News Portal

नेपालको प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक करोड लिएर विदेशी फरार

रातोपोस्ट
६९१ पटक

काठमाडौं : नेपालको पर्यटन प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक लाख अमेरिकी डलर (एक करोड १३ लाख रुपैयाँ) लिएर एक विदेशी फरार भएका छन् । विश्वका चर्चित कलाकारलाई नेपाल घुमाएर प्रचार गर्ने भन्दै रकम बुझेपछि जर्मन नागरिक माइकल कोबाल्ड सम्पर्कविहीन भएका हुन् ।

उनले अमेरिकाबाट पुराना दमकल ल्याएर हिमाली जिल्ला पुर्‍याएर नयाँ शैलीमा प्रचार गर्ने कार्यक्रममा सम्झौता गरेका थिए । ‘नेपाल फायर ट्रक एक्सपिडिसन’ नामक उनको कार्यक्रमका लागि बोर्डले दुई लाख डलरमा सम्झौता गरेर एक लाख डलर सुरुमै दिएको थियो । सार्वजनिक खरिद ऐनअनुसार विनाप्रतिस्पर्धा यसरी सम्झौता गर्न मात्र होइन, सुरुमै आधा भुक्तानी गर्नसमेत मिल्दैन ।

घटनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । माइकलसँगै बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायतविरुद्ध उजुरी परेपछि आयोगले छानबिन थालेको हो । प्रारम्भिक छानबिनमै गम्भीर त्रुटि भेटिएपछि विस्तृत छानबिन थालिएको अख्तियारका एक अधिकारीले बताए ।

अख्तियारले विदेशी नागरिकलाई भुक्तानी दिन प्रयोग भएका कागजपत्र बोर्डबाट जफत गरिसकेको छ । एक वर्षभित्र सो कार्यक्रम गर्ने भन्दै उनले सन् २०१७ मै भुक्तानी लिएका थिए । बोर्डका पूर्वसिइओ जोशीले भने कानुनअनुसार नै सम्झौता भएको र काम नगरेपछि बाँकी भुक्तानी नदिएको बताए । आफू पुनः बोर्डको सिइओको प्रतिस्पर्धामा रहेकाले यो विषयलाई अख्तियारमार्फत उचाल्न खोजिएको उनको आरोप छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस्