News Portal

अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री

रातोपोस्ट संवाददाता
६४६ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको मृगौलाको डायलाइसिस सकिएकाले डिस्चार्ज गर्न लागिएको बिहीबार बेलुका पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए ।

उनले डायलाइसिसपछि प्रधानमन्त्री निदाएकाले केहीबेरपछि डिस्चार्ज गरिने बताएका थिए । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान ग्राण्डी अस्पताल लगिएको थियो ।

त्यहाँ उनको डायलाइसिस गरिएको थियो । बुधबार पहिलो डायलाइसिस गराइएको भए पनि अस्पताल र प्रधानमन्त्रीको सचिवालयले भने गोप्य राखेको थियो ।  बिहीबार भने पत्रकार सम्मेलन गरेर अस्पतालका मेडिकल डाइरेक्टर डा. पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्यअवस्थाका बारेमा अवगत गराउँदै डा. पाण्डेले भने, “प्रधानमन्त्री भए पनि बिरामीको केही गोपनीयता हुन्छन् । परिवारको केही  रिजर्भेसन हुन्छ । उहाँको अवस्था सामान्य छ । पत्रकार सम्मेलन गर्न सक्ने अवस्थामा हुनुहुन्छ । स्वास्थ्य सामान्य भनेको साँच्चै सामान्य हो । लुकाएको छैन । तर रक्त परीक्षणआदिमा केके देखियो सबै कुरा भन्नु ठिक हुँदैन । बिरामीको गोपनीयताको सम्मान गर्नुपर्छ ।”

डा. पाण्डेले प्रधानमन्त्री पूर्णतया ठीक हुनुहुन्छ भनेर दिमागमा राख्दा हुने जानकारी दिए । स्वास्थ्य असामान्य भएको भए प्रधानमन्त्रीको स्वास्थ्यबारे नागरिकले जान्न पाउने हकअन्तर्गत जानकारी गराइने पनि बताए । “हामी सबैले जान्नुपर्ने कुरा के छ भने, प्रधानमन्त्री राम्रो अवस्थामा हुनुहुन्छ, प्रशन्न मुद्रामा हुनुहुन्छ,” उनले भने ।

प्रतिकृया दिनुहोस्