News Portal

  • कंचनजंघालाई जवाफ-सुमनसिंह पाैडेल

    रातोपोस्ट संवाददाता
    ८९४ पटक

    यतिबेला
    म बयस्क बनिसकेपछि
    तन्नेरि कंचनजंघालाइ हेरिरहेको छु
    कंचनजंघा मुसुक्क मुस्कुरांउदै
    मलाइ प्रश्न गरिरहेको छ
    झस्काउन खोजिरहेको छ

    समय चलिरहेको छ
    परिस्थिति अदल बदल भैरहेको छ
    रौंहरु
    बगरमा सिरु फुलेझैं
    फुल्न खोजिरहेका छन
    म अडिएर कंचनजंघालाइ सुन्दैछु

    किनकी
    कंचनजंघा मात्र यस्तो साक्षी हो
    जसले मेरो धेरै पुरानो सभ्यता देखि
    आजको बयस्क समय सम्म नियालिरहेको छ
    चम चम चहकाएर
    लाखौंको वाहा वाहिबाट पुलकित बनेर
    कंचनजंघा मतिर फर्किएर
    मलाइ भन्दै छ ……
    म सुन्दै छु………

    मेरो फेदिमा चौरी पाल्ने शेर्पाले
    अहिले सम्म राम्रो खानै सकेन
    ताप्लेजुङका अग्ला पहाडहरुमा
    खच्चड डोहोर्याउनेहरुले
    अहिले सम्म राम्रो लाउनै पाएनन
    अग्लो पहाडको चेपबाट झुल्किने
    बिहानिको झुल्के घाम
    नित्य अस्ताइरहेको छ त्यसै गरि
    तर म निहालिरहेको छु रातमा पनि
    पांचथरका पाखाहरुमा बस्नेहरुले
    धिक मरुन्जेल पानी कहिलै पिउन पाएनन

    तेह्रथुमका बेंसिहरुमा
    लेकबाट झरेर माटो कोट्याउने किसानले
    उपचार कहिलै पाउन सकेन
    इलामका चुरेहरुमा बाख्रा चराउनेहरु
    चोयाको डोको र थुन्छे बनाउने हरु
    तराइका बजारबाट नुन बोक्नेहरुले
    कहिलै न्याय पाएनन

    झापाका किसानहरु, मजदुरहरु
    सुकुमबासी र ज्यालादारिहरुले
    दशनग्रां खियाउंदै
    तर तर पसिना बगाएपनी
    छर छर रगत बगाएपनी
    राम्रो कहिलै खान पाएनन
    राम्रो कहिलै बस्न पाएनन

    हेर ! तिनैको जिन्दगी
    पशुतुल्य छ आजपनी
    मालिकले दास बनाइरहेका छन
    महाजनहरुले गोरुलाइझैं जोतिरहेका छन

    कंचनजंघा निरन्तर हेरिरहेको छ
    मुसुक्क मुस्कुराएर मोरङलाई पनि हेर्दैछ
    सुनसरिलाइ पनि
    पुर्वका धेरै पहाडहरु कंचनजंघाको नजरबाट
    हट्न सकेका छैनन
    त्यतिबेला देखि जतिबेला हाम्रो सभ्यता
    जीव भएर ताते गर्न खोजिरहेको थियो
    र यतिबेला हामी भुमण्डलिकरणको
    तातो तातो लुटको लप्कासंग
    नजिकबाट भिडिरहेका छौं बयस्क बनेर …..

    कंचनजंघा फेरि प्रश्न गर्छ मलाइ …?
    तं अझै कति लड्छस ?
    तेरा आफ्नाहरुको तैंले कहिलै याद गर्नु पर्दैन ?
    तं आंफुले आफ्नो ख्याल राख्नु पर्दैन ?

    कंचनजंघा आंफुलाइ मात्र खुसी ठान्छ सायद !
    दुनियाको बिजोग बयान गर्छ
    तर उ सग्लो उभिएर हांसिरहन्छ
    मानौं उ मात्र यो दुनिंयामा खुसी छ !

    मलाइ पनि केही बोल्न मन छ !
    केही भन्न मन छ, आफ्नै जिवनलाइ हेरेर
    हो ! कंचनजंघाले सदिऔं देखि हेरे जस्तै
    मैले पनि हेरेको छु र बुझेको छु !
    मालिकले लुटिरहेका कंयौ मलिन अनुहारहरु
    उपचार नपाएर छट्ट्पटिएका हजारौं जनहरु
    खान नपाएर तड्पिरहेकाहरु
    बस्ने सानो झुपडी नभएर सडकमा भौतारिएका
    सुकुमबासी र दुखियाहरु
    ती सबै मेरा आफ्ना सहोदर आफन्तहरु हुन
    मेरो आफ्नै नजिकका हितैसिहरु हुन
    मेरा नातेदार हरु हुन………

    कंचनजंघा लाई थाहा रहेनछ
    मेरि आमाको कानमा सुन छैन
    आंङमा राम्रो सारी छैन …….
    तर अंह कहिलै सुन ल्याइदे भन्नू भएन
    बरु भन्नू भयो, छोरा ! त्यो छिमेकी अस्पतालमा छ रे
    पैसा नभएर छट्पटीएको छ
    जा ! गएर सकेको सहयोग गर
    म मेरो आमाको सपना, चाहाना पूरा गर्दैछु !
    किनकी ती सबै दुखिहरु मेरि आमाका आफन्तहरु हुन
    मेरि आमालाइ त्यति बेला दुख लाग्नेछ
    जतिबेला मैले मात्र मेरो लागि
    सुखको आंकाक्षा राख्ने छु र म एक्लै रमाउने छु

    आमा त्यतिबेला मुर्छित बन्ने छिन
    जतिबेला म आफ्नो उदेश्यबाट भाग्ने छु
    र आमा त्यतीबेला ढल्नेछिन जतिवेला
    मैले कंचनजंघा जस्तै निर्जिव दर्शक बनेर
    दुनियाँको दुखको अगाडि मुसुक्क मुस्कुराउने छु
    हांस्ने छु………….

    त्यसैले, भयो ! कंचनजंघा मलाइ तेरो आदर्श
    तेरो अर्ति चाहिएको छैन
    मलाइत बरु तेरो साथ चाहिएको छ
    दुनिंयालाइ भनिदे ! क्रान्तिकारी यस्तो जात हो
    जसले मलाइ युग युग सम्म हांस्न सक्षम बनाइराख्न सक्छ !
    २०७५/०२/२५

    प्रतिकृया दिनुहोस्