News Portal

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस, नेकपामा क–कसको चर्चा ?

रातोपोस्ट संवाददाता
८५७ पटक

पोखरा : आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा प्रतिनिधिसभाको लागि चुनाब हुने एक मात्र क्षेत्र हो कास्की २ तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिरकारीको गत वर्षको फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की २ प्रतिनिधिसभा सदस्यविहीन छ।

तत्कालीन एमालेबाट उम्मेदवार बनेर ह्याट्रिक गरेका अधिकारीको निधनपछि अहिलेको नेकपालाई पनि चुनाब जित्न त्यत्ति सजिलो भने छैन। रवीन्द्रको कार्यशैली र उनको आनीबानीकै कारणले पनि उनले चुनाबमा पटकपटक बाजी मारेका थिए। पछिल्लो पटक उनले कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार मतान्तरले पछि पार्दै बाजी मारेका थिए। चालिसे र अधिकारी चुनाब भिड्दा अधिकारीले ८ हजार ५ सय ४६ मत बढी ल्याएर ह्याट्रिक गरेका थिए।

अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए।  सोही क्षेत्रमा अहिले नेकपा र कांग्रेसमा टिकट कसले फुत्काउने भन्ने रणनीति चलिरहेको छ। नेकपामा भन्दा बढि कांग्रेसमा अहिले टिकट फुत्काउने रस्साकस्सी चलेको छ। कांग्रेसमा रवीन्द्रका निकटतम प्रतिद्वन्द्वीसमेत रहेका देवराज यो पाँच वर्षको लागि आफू नै उम्मेदवार हुनुपर्ने भन्दै आएका छन्।

सर्वसम्मतीले उम्मेदवार तोक्न नसकेकोपछि कांग्रेसले १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको कांग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसीले बताए। ‘क्षेत्रले सर्वसम्मत टुंग्याउन नसकेपछि जिल्लामा १६ जनाको नाम आयो,’ उनले भने, ‘जिल्लामा पनि सहमति जुटेन सबै आकांक्षीको नाम केन्द्रमा पठाएका छौँ। अब केन्द्रले कस्लाई तोक्छ।’ मंगलबार बसेको बैठकले सर्बसम्मती जुटाउन नसकेपछि सबैको नाम केन्द्रमा पठाइएको हो। १६ जनाकै नाम केन्द्रमा पठाए पनि सबै भन्दा बलियो नाम देवराजकै रहेको कांग्रेस स्रोतले बताउँछ। कांग्रेसका आकांक्षीहरूले प्रत्येकले १० हजार रुपैयाँ क्षेत्रीय समितिलाई बुझाएर निवेदन बुझाएर उम्मेदवारको दाबी गरेका हुन्।

यी हुन् कांग्रेसका १६ जना आकांक्षीहरू देवराज चालिसे (रवीन्द्रका प्रत्यासी उम्मेदवार), क्षेत्रीय सभापति माधव बास्तोला, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, पुराना नेताहरू खेमराज पौडेल, महादेव गुरुङ, सोभियत बहादुर अधिकारी, महासमिति सदस्य ऋषि काफ्ले रहेका छन्। त्यस्तै, विजय आचार्य, गुरु बराल, कृष्ण कार्की, केशव निर्दोषी, वीरेन्द्रनारायण विजुक्छे, केदारप्रसाद तिवारी, पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारी, खेमकुमारी बराल, रंगिला आचार्यको नाम उम्मेदवारका लागि सिफारिस भएको कास्की कांग्रेसले जनाएको छ।

१६ जनाको नाम सिफारिस भए पनि देवराज चालिसेकै पक्षमा धेरै क्षेत्रीय सदस्यहरू र जिल्लाका नेताहरू रहेकोले उनले टिकट पाउने पक्का जस्तै भएको कांग्रेस स्रोतले जानकारी दियो। कास्की २ मा ७२ हजार २ सय मतदाता छन्।    नेकपामा पनि उस्तै रस्साकस्सी कांग्रेसले १६ जनाको नाम सिफारिस गरे पनि स्व. रवीन्द्रको पार्टी नेकपाले भने अझै उम्मेदवारको नाम सिफारिस गर्न सकेको छैन। नेकपाभित्र पनि आकांक्षीहरूको जन्ती नै छ।

नेकपाले आगामी कात्तिक १० गतेसम्ममा अन्तिम नामावली सिफारिस गर्ने कसरतमा लागेको जिल्ला अध्यक्ष कृष्ण थापाले जानकारी दिए। यी हुन् नेकपाका आकांक्षी नेकपाबाट आकांक्षीहरूमा स्व. अधिकारीकी श्रीमती विद्या भट्टराईलगायतका छन्। त्यस्तै, अर्का बलिया दावेदारको रूपमा नेकपाका पुराना नेता सोमनाथ अधिकारी प्यासी पनि हुन्। अर्का पुरान नेता तुलबहादुर गुरुङ, रवीन्द्रका सहपाठीसमेत रहेका धनराज आचार्य, जिल्ला इन्चार्ज राजकाजी गुरुङ करण, सहइन्चार्जहरू श्रीनाथ बराल र भीम कार्की, विद्यार्थी राजनीतिबाट आएका विद्यार्थी नेता रश्मि आचार्य नेकपाका उम्मेदवारका आकांक्षी हुन्।

साझाले टुंग्यायो उम्मेदवार दुई ठूला पार्टीलाई उम्मेदवार छान सकस परिरहेको बेला साझा पार्टीले उम्मेदवार छानेको छ। साझा पार्टी नेपालले बुधबार रजनी केसीलाई चुनावमा उम्मेदवार बनाउने घोषणा गरेको हो। साझा पार्टीले २ दिन दिनयता मंसिर १४ मा हुने उपनिर्वाचन केन्द्रित रहेर चुनावी रणनीति तयार गर्न भन्दै पोखरामा केन्द्रीय समितिको बैठकसमेत राखेको थियो।

साझा पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने भएको हो। लामो समय नेपाली कांग्रेसको सक्रिय सदस्य रहेकी केसी केही महिनाअघि मात्रै साझा पार्टी प्रवेश गरेकी हुन्। गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन।

प्रतिकृया दिनुहोस्