News Portal

प्रमोद खरेल र राम लिम्बू उधौली पर्वमा सहभागी

थाहा खबर
७३४ पटक

भद्रपुर : झापाको भद्रपुरमा किराँत समुदायले उधौली पर्व, ज्यापू दिवस र धन्य पूर्णिमामा विविध कार्यक्रमको आयोजना गरी मनाएका छन्।

१३ जातजातिको सामूहिक मठमन्दिर रहेको भद्रपुर २ स्थित कमलधाप संयुक्त धार्मिक स्थलमा किराँत जातिले सो उधौली पर्व धूमधामका साथ मनाएका हुन्। प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिनदेखि मनाइने उधौली यस वर्ष पनि कमलधापमा राई, लिम्बू, याक्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाएका हुन्।

राई जातिले उधौली साकेला, लिम्बू जातिले चासोक तङनाम (न्वागी पूजा), याक्खा जातिले चासुवा, सुनुवार जातिले फोलस्याँदर र भुजेलले भुजेली पर्वको नामले यो पर्व मनाउँदै आएका छन्। यी जातिले मंसिरे पूर्णिमाका दिन नयाँ अन्न आफ्ना दिवङ्गत पूर्खा र आ-आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने धार्मिक चलन छ।

कार्यक्रममा धाननाच (यालाङ), च्याब्रुङ नाच (केलाङ), लिम्बू खानपिन, लिम्बू सांस्कृतिक प्रस्तुति गरेका थिए। परम्परादेखि घरघरमा चासोक तङनाम मनाउँदै आए पनि पछिल्लो समय यसलाई चार किराँतीले आफ्नै शैलीमा सामूहिक माङहिमस्थलमा भेला भई मनाउन थालेका छन्।

त्यसैगरी किराँत याक्थुङ, चम्लुङ भद्रपुर नगर शाखाले आयोजना गरेको चासोक तङनाम उधौली पर्वमा दोस्रो भ्वाइस अफ नेपालका विजेता झापाका राम लिम्बू र गायक प्रमोद खरेलले सहभागिता जनाउँदै चासोक तङनाम उधौली पर्वको शुभकामना दिएका थिए। गायक लिम्बूले सबैलाई शुभकामना दिँदै ‘मुग्लान हेर जाँदै छु, सानो रेलै चढेर’ भन्ने गीतको दुई शब्द गाएर फर्किएका थिए। गायक लिम्बूसँग सेल्फी खिचाउनेको कार्यक्रम स्थलमै घुइँचो लागेको थियो।

सोही अवसरमा किराँत याक्थुङ, चम्लुङ भद्रपुर नगर शाखाले कमलधापमा निर्माण गर्न लागेको युमाहिम संग्रहालय तथा सामुदायिक भवनको शिलान्यास गरेका छन्। संघीय सांसद राजेन्द्र लिङदेन र प्रदेश सांसद वसन्त बानियाँले सो भवनको शिलान्यास गरेका हुन्। संघीय सांसद कोषबाट १० लाख र आन्तरिक ५ लाख बजेटबाट १० वर्षीय गुरुयोजना बनाएर सो भवन बनाउन लागेको जनाइएको छ।

किराँत याक्थुङ, चम्लुङ भद्रपुर नगर शाखाका अध्यक्ष काजीमान लिम्बूको अध्यक्षता तथा संघीय सांसद लिङदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसद बानिया, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, नेकपाका जिल्ला सदस्य डिल्ली घिमिरे (हिक्मत), नगर इन्चार्ज असारु राजवंशी, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुलगायतले मन्तव्य राखेका थिए।

प्रतिकृया दिनुहोस्