News Portal

मेचीनगरमा तेस्रो अन्तर्राष्ट्रिय महोत्सव सम्पन्न, ४ करोड कारोबार

रातोपोस्ट संवाददाता
१३६३ पटक

झापा । मेची उद्योग वाणिज्य संघको आयोजनामा झापाको धुलाबारीमा सञ्चालित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सम्पन्न भएको छ ।

एशियन थाई फुड्सको उत्पादन रमपम चाउचाउ मुख्य प्रायोजक र मेचीनगर नगरपालिका संरक्षक रहेको महोत्सवमा एक लाख हाराहारी अवलोकनकर्ताले अवलोकन गरेको,  ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजक संस्थाका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।

गत पुष ९ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरिदिएको महोत्सवको समापन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरेका हुन् ।

महोत्सवमा नेपाललगायत भारत, बंगलादेश र पाकिस्तानका गरी २०० भन्दा बढी स्टल रहेका थिए । सबै स्टलमा उल्लेख्य कारोबार भएको एवम् विदेशी अवलोकनकर्ताहरुको पनि उल्लेख्य सहभागिता रहेको संघका महासचिव ध्रुव कनालले जानकारी दिएका छन् ।

महोत्सवमा जुम्लाको मार्सी चामलदेखि इलामको जौबारीमा उत्पादित बहुमूल्य वनस्पति केसरसम्मको स्टल रहेको थियो । महोत्सव अवधिमा अर्थ विज्ञहरुको सम्भाषण, निर्यात व्यापार सम्बन्धी अन्तरक्रियासमेत गरिएको थियो भने कलाकारहरुको प्रस्तुति रहेको थियो ।

समापन समारोहका प्रमुख अतिथि मन्त्री कार्कीले आर्थिक विकासमा यस्ता महोत्सवको महत्वपूर्ण भूमिका रहने भन्दै झापामा आवश्यक जग्गा उपलब्ध भए प्रदेश सरकारले सुविधासम्पन्न प्रदर्शनीस्थल निर्माण गर्ने आश्वासन दिएका छन् ।

प्रतिकृया दिनुहोस्