचीकृत हुँदा पनि वेपत्ता परिवारले पाउनुपर्ने सुविधा पाउन नसकिएकोमा आक्रोश पोखिन् । त्यस्तै वेपत्ता परिवारकै सुरज न्यौपानेले वर्सेनि आउने वेपत्ता दिवसले आफूहरुको घाउमा नूनचूकमात्रै गर्ने गरेको बताए ।

‘बरु जनयुद्धका क्रममा मृत्यु भएको भए यति पीडा हुँदैन होला’, उनले भने, ‘जुन वेपत्ता हुँदा अहिले हामीले भोग्दै आएका छौं । हामीलाई पीडामात्रै अनुभूति दिने दिवस मनाउनुको अर्थ छैन ।’ त्यस्तै अर्का वेपत्ता परिवारका कृष्ण प्याकुरेलले आफ्ना मान्छे कहिलेसम्म वेपत्ता हुने भनी प्रश्न गरे ।

‘हाम्रा मान्छे कहिलेसम्म वेपत्ताको वेपत्तै रहने ?’, उनको प्रश्न थियो । वेपत्ता परिवारका सदस्य एवं पूर्वसंविधानसभा सदस्य नारायणदेवी श्रेष्ठले वेपत्ता परिवारलाई सबैभन्दा बढी आर्थिक समस्या हुने सुनाइन् ।

अधिकांशको घरको मूली एवं अभिभावक नै वेपत्ता भएकाले उनको परिवारलाई रोजगारीसँगै सरकारले दिनुपर्ने सम्पूर्ण सेवासुविधा सुनिश्चित गर्नुपर्ने उनले जोड दिइन् ।

कार्यक्रममा भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेले हिजो जनयुद्धमा रहेको पार्टी नै अहिले सत्तामा रहेको र आवश्यक ऐनकानुन भए पनि व्यवहारमा द्वन्द्वकालीन मुद्धा किनारा लाग्न नसकिरहेको बताए । उनका अनुसार भक्तपुरमा राज्य पक्ष तत्कालीन माओवादी पक्षबाट बेपत्ता पारिएका १२ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

कार्यक्रममा सहभागी भए पनि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले आफूहरुले द्वन्द्वकालीन मुद्धामा बोल्न नमिल्ने भन्दै पन्छिए । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाका शाखा सभापति मनोजकुमार थापाले गएको वर्षसम्म केन्द्रीयस्तरमा हुने कार्यक्रम यसै वर्षदेखि जिल्ला जिल्लामा मनाइएको जानकारी दिए । उनले वेपत्ता परिवारका सदस्यहरुलाई रोजगारी एवं अन्य जीविकोपार्जनको कार्यक्रम सञ्चालन गर्न सरोकारवाला निकायसम्म समन्वय र सहकार्य गरिने बताए ।

प्रतिकृया दिनुहोस्