News Portal

सिक्किमलाई टाईब्रेकरमा पराजित गर्दै आर्मी फाईनलमा प्रवेश

रातोपोस्ट संवाददाता
८५६ पटक

झापा। त्रिभुवन आर्मी क्लब हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भारतको सिक्किम आक्रमण एफसीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आर्मीले फाईनल यात्रा तय गरेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । टाइब्रेकरमा सिक्किम टोलीका विरेन प्रधान, मनोज काच्वा र करण राईले गोल गरेका थिए । एन्थोनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाएका थिए । विकास क्षेत्रीको प्रहार बारमा लाग्दै फर्किएको थियो ।

आर्मीका लागि दिपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतले गोल गरे । कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाएका थिए ।

झापाली दर्शकको समर्थन पाएको सिक्किमका खेलाडीले थुप्रै अवसर खेर फालेका थिए । आर्मीका खेलाडीको आक्रमणलाई सिक्किमका गोलरक्षक मनोज प्रधानले विफल तुल्याइदिएका थिए । आर्मीको तुलनामा सिक्किमका खेलाडीले अधिकांश समय बल पोजिसनमा पकड बनाएपनि गोल गर्न भने सकेनन् ।
खेलको म्यान अफ दी म्याच आर्मीका गोलरक्षक विवश चौधरी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

१० वटा टिम सहभागी गोल्डकपमा शनिबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेबीच अन्तिम सेमिफाइनल खेल हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

प्रतिकृया दिनुहोस्