News Portal

देउसी खेल्न बोलाएर बलात्कार

टेकराज थामी
५८६ पटक

काठमाडाैं । बलात्कार आरोपमा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका स्ववियु सहसचिव एवं तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले राईलाई दक्षिणढोका माकलबारीबाट मंगलबार बिहान साढे ७ बजे पक्राउ गरेको हो ।

देउसी खेल्न बोलाएर सोमबार बलात्कार गरेको किटानी जाहेरी १८ वर्षीया पीडितले मंगलबार बिहानै प्रहरीमा दिएकी थिइन् । राईमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । ‘घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ, तिहारको बिदा परेकाले राईविरुद्ध बिहीबार मात्रै म्याद थप हुनेछ,’ एसएसपी सुवेदीले भने ।

देउसी खेल्न अत्तरखेलस्थित मेडिकल कलेजआसपास बोलाएका राईले नाताले ससुरा पर्ने व्यक्तिको माकलबारीस्थित घरमा लगेर बलात्कार गरेको पीडितको आरोप छ । घटनास्थलबाट बियरको बोतल, खाजाको पोकालगायत सामग्री बरामद भएका छन् । ‘किशोरीको स्वास्थ्य परीक्षण भएको छ, रिपोर्ट आउन बाँकी छ । बलात्कार हुँदा प्रयोग गरिएको तन्ना बरामद भएको छ । तन्नामा पनि केही प्रमाण भेटिएको छ । ल्याब टेस्टका लागि प्रयोगशाला पठाइएको छ,’ प्रहरी स्रोतले भन्यो । प्रहरीका अनुसार राई खोटाङका हुन् । विवाहित राईकी श्रीमती वैदेशिक रोजगारीमा छिन् ।

पीडित युवती भन्छिन्–भाइटीका लगाउँछु भन्थ्यो, जबर्जस्ती गर्‍यो

दुई वर्षदेखि काठमाडौंमा दिदीसँग बस्दै आएकी छु । दिदीमार्फत नै इन्द्रहाङ राईसँग चिनजान भएको हो । बहिनी भन्थ्यो । तिहारमा भाइटीका लगाउने योजनासमेत बनेको थियो । तर, टीका नआउँदै गोरु तिहारको दिन जबर्जस्ती गर्‍यो । गत सोमबार उसले मलाई देउसी खेल्न भन्दै अत्तरखेलस्थित मेडिकल कलेजआसपास बोलायो । विश्वास गरेको दाइले बोलाएपछि गएँ । मैले कुरेको आधा घन्टापछि मोटरसाइकलमा आयो । त्यहीँ खाजा खाऔँ भन्यो । मैले नाइँ भनेँ । दुवैले चिसो खायौँ ।

अत्तरखेलबाट दुवैजना मोटरसाइकलमा हिँड्यौँ । देउसी खेल्ने ठाउँमा लैजानेमा म विश्वस्त थिएँ । केहीबेरमा माकलबारीस्थित एउटा घरमा पुर्‍यायो । आफू बस्ने घर हो भन्यो । घरमा कोही देखिनँ । तर, अझै पनि मैले विश्वास गरिरहेकी थिएँ ।

खाजा ल्याउँछु भन्दै मलाई कोठामा छाडेर बाहिर गयो । केहीबेरमा खाजासहित बियर पनि ल्यायो । खाजा दुई भाग लगायो, बियर पनि दुई गिलासमा खन्यायो । जब बियर खान कर गर्‍यो, त्यसपछि बल्ल मलाई शंका लाग्यो । उठेर हिँड्न खोजेँ । तर, फकाउँदै बस्न आग्रह गर्‍यो ।

करिब आधा घन्टापछि ‘हग’ गरौँ भन्यो । मैले नमानेपछि जबरजस्ती झम्टियो । समातेर पलङमा पछार्‍यो । मैले हारगुहार गरेँ । तर, घरमा सुन्ने कोही थिएन । छिमेकको घरमा देउसी–भैलोको ब्यान्डबाजा बजिरहेकाले कसैले सुनेन । उसले धम्की दिँदै जबर्जस्ती गरिछाड्यो ।

माकलबारीबाट डेरा फर्किने बाटो थाहा थिएन । त्यहाँबाट एक्लै निस्किने कुनै उपाय भएन । डेरामा जाने गाडी चढाइदिन आग्रह गरेँ । नजिकैको बसपार्क पुर्‍याइदियो । एक हजार रुपैयाँ दिएको थियो, उसकै मुखतिर फालिदिएँ । मंगलबार प्रहरीको शरणमा पुगेँ ।

घटनामा निष्पक्ष अनुसन्धान होस् : ऐन महर, अध्यक्ष, अनेरास्ववियु
इन्द्रहाङ राई बलात्कार मुद्दामा पक्राउ परेको खबर सुनेँ । घटना गम्भीर रहेको बुझेँ । घटना अनुसन्धान गर्न प्रहरीलाई हामीले भनिसकेका छौँ । घटनाको निष्पक्ष छानबिन गर्न हामीले नै प्रहरीलाई सघाइरहेका छौँ । यस्तो घटनामा दायाँबायाँ होइन, कडा कारबाही हुनुपर्छ । प्रहरीलाई हामीले यही भनेका छौँ ।

प्रतिकृया दिनुहोस्