News Portal

उपचुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता

रातोपोस्ट संवाददाता
४९४ पटक

काठमाडौं : मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ।

आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ। भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र पर्सि कात्तिक २३ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ। २४ गते दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय दिइएको र सोही दिन ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

प्रतिनिधिसभाको कास्की २ र प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधिसभा सदस्यतर्फ कास्कीमा नेकपाले विद्या भट्टराई र कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ। प्रदेशसभा सदस्यतर्फ भक्तपुरमा नेकपाका देवीप्रसाद ढकाल र कांग्रेसका कृष्ण भँडेल, बाग्लुङमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र कांग्रेसका जीत शेरचन तथा दाङमा नेकपाकी बिमला वली र काँग्रेसका केशव आचार्यले उम्मेदवारी दर्ता गर्दैछन्। मंसिर १४ गते नै हुने स्थानीय तहको उपनिर्वाचनका  लागि भने उम्मेदवारी दर्ता कात्तिक २७ गते गरिने निर्वाचन आयोगले जनाएको छ।

प्रतिकृया दिनुहोस्