News Portal

सेटिङमा भन्सार छली

आजको अन्नपूर्ण पोष्टबाट
६८३ पटक

भैरहवा : भैरहवा भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ। सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासँग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात फेला परेको छ ।

भैरहवाका एक व्यापारीका अनुसार सामान आयात गर्दा गाडी भाडा उल्लेखि बिल (बिल्टी), भारतीय भन्सारको सिपिङ बिल र बिमा कागज आवश्यक पर्छ। आलु र प्याजको हकमा भने कर्मचारीले यी कागजपत्र नलिने गरेको ती व्यापारी बताउँछन्। कागज नहुँदा आफूहरूले नियमानुसार आयातित सामानको कुल मूल्यमा १२ प्रतिशत थप गरी त्यसबराबरको राजस्व बुझाउँदै आएको उनको भनाइ छ। भारतबाट प्याज निर्यात रोकिए पनि आलु निरन्तर छ।

कुनै पनि सामग्री आयातमा भन्सारले त्यसको कुल मूल्यमा गाडी भाडा र बिमा शुल्क जोडेर त्यसबराबरको राजस्व लिने गर्दछ। बिल्टी, सिपिङ बिल र बिमा कागज नहुँदा भन्सारले कुल मूल्यको १० प्रतिशतका दरले गाडी भाडा र २ प्रतिशतका दरले बिमा गरी १२ प्रतिशत जोडेर त्यसबराबरको राजस्व लिने गर्दछ।

सेटिङ मिलाएर काम गर्ने केही आयातकर्तालाई भने कर्मचारीले हचुवाका भरमा राजस्व तोकेको कागजातले देखाएको छ। हचुवाकै भरमा गाडी भाडा र बिमा शुल्क जोड्दा राजस्व स्वतः कम हुन्छ। अधिकांश आयातकर्ताले कागजात बुझाउन खोज्दा कर्मचारीले आवश्यक नरहेको भन्दै १२ प्रतिशत जोडेर त्यसबराबरको राजस्व लिँदै आएको ती व्यापारी बताउँछन्।

सेटिङ मिलाउने व्यापारीले भारतीय भन्सार र भैरहवा भन्सारमा पेस गरेका बिललगायत कागजपत्र मेलसमेत नखाने गरेको दाबी स्रोतले गरेको छ। उनीहरूले भारतमा एउटा र भैरहवामा अर्को फर्मको बिल पेस गरेर काम गरिरहेका छन्।

भन्सारमा गाडीमा आउने वस्तुअनुसार जाँच र निगरानी हुन्छ। जसका लागि रातो, हरियो र पहेंलो वर्ग छुट्याइएको छ। रातो भनेको भन्सार छली हुन सक्ने बढी जोखिम भएको वस्तु हो। पहेंलोमा आयातित वस्तुको कागजपत्र र आवश्यकताअनुसार सामग्री जाँच हुन्छ। हरियो वर्गमा आउने वस्तुको जाँच प्रायः हुँदैन। प्राप्त रातो र पहेंलो वर्गको प्रज्ञापनपत्रमा पनि आलु, प्याजको गाडीमा हचुवाका भरमा जाँच गरी राजस्व लिएको पाइएको छ।

भन्सार प्रमुख कमल भट्टराईले आलु, प्याज आयातमा गाडी भाडा उल्लेखित बिल (बिल्टी) र बिमाको कागज आवश्यक रहेको र त्यो नभएको अवस्थामा कुल मूल्यको थप १२ प्रतिशत जोडेर त्यसबराबरको राजस्व लिँदै आएको बताए। कुनै पनि प्रज्ञापनपत्रमा नियमविपरीत काम नभएको दाबी उनले गरे। गल्ती भेटिए सुधार गरिने उनको भनाइ छ। ‘कुनै आयातकर्ताले बदमासी गरेको अवस्थामा विभाग र राजस्व अनुसन्धानले छानबिन गर्न सक्छन्’, उनले भने।

प्रतिकृया दिनुहोस्