News Portal

मेसीले जिते छैटौँ पटक बालोन डी ओर

रातोपोस्ट संवाददाता
६५७ पटक

एजेन्सी। अर्जेन्टिनी फुटवल स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेसीले छैटौँ पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र भर्जिल भान डिजेकलाई पछि पार्दै मेसीले उपाधि चुमेका हुन् । यो वर्ष जितेको उपाधीसँगै उनले सबैभन्दा धेरै पटक बालोन डी’ओर अवार्ड जित्ने खेलाडीका रुपमा रेकर्ड बनाएका छन्।

यसअघि मेसीले पछिल्लो पटक २०१५ मा यो अवार्ड जितेका थिए । फ्रान्स फुटबल म्यागजिनले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने अवार्ड मेसीले पहिलो पटक २००९ मा पहिलो पटक जितेका थिए । त्यसपछि २०१०, २०११, २०१२ मा गरी लगातार चार पटक मेसीले यो उपाधि जिते । २०१५ मा मेसीले पाचौं पटक बोलोन डी’ओर जितेका थिए।

खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारको मतका आधारमा प्रदान गरिने अवार्डमा लिभरपुलका भर्जिल भान डिजेक दोस्रो, र युभेन्टसका क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे। रोनाल्डोले पाँच पटक यो उपाधि जितेका छन् ।

चौथो स्थानमा लिभरपुलका साडिओ माने, पाँचौँ स्थानमा लिभरपुलकै मोहम्मद सालह, छैटौँ स्थानमा पिएसजीका केलियन एमबाप्पे, सातौँ स्थानमा लिभरपुलका एलिसन, आठौँ स्थानमा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, नवौँ स्थानमा बर्नार्डो सिल्भा र दशौँ स्थानमा म्यानचेस्टर सिटीका रियाद महरेज रहेका छन् ।

गत सिजन एन्टोनी ग्रिजम्यान र रोनाल्डोलाई पछि पार्दै रियल मड्रिडका लुका मोड्रिकले यो उपाधि जितेका थिए।

प्रतिकृया दिनुहोस्