News Portal

आर्थिक समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण: सांसद् बुढाथोकी

रातोपोस्ट संवाददाता
४६३ पटक

झापा। प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीले देशको आर्थिक समृद्धिमा सहकारीको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

सहकारीले सदस्यहरुको जीवनस्तर उकास्नेगरी उत्पादन र व्यवसायीक क्षेत्रमा लाग्ने हो भने नेपाल आत्मनिर्भर बन्न समय नलाग्ने उनको भनाई थियो ।

महेन्द्रद्ध्रार सहकारी संस्थाको ३० औं वार्षिक साधारण सभाको उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले सो कुरा बताएका हुन् । उनले देशलाई आत्मनिर्भर बनाउन भाषणले मात्र नहुने भन्दै सरकारले किसानलाई अनुदान दिएर व्यवसायीक उत्पादनमा लाग्न प्रोत्साहित गर्नुपर्ने धारणा राखे । उनले समाजवाद अर्थनीतिको आधारमा व्यवसायीक उत्पादनमा नगएसम्म जुनसुकै वाद, दल र सरकार आएपनि देशले समृद्धि हाँसिल गर्न नसक्ने भन्दै सरकारले सहकारी मार्फत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

कार्यक्रमकी विशेष अतिथि मेचीनगर नगरपालिकाकी निमित्त प्रमुख मीना उप्रेतीले आवधिक नगर सभा मार्फत सहकारी ऐन तथा कार्याविधि पारित गरेर सहकारी संस्थाका समस्याहरुलाई सम्बोधन गरिने बताइन् ।

उनले विषयगत सहकारीमा एक सदस्य, एक सहकारीको अवधारणा कार्यान्वयनमा आएपछि मात्र सहकारी संस्था मजबुत हुने धारणा राखिन् । संस्थाका अध्यक्ष राजकुमार दाहालको सभापतित्व रहेको कार्यक्रममा अधिकाँश वक्ताहरुले कोमामा पुगेको सहकारीलाई जीवन्त बनाउन नेतृत्व सफल भएको भन्दै समितिको प्रशंसा गरेका थिए ।

सो अवसरमा अध्यक्ष दाहालले ७६ लाख ६० हजार ४ सय ४४ शेयर पूँजी पुगेको प्रतिवेदन प्रस्तुत गरेका थिए । करिब ३० करोड स्थिर संम्पति रहेको सहकारीले चालु आर्थिक वर्षमा व्यवसायिक रुपमा तेजपत्ता खेती तथा प्रशोधन केन्द्र स्थापना गर्ने, मासिक ५सय बचत गर्ने ज्येष्ठ सदस्यहरुलाई घातक रोग लागेमा ५ हजार उपचार खर्च सहयोग गर्ने, सदस्यरुलाई एम्बुलेन्स भाडामा ३० प्रतिशत छुट दिनेलगायतका सुविधासहितको प्रस्ताव अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य शिव डाँगी, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, सदस्य दुर्गाप्रसाद सापकोटा, नाइट चेस क्लवका अध्यक्ष राजु कार्की, मेची उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष बिना तामाङ, काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूपाल शिवाकोटी, महेन्द्रद्धार सहकारी संस्थाका पूर्व अध्यक्ष कृष्णप्रसाद उप्रेती, नेपाली काँग्रेसका नगर उपसभापति सुरेन्द्र बुढाथोकी, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेचीनगर अध्यक्ष सुशील आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा सहकारी संस्थाले उत्कृष्ट बचत कर्तातर्फ भूमिका सुतार कार्की र दर्शन राजवंशी तथा उत्कृष्ट ऋणिको रुपमा मुन्ना सहनीलाई सम्मान गरेको छ । उपाध्यक्ष पुष्कलकुमार बस्नेतले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य कुन्दन निरौलाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्