News Portal

जनपत्रकार संगठनका केन्द्रीय सदस्य हमाल पुन गिरफ्तार

रातोपोस्ट संवाददाता
७६६ पटक

काठमाडौं। जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै हमाललाई रिहा गर्न आदेश दिएको थियो । तर उनलाई सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो । भदौं ६ गते कास्कीको सिसुवाबाट प्रहरीले पत्रकार हमाललाई गिरफ्तार गरेको थियो । गिरफ्तारी गैरकानुनी भएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको थियो ।

रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र डम्मरबहादुर खतिवडाको ईजलासले पत्रकार हमालको पक्राउ गिरफ्तारी गैरकानुनी भन्दै रिहा गर्न आदेश दिएको थियो । तर पत्रकार हमाललाई  प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

पत्रकार हमाललाई अदालतको आदेशलाई समेत अवज्ञा गर्दै पुनः गिरफ्तार गरेपछि जनपत्रकार संगठन,नेपालले आपत्ति जनाएको छ । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले विज्ञप्ति जारि गर्दै पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै निन्दा गरेका छन् । जनपक्षीय पत्रकारमाथिको पटक–पटकको गिरफ्तारीले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेको प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विचार र आस्थाका आधारमा पत्रकारलाई पक्राउ गरि झुठा मुद्दा लगाउने र अदालतको आदेशलाई समेत अवज्ञा गर्नुले देशमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो छ भन्ने कुराको समेत छर्लङ्ग भएको  छ ।’  संगठनले देशभरका कलमजिवीहरुलाई पत्रकारको गैरन्यायिक गिरफ्तारीको विरोध गर्न समेत आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्