News Portal

इलाममा दाजुको कुटाइबाट भाइको ज्यान गयो

रातोपोस्ट संवाददाता
१२५३ पटक

पशुपतिनगर। इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ ।

दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका हुन् । आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो ।

दाजुले काठको पिरा प्रहारपछि घाइते भएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचारपछि उनका छोराले घरमा लगेर सुताएका थिए ।

तर बिहान उनी ओछ्यानमै मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए ।

सामान्य घाइते भएपछि आज थप उपचारका लागि फिक्कलतर्फ ल्याउने तयारी गरी सुतेका उनले बिहान करिब ४ बजे खानेपानी मागेका थिए तर परिवारका सदस्य कोही पनि नउठेपछि उनी पुनः सुते ।

बिहान ६ बजेको समयमा उठाउन जाँदा ओछ्यानमा नै मृत फेला परेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रामबहादुर फरार छन् । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्