
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( विप्लव ) को राप्ती ब्युरो बैठकमा हस्तक्षेप गरी मध्ये पश्चिम कमाण्ड इन्चार्ज बिरजंगसहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएपछि आक्रोशित बनेका नेकपाका महासचिव विप्लवले गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनी दिएका छन् । महासचिव बिप्लवले आज एक प्रेस बक्तब्य जारी गर्दै सरकारी पक्षलाई त्यस्तो चेताबनी दिएका हुन्।
उनले आफ्नो वक्तव्यमार्फत पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट सरकारले पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरिएको जानकारी दिंदै त्यसप्रति घोर आपत्ति जनाएका छन्।
बिहिवार महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने पनि स्पष्ट गर्दछ ।’ ‘कठिनाइ, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिका मूल्य हुन् । हामी हरेक गद्दारी, ठक्कर र बलिदानबाट विचलित नभई अरू स्पातिलो बन्दै जानेछौँ । हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्नेछैन । जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भइछाड्नेछ ।