News Portal

सांसद कँडेल उर्फ ‘मुन्नाबाबु’ विरुद्ध भारतमा अपहरण मुद्दा

पत्रपत्रिका
७२० पटक

काठमाडौं ।दोहोरो नागरिकता विवादमा मुछिएका कांग्रेस सांसद देवेन्द्रराज कँडेलविरुद्ध भारतमा अपहरण मुद्दा पनि चलिरहेको छ । उनीमाथि उत्तरप्रदेश, ठुटीबारीका उज्ज्वल सिंहको अपहरण गरेको आरोप छ ।याे खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन्।

हिन्दुस्तान दैनिकका अनुसार चार वर्षअघि उज्ज्वल नेपाल आएका वेला कँडेलको योजनामा नवलपरासीबाट उनको अपहरण गरिएको थियो । कँडेलसहित पाँचजनाविरुद्ध उज्ज्वलकी पत्नी सुनिता सिंहले भारतीय प्रहरीको महाराजगन्ज तहसिलमा जाहेरी दिएकी थिइन् । अहिले त्यो मुद्दा इलाहावाद हाइकोर्टमा विचाराधीन छ ।

जाहेरीअनुसार उज्ज्वललाई ३० अक्टुबर २०१५ मा अपहरण गरिएको थियो । त्यतिवेला अपहरणविरुद्ध ठुटीबारीमा स्थानीयले बृहत् प्रदर्शन गरेका थिए । उनीहरूले ठुटीबारी बजार नै बन्द गराएर दशगजा क्षेत्रमा पनि नाराबाजी गरेका थिए ।

अनुसन्धानको विवरण प्राप्त भएपछि त्यहीअनुसार कारबाही : उपसभामुख
प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले देवेन्द्रराज कँडेलसँग दोहोरो नागरिकता रहेकोबारे संसद्सँग औपचारिक जानकारी नभएको बताइन् । सञ्चारमाध्यमले उठाएको प्रश्नबारे भने आफू जानकार रहेको उनको भनाइ छ । सरकारले अनुसन्धान गरेर औपचारिक जानकारी नगराएसम्म संसद्ले कँडेललाई कुनै कारबाही गर्न नसक्ने तुम्बाहाङफेले बताइन् । ‘प्रश्न उठेको छ, अनुसन्धान गर्ने निकायले अनुसन्धान गरेर संसद्लाई जे विवरण बुझाउँछ, त्यसका आधारमा मात्र कारबाही अघि बढाउन सकिन्छ,’ उनले भनिन् ।

कांग्रेस प्रवक्ता शर्मा भन्छन्–अनुसन्धानमा सघाउनु कँडेलको कर्तव्य
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दोहोरो नागरिकता विवादमा मुछिएका आफ्ना सांसद देवेन्द्रराज कँडेलले तथ्य प्रस्ट्याउने र अनुसन्धानलाई सघाउनुपर्ने बताएका छन् । सार्वजनिक रूपमा प्रश्न उठिसकेपछि तथ्य प्रस्ट पार्नु कँडेलको कर्तव्य हुने उनको भनाइ छ ।

‘प्रश्न उठिसकेपछि तथ्य प्रस्ट्याउने र आवश्यक खोजिए अनुसन्धानलाई सघाउने उहाँ (कँडेल)को कर्तव्य हो, त्यो उहाँले निभाउनुहुनेछ,’ प्रवक्ता शर्माले मंगलबार साँझ ट्विट गरेका छन् ।

आफ्नै हजुरआमाले राणाकालमा दशगजापारि खोलेको स्कुलको नेतृत्व मात्रै अहिले सांसद कँडेलले लिएको शर्माको दाबी छ । ‘हजुरआमा राधाले राणाकालमा यता स्कुल खोल्न नपाएपछि दशगजापारि खोल्नुभयो राधाकुमारी स्कुल । पिता ०१५ सालका एमपी । तेस्रो पुस्तामा स्कुल देवेन्द्रराज कँडेलको नेतृत्वमा आयो । सत्य यही हो । रह्यो नागरिकताको प्रश्न । निष्पक्ष अनुसन्धान नगरी किटानी नलेख्नू, फर्जी ठहरे जेल पठाउनू । जय नेपाल ।’ शर्माको ट्विटमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्