News Portal

झापा प्रहरी प्रमुख एसपी मैनाली सम्मानित

रातोपोस्ट संवाददाता
१६९३ पटक

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली सम्मानित भएका छन् ।

६४औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मैनालीलाई प्रशंसा–पत्रद्वारा सम्मान गरेका हुन् ।

प्राप्त जिम्मेवारीलाई विभागीय नीति, निर्देशन अन्तर्गत रही कुशलतापूर्वक सम्पन्न गरी कुशल व्यवसायिक क्षमता प्रदर्शन गरेको भन्दै मैनालीलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

एसपी मैनाली प्रहरीभित्र व्यवसायिक र क्षमतावान प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । यसअघि उनले डिएसपी हुँदा जाजरकोट जिल्लाको प्रहरी प्रमुख भएर उल्लेख्य काम गरेका थिए । जिल्लामा अहिले पनि उनले गरेका कामको चर्चा हुने गरेको छ ।

यस्तै, प्रहरी विद्यालय साँगाको निर्देशक भएर समेत काम गरेका उनले त्यहाँ पनि निकै सुधारका काम गरेका थिए ।

झापा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहँदा एसपी मैनालीले प्रहरीको व्यवसायिक क्षमता वृद्धि र सुधारका लागि धेरै राम्रा काम गरेका थिए । जसको अहिले पनि चर्चा हुने गरेको छ ।

 

हाल झापा जिल्लामा प्रभावकारी प्रहरी परिचालन गरेको भन्दै स्थानीयले समेत उनको खुलेर प्रशंसा गर्ने गरेका छन् ।

एसपी मैनालीको नेतृत्वमा झापामा प्रहरीले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण अभियान प्रभावकारी रुपमा अघि बढाएको छ ।

यस्तै, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत स्थानीय तह, विभिन्न संघ–संस्था, समुदाय र विद्यालयमा लागूऔष नियन्त्रण, साइबर क्राइम, मदिरा नियन्त्रण लगायतका विविध विषयमा जनचेतना मुलक सहजीकरणका काम हुँदै आएका छन् ।

अवैध चोरी, तस्करी र निकासी–पैठारी नियन्त्रणमा समेत झापा प्रहरीले प्रभावकारी काम गरिहेको छ । यस्तै, विभिन्न विद्यालयका हजारौँ विद्यार्थीलाई लागूऔषध र साइबर क्राइमका विषयमा प्रशिक्षित गरिएको छ ।

यसैगरी, सडक सचेतनामा अभिवृद्धि भई दुर्घटना न्यूनिकरण हुनुका साथै जिल्लामा हुने अपराधिक घटनामा कमी आई मुद्धा दर्ता संख्या नै कमी हुन थालेको छ ।

 

प्रतिकृया दिनुहोस्