News Portal

प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग: होराइजन, इनिङ स्टार र युनाइटेड विजयी

रातोपोस्ट संवाददाता
११६४ पटक

झापा। तुर्केनी खेलमैदानमा जारी प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा होराइजन क्रिकेट एकाडेमी विराटनगर, इनिङ स्टार क्लब काठमाडौं र युनाइटेड क्रिकेट एकाडेमी बिर्तामोड विजयी भएका छन् ।

लिग अन्तर्गत पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको होराइजन क्रिकेट एकाडेमी विराटनगरले ४ विकेटको क्षतीमा १ सय ७३ रन जोडेको थियो । १ सय ७४ रनको टार्गेट लिएर मैदान उत्रिएको मेची मल्टिपल क्याम्पस भद्रपुरले १० ओभरमा ८ विकेट गुमाउदै १ सय ११ रनमा समेटियो ।

सो खेलको म्यान अफ दी म्याच विजयी टिमका निरज मुखीया घोषित भए । १७ बलमा ६३ रन जोडेका उनलाई झापा जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडी लाक्पा लामाले नगदराशीसहित पुरस्कृत गरे ।

त्यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको इनिङ स्टार क्लब काठमाडौंले ५ विकेटको क्षतीमा १ सय २६ रन जोडेको थियो । १ सय २७ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको एन.सि.एस.एस झापाल १० ओभर खेल्दै ५ विकेट गुमाउँदै ८४ रनमा समेटियो ।

सो खेलको म्यान अफ दी म्याच विजयी टिमका सुमीत नेवार घोषित भए । १९ बलमा ४१ रन जोड्दै १ विकेट लिएका उनलाई मेचीनगर वडा नम्बर ५ का वडाअध्यक्ष योगेन थापामगरले नगदराशीसहित पुरस्कृत गरे ।

त्यसैगरी, तेस्रो खेलमा टस जितेर ब्याटिङ गरेको युनाइटेड क्रिकेट एकाडेमी बिर्तामोडले ४ विकेटको गुमाउदै १ सय ३१ रन जोडेको थियो । १ सय ३२ रनको टार्गेट लिएर मैदान ओर्लिएको लालिगुराँश क्रिकेट एकाडेमी ८९ रनमा समेटियो । उक्त खेलको म्यान अफ दी म्याच समिर कार्की घोषित भए । उनलाई नेपाली महिला राष्ट्रिय टोलीकी रोमा थापाले नगदराशीसहित पुरस्कृत गरिन् ।

सोमबार दुई खेल हुने, पहिलो खेल बाहुण्डाँगी क्रिकेट एकाडेमी र मेची मल्टिपल क्याम्पस भद्रपुर र दोस्रो खेल मिलन क्रिकेट क्लब र इनिङ स्टार क्लब काठमाडौंबीच हुने क्लबका अध्यक्ष वीरु श्रेष्ठले बताए ।

प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशीसहित ट्रफि पाउनेछन्।

प्रतिकृया दिनुहोस्