News Portal

अफताब आलाम पुर्पक्षका लागि जेल चलान

रातोपोस्ट
१५६३ पटक

राैतहट।कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि जेल चलान गरेको छ।

२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा घटना भएको १२ वर्षपछि असोज २६ गते आलम पक्राउ परेका थिए।

आलमविरुद्ध ३२ वर्ष कैद सजाय मागदाबीसहित तीनवटा मुद्दा चलाइएको छ।  १२ वर्ष अगाडी भएको बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दामा आलम पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

एक साता लामो थुनछेक बहसपछि जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले अलामलाई मुद्दा टुंगो नलागेसम्मका लागि जेल पठाउने निर्णय गरेको हो। आदेश लगत्तै आलमलाई जिल्ला कारागार गौरमा लाने तयारी भइरहेको छ ।

न्यायाधीश ढकालको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ६७ (१) (ख) बमोजिमको सजायको आदेश दिएको हो ।  जिल्ला सरकारी वकिल कार्यालयले कात्तिक १८ गते नेता आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेको थियो ।

घटना के हो ?

संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो। विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा असोज २६ गते आलम पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा दर्जनौ व्यक्तिसँग बयान लिइएको प्रहरीले जनाएको छ। पूर्वप्रहरी, त्यस समय राजपुरमा खटिएका प्रहरी अधिकृत, प्रत्यक्षदर्शी, घटनाका घाइते भनिएकासँग प्रहरीले बयान लिएको थियो। मृतक तथा घाइते ओसार्न प्रयोग गरेको भनिएको ट्र्याक्टर तथा घाइतेको उपचार गरिएको भारत मोतिहारीस्थित अस्पतालको रिपोर्ट प्रहरीले संकलन गरेको थियो ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई घटनाको अनुसन्धान गर्न पत्राचार गरेको थियो। त्यसपछि उक्त घटनाका मुख्य आरोपित नेता आलम पक्राउ परेका हुन्।

यमुनामाई गाउँपालिका–४ का त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले आलम, उनका भाइ मोहम्मद महताब आलम, मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन्। समाचार स्राेत-अन्नपूर्ण पाेष्ट

प्रतिकृया दिनुहोस्