News Portal

बुद्धशान्तिमा एकै दिन दुईवटा पर्यटकीय स्थलको उद्घाटन

रातोपोस्ट संवाददाता
८८० पटक

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा शुक्रबार एकैदिन दुईवटा पर्यटकीय स्थलको विशेष कार्यक्रम गरेर शुभारम्भ गरिएको छ । बुद्धशान्ति ३ मा रहेको आदर्श नमुना सामुदायिक वन क्षेत्रमा रहेको आदर्श नमुना धार्मिक पर्यापर्यटन तथा सिमसार क्षेत्र तथा बुद्धशान्ति–४ मा रहेको वर्ने पर्यटन बजारको उद्घाटन गरिएको हो ।

आदर्श नमुना धार्मिक पर्यापर्यटन तथा सिमसार क्षेत्रको प्रदेश १ का उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री जगदीशप्रसाद कुसीयैत र वर्ने पर्यटन बजारको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेलको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । आदर्श नमुना धार्मिक पर्यापर्यटन तथा सिमसार क्षेत्रमा रहेको कृतिम डाइनोसर सञ्चालन गर्ने स्विच थिचेर उद्घाटन गर्दै मन्त्री कुसीयैतले प्रदेश १ मा थुर्पै पर्यटकीय क्षेत्रहरु रहेको र तिनिहरुको पूर्वाधार विकासका लागि राज्य पक्षबाट महत्वपूर्ण काम हुने बताए । उनले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै पक्ष लागेकोमा खुसी व्यक्त गर्दै पर्यटन आर्थिक संवृद्धिको आधार रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदर्श नमुना धार्मिक पर्यापर्यटन तथा सिमसार क्षेत्रलाई यस आर्थिक वर्षमा कम्तीमा १० लाख रुपैंया विनियोजन गर्ने घोषणा पनि गरे ।

प्रदेश सांसद बृख प्रधान, संविधान सभाका सभासद प्रेम गिरी, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेल, उपाध्यक्ष मीरा भूर्तेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्र चापागाई, नेकपा बुद्धशान्ति सचिव प्रेम लिम्बु, नेपाली काँग्रेस बुद्धशान्ति सभापति चक्र शेर्मा, राप्रपाका बुद्धशान्ति अध्यक्ष नारायण न्यौपाने, झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाई लगायतको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

उता वर्ने पर्यटन बजारको पनि एक विशेष कार्यक्रमका साथ उद्घाटन गरिएको छ । झापाको बुद्धशान्तिमा रहेको आदर्श नमुना धार्मिक पर्यापर्यटन तथा सिमसार क्षेत्रमा कृतिम पोखरी, वाल उद्यान, पीकनिक स्पट, सिद्धेश्वर शिव पाञ्चायन मन्दिर सहित पर्यटक लोभ्याउने प्रसस्त ठाउँहरु निर्माणको चरणमा रहेको सो वन समिति अध्यक्ष तिलनारान रिजालले बताए । उनले १० वर्षे गुरुयोजना बनाएर २० करोड रुपैंयाको स्टिमेट तयार गरी सोहि अनुरुप आफूहरु लागेको बताए ।

वन समितिका सल्लाहकार प्रेम लिम्बुले स्वागत मन्तव्य राखेको कार्यक्रम संस्थाका उपाध्यक्ष खगेन्द्र आचार्यले सञ्चालन गरेका थिए भने कार्यक्रममा कार्यक्रम संयोजक पर्शुराम चेम्जोङले प्रमुख अतिथिलाई सम्मान स्वरुप नेपाली टोपी पहिर्याएका थिए ।

प्रतिकृया दिनुहोस्