News Portal

झापाकाे काकडभिट्टामा पहिलोपटक टि-१०लिग क्रिकेट हुँदै।

रातोपोस्ट संवाददाता
७७४ पटक

झापा, १४पाैष। झापामा पहिलोपटक मिलन क्रिकेट क्लब काँकरभिट्टाले प्रथम टि–टेन क्रिकेट लिग आयोजना गर्ने भएको छ ।

यही पुस २४ गतेदेखि काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा लिग आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

पाैष २४ गतेदेखि माघ १ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १२ वटा विभिन्न टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष वीरु श्रेष्ठले जानकारी दिए ।

मेचीनगरमा क्रिकेट खेलको विकास र विस्तार गरी दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले लिग आयोजना हुन लागेको उनले बताए ।

‘मुख्य प्रायोजक कन्फर्म भएको छैन, त्यसका लागि मेचीनगर नगरपालिका र एनएमसीसँग छलफल भइरहेको छ’ अध्यक्ष श्रेष्ठले भने–‘लिग सम्पन्न गर्न पूर्व खेलाडीबाट समेत स्वेच्छिक रकम प्राप्त भएको छ,भने अन्य दाताबाट पनि सहयोग संकलन सुरु गरेका छौं ।’

लिगमा आयोजक मिलन क्रिकेट क्लब, लालिगुराँस क्रिकेट एकाडेमी शिवसताक्षी, युनाइटेड क्रिकेट एकाडेमी विर्तामोड, बोस्टन क्रिकेट एकाडेमी बिर्तामोड, एन.सि.एस.एस झापा, वाइटवास क्रिकेट क्लब सुरुङ्गा, धुलाबारी क्रिकेट क्लब, बाहुनडाँगी क्रिकेट एकाडेमी, आदर्श क्रिकेट एकाडेमी चन्द्रगढी, मेची क्याम्पस क्रिकेट टिम, इनिङ स्टार काठमाडौं र द आर्ट अफ क्रिकेट सुनसरी समेत सहभागी हुने बताइएको छ ।

सम्मेलनमा आयोजक क्लबकी निकिता थापा मगर, अभिषेक श्रेष्ठ, युनाइटेड क्रिकेट एकाडेमीका अध्यक्ष हितेन श्रेष्ठ, लालिगुराँस क्रिकेट एकाडेमीका अध्यक्ष विश्वराज गौतम, नेपाली क्रिकेट सपोर्टर सोसाइटी( एन.सि.एस.एस) झापाका जिल्ला संयोजक प्रविण अधिकारी लगायतको उपस्थिति रहेको  थियो ।

लिगमा बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट फिल्डर, म्यान अफ द सिरिजलगायतले जनही ३ हजार रुपैयाँ हात पार्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

लिगको विजेता टिमले नगदराशी ५० हजार ५१ तथा उपविजेता टिमले २५ हजार ५१ रुपैयाँसहित ट्रफि प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष श्रेष्ठको भनाई छ ।

लिग सम्पन्न गर्न विभिन्न शीर्षकमा गरी ४ लाख ५७ हजार २ रुपैयाँ खर्च पूर्वानुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्