News Portal

नागरिकले नै समात्छन् पर्यटकहरुको पाकेट मार्नेलाई !

रातोपोस्ट संवाददाता
७८९ पटक

एजेन्सी । विचलित पर्यटकहरुलाई पाकेटमारबाट जोगाउन पुलिस असमर्थ भएपछि इटलीको सहर भेनिसका सर्तक नागरिकहरुको एक समूहले स्वयम्सेवकको भूमिका निर्वाह गरेका छन् ।  भेनिस घुम्न आउने पर्यटकहरु पाकेटमारका लागि धेरै महङ्गो शिकार मानिन्छन् । तर पुलिस सबै सडक र गल्लीसम्म पुग्न नसक्ने भएपछि पाकेटमारहरुलाई नियन्त्रण गर्न कठिनाइ भइरहेको थियो ।

त्यसैले ‘अविचलित र सर्तक नागरिक’ नामक स्वयंसेवकको समुहले यसमा ठूलो सहयोग पुर्याइरहेको छ ।  स्वयंसेवक समुहका झन्डै ६० जना सदस्यहरुले पहिले त सम्भावित अपराधीको तस्बिर वाट्सएप मार्फत शेयर गर्दै पुलिसम्म पुर्याउने गर्दछन् । धेरैले आफूलाई जिम्मा दिइएको स्थानमा भेटिने पाकेटमारलाई मात्र पक्रिने गरेका छन् ।

तापनि भेनिसमा एक तिहाइ भन्दा बढी पाकेटमारहरु यस समुहकै नेतृत्वमा पक्राउ गर्न सफल भएको डुप्युटी पुलिस कमिस्नर फ्रान्सेस्को लिभिएरी बताउँछन् ।

यस्तोमा पुलिस र यस समुहबीच अत्याधिक नजिकी सहकार्य हुँदा आफूले पत्नी भन्दा बढी समय उनीहरुसँग बिताइरहेको फ्रान्सेस्कोले हाँस्दै बताए ।  अर्कोतर्फ स्वयंसेवकहरुले चाहिँ आफ्नो सहकार्यमा एक तिहाइको पनि धेरै गुणा पाकेटमार नियन्त्रणमा लिइएको उल्लेख गरेका छन् । स्वयंसेवक समुहका ६८ वर्षीय ‘स्ट्रिट पेन्टर’ प्रान्को डेइ रोसी भन्छन्, “पुलिसहरु एकदम थोरै सङ्ख्यामा मात्र निगरानी गरिरहेका छन् जबकी हाम्रो आँखा सबैतिर छ ।”

यसमा एक मात्र नियम भनेको सबै सदस्यले पीडित व्यक्तिबाट कुनै किसिमको उपहार स्वीकार गर्न पाउँदैनन् ।

रोसीका अनुसार हप्तौँसम्म यताउती गरिरहेका पाकेटमारप्रति आफूले नजर राखिरहँदा कतिपय अवस्थामा आफूलाई चिनेर डराउँदै मुस्कुराउने पनि गरेका छन् । यस्तोमा उनले तिनलाई ‘केही काम खोजेर गर’ भन्दै हप्काउने गरेको बताए ।

त्यस्तै अन्य केही स्व्यंसेवकहरुले पनि शहरका पुलिस अधिकारीहरुले पाकेटमारको विषयलाई बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । पुलिसले तिनीहरुलाई नियन्त्रण गर्नुको सट्टा अवैध रुपमा पिकनिक मनाउनेहरुलाई समात्ने गरेका छन्, जसलाई पकड्न र जरिबाना तिराउन अत्यन्तै सहज हुने उनीहरुको भनाइ छ ।
सहरका सम्बन्धित अधिकारीहरु लापरबाह भएकै कारण सडक अपराध वृद्धि भएको अर्की एक सदस्य मोनिका पोली बताउँछिन् ।

उनले नजर राख्ने गरेकी एक पाकेटमार आफ्नो काम सकाएपछि नजिकैको भेनिस ट्रेन स्टेसनमा भर्खरै आएका पर्यटकहरुको वालेट चोर्ने गरेकी छन् । तर केही समय अगाडि मात्र पोलीमाथि महिला पाकेटमारहरुको एउटा समुहले कुटपिट गरेको थियो ।

भेनिसमा पुरुष भन्दा महिला पाकेटमारको सङ्ख्या धेरै भएको उनी बताउँछिन् । त्यसैले पनि पछिल्लो समय तिनलाई नियन्त्रणमा लिन कठिन भइरहेको बताइएको छ । किनकि पाकेटमारहरुले पनि स्वयंसेवकहरुको तस्बिर एकआपसमा शेयर गरि तिनीहरुको नजरबाट बच्ने उपाय निकालिरहेका छन् ।

त्यस्तै कानुनमा पनि पाकेटमारहरुले पिडितका बहुमूल्य वस्तु आफ्नो हातमा लिइसकेपछि मात्र तिनलाई पक्राउ गर्न मिल्ने नियम रहेको छ । यस्तोमा महिला पाकेटमारहरुलाई पक्राउ गर्न खोज्दा तिनीहरु अचानक चिच्याएर उल्टै आफूमाथि हमला भएको भनेर मद्दतका लागि गुहार्ने गरेको एक पुरुष स्वयंसेवकले बताए ।

त्यसैले अहिले नागरिक समूहको काम जोखिमयुक्त बनेको डामिनाओ गिजीको भनाइ छ । उनले केही समय अगाडि मात्र एक महिला पाकेटमारलाई चोर्दै गरेको देखेपछि हात समातेर रोक्न खोजेका थिए तर ती अपराधीले उल्टो आफ्नै स्कर्ट च्यातेर मद्दतका लागि चिच्याएको उनले बताए ।

उनी भन्छन्, “त्यसैले सार्वजानिक स्थलमा हामी कुनैपनि समय सजिलै शारीरिक हिंसाको शिकार हुन सक्छौँ । द इकोनोमिस्टबाट

प्रतिकृया दिनुहोस्