News Portal

विप्लवका पाँच नेता पुन गिरफ्तार

रातोपोस्ट संवाददाता
९५५ पटक

काठमाडौं :नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेताहरूलाई अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालत संखुवासभाले सोमबार घनश्याम श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, छिरिङ शेर्पा, माधब गौतम र रमेश खड्कालाई रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको हो ।

गत भदौ ९ गते सुनसरीबाट गिरफ्तार गरी संखुवासभा पुर्याइएका उनीहरुलाई सोमबार भएको बहसपछि जिल्ला अदालतले धरौटिमा रिहा गर्न आदेश दिएको थियो । बन्दीका तर्फबाट अधिवक्ता भवानी आचार्यले बहस गरेका थिए । बहसपछि अदालतले पुस्करलाई ३० हाजार र अन्य ४ जनालाई १५/१५ हजार धरौटिमा रिहा गर्न आदेश दिएको थियो । तर प्रहरीले अदालत परिसरबाटै उनीहरुलाई पुनः गिरफ्तार गरेको छ ।

गिरफ्तार परेका मध्ये पुस्कर र प्रज्वललाई मोरङको पत्थरी, छिरिङ र रमेशलाई सुनसरी लैजाने तयारी गरिएको बुझिएको छ । पुस्कर, प्रज्वल, माधव र रमेशलाई गत बैशाख १७ गते सुनसरी जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि धरौटी बुझाउन अस्वीकार गर्दै सुनसरीको झुम्का कारागार चलान भएका थिए । तर भदौ ९ गते उनीहरुले धरौटी बुझाएपछि पुनः अदालत परिसर भित्रबाटै गिरफ्तार गरि संखुवासभा लगिएको थियो । उनीहरुलाई चैनपुरमा राखिएको प्रहरीले बताएको थियो ।

पुस्कर र माधव गत चैत १० गते तथा प्रज्वल चैत १३ गते मोरङबाट र रमेशलाई चैत १२ गते सुनसरीबाट प्रहरीले गिरफ्तार गरेको थियो । भने छिरिङलाई संखुवासभाबाटै गिरफ्तार गरेको थियो ।

प्रतिकृया दिनुहोस्