News Portal

प्रधानमन्त्रीले गृहजिल्ला पुगेर भने : नागरिकको जीवनमा परिवर्तन देखिएको छ

गोपाल झापाली
६१० पटक

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले बामपन्थी सरकार गठन पछि विपन्न नागरिकको जीवनमा परिवर्तन शुरु भएको बताएका छन्।

उनको आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा सोमबार आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा उनले हुने खानेहरूको भन्दा पनि हुँदा खानेहरूको जीवनमा परिवर्तन देखिएको बताएका हुन्।

वास्तविक रूपमा जो सर्वहारा छन्, विपन्न छन् उनीहरूमा सरकारको अनुभूति पुगेको भन्दै सरकार त्यस्ता नागरिकसम्म पुग्ने क्रममा रहेको पनि बताए। कतिपयले धर्मको नाममा र जातको नाममा राजनीति गर्न खोजे पनि त्यस्ता कुराहरूले समाजमा गलत प्रभाव मात्र पार्ने उनले बताए। भौतिक पूर्वाधारदेखि विकासका हरेक पक्षमा सरकारले प्राथमिकता दिएको भन्दै उनले परिवर्तनको प्रभाव देख्न धैर्यता गर्नु पर्नेमा पनि उनले जोड दिए।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका ओलीले हरेक वर्षको दशैंमा नवमीको दिन पारेर गृहजिल्लामा शुभकामना आदन-प्रदान कार्यक्रम गर्दै आएका छन्। यस अघिका वर्षहरूमा उनले विर्तामोडमा यो कार्यक्रम गर्दै आएका थिए। यस वर्ष भने आफ्ने गृह नगर दमकमा ओलीले कार्यक्रमको आयोजना गरेका हुन्।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चाडपर्वहरूको सन्दर्भमा केन्द्रित रहेर आफ्ना धारणा राखेका थिए। उनले नेपाली समाजको सद्भाव, एकतालाई बलियो पार्न हरेक चाडवर्पको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा नेकपाका  प्रदेश १ का इन्चार्ज भिम आचार्यले सुशासन र विकास निर्माणमा सरकार र पार्टी प्रतिवद्ध रुपमा लागि परेको भन्दै केही भ्रमहरूलाई चिर्न सवै एक हुनु पर्नेमा जोड दिए।  कार्यक्रम हलमा प्रवेश गर्ने क्रममा उनलाई झापाका आदिबासी सन्थाल जातिको सांस्कृतिक नृत्यले स्वागत गरिएको थियो। उनले सो सांस्कृतिक नृत्य समेत केही वेर रुचीपूर्वक अवलोकन गरेका थिए।

प्रतिकृया दिनुहोस्