News Portal

बंगलादेशसँग नेपाल ८ विकेटले पराजित

रातोपोस्ट संवाददाता
६९५ पटक

काठमाडौं : एसिसी इमर्जिङ टिम्स कपको समूह चरणको अन्तिम खेलमा घरेलु टिम बंगलादेश यु–२३ ले नेपालमाथि सहज जित हात पारेको छ।

सोमबार ढाकामा भएको खेलमा नेपाललाई बंगलादेशले ८ विकेटले पराजित गरेको हो। नेपालले दिएको १३९ रनको झिनो लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

बंगलादेशका लागि नाजमुल सान्तोले नटआउट ५९ रन र ओपनर मोहमद नइम शिखले ४५ रनको योगदान दिए। यासिर अली चौधरी १८ रनमा नटआउट रहे। बलिङमा नेपालका सुसन भारी र करण केसीले १–१ विकेट लिए।

त्यसअघि टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा १३८ रनमा अलआउट भयो। नेपालका लागि सोमपाल कामीले सबैभन्दा बढी ३८ रन जोडे। नवौं नम्बरमा ब्याटिङ गरेका उनले ६३ बल खेलेर ४ चौका प्रहार गरे। करण केसीले ४७ बल खेलेर १८ रन जोडे।कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्।

बलिङमा बंगलादेशका सुमोन खान र सायद अबिदिनले ३–३ विकेट लिए। हारसँगै नेपाल समूह चरणबाट लगभग बाहिरिएको छ। यसअघि नेपालले हङकङविरुद्ध जित र भारत यु–२३ विरुद्ध हार बेहोरेको थियो।

प्रतिकृया दिनुहोस्