News Portal

महिला सशक्तिकरणमा नगरपालिकाको चासो

सुष्मा तिखत्री
१०१२ पटक

पछिल्लोसमय लक्षित वर्गका समुदायको सशक्तिकरण झापामा अर्जुनधारा नगरपालिकाले चासो दिन थालेको छ स्थानीय तहको पुर्नसंरचानापछि नगरपालिकाले लक्षित वर्गका समुदायको हितमा काम गरेर सशक्तिकरणमा अग्रसर बनेको हो ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाको गत वर्षका लागि विनियोजित रकमले नगरपालिकाभित्र रहेका महिला बालबालिका तथा लक्षित वर्गका लागि उदाहरणीय काम समेत भएका छन् । महिला सशक्तिकरणका लागि सिंगो नगरपालीकालाई स्थानीय आमा समूह, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था लागयतले दलित तथा महिला सशक्तिकरणका कार्यक्रमहरु ल्याएर परिवर्तनका लागि अग्रसर भएका छन् । गतवर्ष महिला विकास शाखा बाहेक विभिन्नि वडा कार्यालयहरुले पनि सशक्तिकरणका कार्यक्रम गरेर महिलालाई आत्मनिर्भर बनाउन सहज भूमिका खेलेका थिए ।

के–के भए लक्षित वर्गका कार्यक्रम
नगरपालिकामा रहेको महिला विकास शाखाले आर्थिक वर्ष २०७५÷०७६ मा ९५ वटा परिचय पत्र वितरण गरिएको छ । नगरपालिकामा अपाङ्गता भएकाहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।

नगरपालिका क्षेत्रमा रहेका ३४ जना पूर्ण अपाङ्गता भएका, ४० जना अति अशक्त अपाङ्गता भएकालाई परिचय पत्र वितरण गरिएको महिला विकास शाखा प्रमुख पवित्रा बाँस्कोटाले बताईन् । त्यस्तैगरी, १८ जनामध्ये अपाङ्गता र ३ जना सामान्य गरी ९५ जना अपाङ्गता भएका ब्यक्तिलाई परिचयपत्र वितरण गरिएको उनको भनाई छ ।

स्थानीय तह पुर्नसंरचनापछि नगरपालिकाले महिला तथा लक्षितवर्गका लागि विशेष कार्यक्रमहरु गरेर अगाडि बढेको छ । समग्रमा लक्षित वर्गका लागि नगरपालिका र हरेक वडाहरुले समेत विविध कार्यक्रमहरु गरेका छन् । लक्षित वर्गको जीविकोपार्जनदेखि जीवनस्तर बढाउनका लागि लागी परेका छन् ।

नगरपालिकाले महिलाका लागि उद्घोषण तथा लेखन, सिलाईकटाई, किशोरीहरुका लागि जीवनउपयोगी सीप, बालक्लवहरुलाई लागुऔषध प्रयोग नियन्त्रण सम्बन्धि अन्र्तक्रिया तथा ज्येष्ठ नागरिकलाई सम्मान जस्ता उदाहरणिय काम गरेको छ ।

महिला विकास शाखामा थोरै बजेट हुने कारण पनि भने जस्तो कार्यक्रम गर्न नसकिएको बाँस्कोटाले बताईन् । सामान्यतया पछिल्लोसमयमा महिला केन्द्रीत कार्यक्रमहरु बढी हुने गरेको भएपनि कतिपय महिलाहरु तालिममा पाईने सेवा सुविधा र भत्ताको लोभले मात्रै तालिममा सहभागि हुने र तालिमपछि आफ्नो सीपको सदुपयोग नगर्ने पाईएका कारण महिलाका कार्यक्रमहरु भने जस्तो प्रभावकारी भने हुन नसकेको महिला अगुवा कुसुम राई बताउँछिन् ।

कतिपय स्थानमा थोरै रकमले काम धेरै गर्नु पर्नेभएका कारण पनि कामहरु प्रभावकारी नभएका उनको भनाई छ ।
त्यस्तै, लैङ्गिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता विकास, नेतृत्व तथा संस्थागत विकास, समूह गठन र परिचालन, समूह सदस्यको अनुशिक्षण, अन्तर्राष्ट्रिय महिला दिवश, मोती तथा कृष्टलका मालाबाट सौन्दर्य सामग्री तयारी, प्राकृतिक रेशाजन्य वस्तुबाट हस्तकलाका सामग्री तयारी सम्बन्धी तालिम जस्ता कार्यक्रमले महिला सशक्तिकरणमा टेवा पुगेको छ ।

नगरपालिकाको सहयोगमा वडा नं. ७ मा उद्घोषण तथा लेखा सम्बन्धी तालिम आयोजना गरी ७० बढी महिलाहरुलाई नेतृत्व विकासका लागि क्षमता अभिबृद्धि गरियो । तालिममा ७० भन्दा बढी स्थानीय महिलाहरुको प्रत्यक्ष सहभागिता रहेको थियो ।

तालिममा सहभागी भएका वडा नं. ७ का गोमा पर्वते, जानुका दियाली र बबिता पोख्रेललगायतका सहभागीहरुले तालिम उपयोगी भएको र अब आफूहरु निर्धक्कसँग मञ्चमा बोल्न तथा बैठकका निर्णयहरु लेख्न सक्ने भएको बताए । विशेषगरी सार्वजनिक कार्यक्रममा महिलाहरु मञ्चमा अगाडि गएर बोल्न हिचकिचाउने र कुनैपनि बैठकमा उपस्थिति तथा निर्णय लेखनमा पनि दखल नभएका कारण लेखन तथा उद्घोषण तालिम प्रदान गरिएको वडा अध्यक्ष नवराम ढुंगानाले बताए । नगरपालिकाको वडा नं. ७ ले वडामा रहेका दलित तथा गैरदलित महिलाहरुलाई यो तालिम प्रदान गरेको थियो ।

व्यक्तिको भौतिक पक्षको विकासले मात्र जीविकोपार्जनमा कठिनाई हुन्छ र यसलाइ सुर्धान नगरले आर्थिक विकास गर्ने र रोजगारमा आफ्नो वडाले युवालाई प्राथमिकता दिनुपर्छ भन्ने उद्देश्यका साथ यस्ता तालिमको आयोजना गरिने वडा अध्यक्ष ढुंगानाको भनाई छ ।

लक्षित वर्गलाई हौसला प्रदान गर्न र नगरको विकास बजेट पनि लक्षित वर्गलाई लक्षित गरी छुट्याई नगरको आर्थिक, भौतिकलगायत एकीकृत विकासमा जुटेको जनप्रतिनिधिहरु बताउँछन् ।
ढाका बुनाई तालिम

वडा नम्बर ८ को दुई लाख र नारी चेतना महिला समूह र सहनशील महिला बचत तथा ऋण सहकारी संस्था अर्जुनधारा–८ को एक लाखसहित तीन लाख रुपैयाँको लागतमा महिलाहरुलाई ढाका बुनाई तालिम प्रदान गरिएको थियो ।

गत माघमा सञ्चालन गरिएको सो तालिम महिलाहरुलाई सीपमा दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको पम्फा विश्वकर्माको भनाई छ । तालिम पश्चात अर्जुनधारा ८ का महिलाहरु ढाकाको सारी, कुर्तासुरुवाल, मफलर (गलबन्दि), सल, बर्को, चोलो, रुमाल, टोपीलगायतका सामग्रीहरु बनाउन दक्ष भएका छन् ।

आजको युगमा महिलाहरु सीपमा दक्ष भई आत्मनिर्भर हुन अत्यन्त आवश्यक रहेको भएपनि महिलाहरु घरेलु काममा मात्रै सिमित रहेका कारण यस्ता तालिमलाई निरन्तरता दिन स्थानीय तहहरुको ध्यान जान जरुरी छ । आफूहरुमा तालिमपछि आत्मनिर्भर हुनसक्ने क्षमता भएको तालिममा सहभागी महिलाहरुले बताएका छन् ।

वडा नं. ८ का वडा अध्यक्ष गोपीचन्द्र गौतम महिलाहरुलाई आत्मनिर्भर बनाउन सके घरपरिवार चलाउन पनि सहज हुने भएका कारण महिला लक्षित कार्यक्रमहरुलाई जोड दिनुपर्ने बताउँछन् । ढाका बुनाई तालिम १६ जना महिलाहरुलाई प्रदान गरिएको थियो ।
मोती कृष्टलका माला र फेब्रिक बनाउने तालिम

अर्जुनधाराका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपाल उद्यम महिला संघ अर्जुनधाराले मोती क्रिष्टलका गहना तथा फेब्रिक बनाउने तालिम सञ्चालन गरेको थियो । अर्जुनधारा नगरपालिकाको सहयोगमा गत चैतमा मोती क्रिष्टलका गहना तथा फेब्रिक बनाउने तालिम सञ्चालन गरिएको होे ।

महिलाहरुले आफूले लगाउने श्रृंगारिक सामग्रीहरु जस्तै चूरा, पोते, माला कानमा लगाउने टप, मुन्द्रादेखि लिएर सभा समारोहमा प्रयोग गरिने ब्याज, माला आफैँ निर्माण गर्नुका साथै यस सीपमा दक्ष बनी आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको वडा अध्यक्ष गौतमले बताए ।

नगरपालिकाका ११ वटा वडाबाट दुई–दुई जना गरी जम्मा २२ जना महिलाहरुलाई उक्त तालिम प्रदान गरिएको थियो । तालिमले महिलालाई आत्मनिर्भर हुनका लागि सहयोग पुर्याएको उद्यम महिला संघकी अध्यक्ष सरु बुढाथोकीको भनाई छ । सीपमूलक तालिममा सहभागी हुन पाएकोमा आफू खुशी भएको र पुरुष प्रधान समाजमा महिलाले पनि सीपमा दक्ष भई केही गर्न सक्छन् भन्ने उदाहरण आफूले लिएको तालिमपछि मीना पुरी भारतीले बताउँछिन् ।

अर्जुनधारा–१ निवासी एकल तथा विपन्न भूमीमाया श्रेष्ठलाई कपडा र खाद्यान्न सामग्रीसहित सम्मान गरिएको थियो । नगरपालिकाले आगामी दिनहरुमा दलित तथा अन्य समुदायका एकल, विपन्न र अशक्तहरुलाई समेत सहयोग गरिने नगरपालिका उपप्रमुख कमला खतिवडाले बताईन् ।

नगरपालिकाले आगामी वर्ष पनि लक्षितबर्गका लागि विभिन्न कार्यक्रम बनाएर अगाडि बढेको उनको भनाई छ । गत वर्ष नगर क्षेत्रभित्र आमा र नवजात शिशुसँग उपप्रमुख भन्ने कार्यक्रम धेरै प्रभावकारी भएका कारण यो वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको छ । विशेष गरी नगरपालिकाले विपन्न र दलित बस्तिमा पकेट क्षेत्र बनाई जीविकोपार्जन लागि पकेट कार्यक्रम सञ्चालन गरिएका कारण उनीहरुलाई आत्मनिर्भर हुन बल पुगेको छ ।
विभेद विरुद्ध अभियान

नगरपालिका कै अगुवाईमा जातिय विभेद तथा छुवाछुत सम्बन्धि सचेतना कार्यक्रम पनि सम्पन्न भएका छन् । कानूनले छुवाछुत गर्न नहुने भनिए पनि व्यहारमा लागू भने नभएको र जातिय विभेदले समाजमा कहिले पनि एकताबद्ध नहुने हुँदा समाजमा विभेद जस्तो अपराध हटाउनुपर्ने एक नं प्रदेश सांसद् जसमाया गजमेरको भनाई छ ।

प्रदेश न.१ लाई छुवाछुतमुक्त प्रदेश बनाउन प्रदेश सरकार लागी परेको उनले बताईन ।
६० लाख बढि दलित समुदाय रहेको देशमा दलित–दलित बीच नै विभेद रहेको दलित अगुवा हुकुम नेपालीले बताएका छन् । दलितमा जनचेतनाको अभावमा यस्तो भई रहेका बेला नगरपालिकाले जनचेतना जगाउने खालका कार्यक्रमहर गर्नुपर्ने भएको दलित अगुवाको भनाई छ ।

आन्तरिक तथा जातिय विभेद नहटेसम्म समाज र राज्य व्यवस्थामा पनि विभेदलाई रुपान्तरण गर्न नसकिने उनीहरु बताउँछन् । विभेदको अपराध गर्नेलाई ३ महिनादेखि ३ वर्षसम्म जेल र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना लाग्ने कानूनमा रहेको भएपनि समाजमा जातिय विभेद अझै हुन सकेको छैन । छुवाछुतमुक्त देश भनेर घोषणा गरेको एक दशक बिते पनि समाजमा सामाजिक अगुवाहरु नै जातिय विभेदमा अग्रसर भएको देखिन्छ ।

बढ्दो जातिय विभेद उन्मूलन गर्न एकजुट हुने जनप्रतिनिधिहरुले प्रतिबद्धता समेत जनाएका छन् । नगरपालिकाका प्रमुख हरिकुमार राना मगरले समाजमा रहेको जातिय विभेद हटाउन आगामी दिनमा जनचेतनामूलक कार्यक्रम, सहभोज कार्यक्रम गरेर छुवाछुतमुक्त नगर घोषणा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । संविधानमा भएका दलितका हकको कार्यान्वयन गर्न सबै सरोकारवालासँग आग्रह गर्दै दलित समुदायप्रति भएको जातिय विभेद उन्मूलन गर्न दलित समुदाय एक्लैले नसक्ने भएकाले सबैले यसलाई साझा समस्याको रुपमा बुझ्न आग्रह समेत गरेका छन् ।
कानूनी रुपमा जातिय विभेद अन्त्य भएपनि व्यवहारिक रुपमा अन्त्य भएको नभएकाले जातिय विभेद हटाउन कानूनले व्यवस्था गरेका प्रावाधानमा राजनीतिक दलले इच्छाशक्ति देखाउनुपर्नेमा कानूनविद्हरु बताउँछन् । झापा जिल्ला अदालतमा दर्ता भएका मानव बेचबिखन र बलात्कारका घटनाका मुद्दामा सबैभन्दा बढी दलित महिला नै पीडित भएको पाईएको छ । सबै वर्ग, धर्म लगायतलाई बोलाएर अन्र्तक्रिया गरी जातिय भेदभावमुक्त नमूना नगर बनाउन सके साँच्चै अर्जुनधारा नमूना नगर हुनेमा आफूहरु ढुक्क रहेको नगरपालिका उपप्रमुख खतिवडा बताउँछिन् ।

नगरपालिकाकै सहयोगमा लागुपदार्थ दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यका साथ अर्जुनधारामा विभिन्न समयमा गैरसरकारी संघसंस्थाहरुले लागुपदार्थ दुव्र्यसन विरुद्ध सचेतना तालिम तथा अन्र्तक्रिया पनि गरेका छन् । अर्जुनधारा–५ स्थित भानु माविका कक्षा ८ देखि १० सम्मका ६० बढी विद्यार्थीहरुलाई सहभागी गराई जेसीसले पनि अन्र्तक्रिया पनि गरेको थियो ।

अधिकाँश स्कूले विद्यर्थीहरु कुलतमा फँस्ने हुँदा यस्ता खालका तालिम विद्यालयमा आवश्यक भएको र किशोरावस्थामा कुलततर्फ लाग्ने सम्भावना अत्यधिक भएको हुँदा त्यसलाई रोक्नका लागि विद्यालयहरुलाई विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरु बताउँछन् । महिला तथा किशोरी हिंसाका घटनाहरु अत्यधिक बढेका कारण आगामी वर्षदेखि विशेष गरी महिला तथा विद्यालय उमेरका किशोरीहरुका लागि आत्मरक्षा तालिम प्रदान गरिने उपप्रमुख खतिवडाले बताईन् ।

नगरपालिकाले आगामी वर्ष एक उदाहरणिय काम गर्न लागेको छ । नगरभित्रबाट दश वर्षे जनयुद्ध, जनआन्दोलन र परिवर्तनका लागि आफ्नो ज्यान बलिदान गर्ने महान् शहिदको परिवारलाई लक्षित गरी क्षमता विकास गरी रोजगार बनाउने लक्ष्य लिएको छ । तथ्याङ्क संकलनको काम सुरु भएका कारण कति जनाले परिवर्तनका लागि आफ्नो ज्यान आहुती गरेका छन्, उनीहरुको परिवारलाई विभिन्न तालिम प्रदान गरी स्वरोजगार बनाउने उपप्रमुख खतिवडाको भनाई छ । शहिद परिवारमा एक शहिद एक रोजगारी भन्ने नारा लिएर जाने पनि नगरपालिकाको योजना रहेको उनले बताईन् । त्यस्तैगरी, नगरपालिकामा आगामी वर्षदेखि गरीवलाई टिनको छानो, दुई वा दुई भन्दा बढी छोरी मात्रै हुने दम्पतिलाई प्रोत्साहन गने पनि लक्ष्य रहेको र त्यो काम पनि आफ्नो कार्यकालमा गर्ने उनले बताईन् ।

प्रतिकृया दिनुहोस्