News Portal

सिक्किमका मुख्यमन्त्री गोले माघ २६ मा काँकरभिट्टा आउने

रातोपोस्ट संवाददाता
७९७ पटक

झापा। काँकरभिट्टामा आयोजना गरिने एसियन ग्रामीण पर्यटन महोत्सवमा भारत सिक्किमका मुख्यमन्त्री पिएस गोले आउने भएका छन् । आयोजकले बुधवार गोलेलाई भेटेर निम्तो दिएपछि उनले आफू नेपाल आउन इच्छुक रहेको बताएका हुन् ।

महोत्सव आयोजकको प्रतिनिधिमण्डलले बुधबार सिक्किमको जोरथाङमा मुख्यमन्त्रीसँग भेट गरी महोत्सवको निम्तो दिएको थियो । निम्तो ग्रहण गर्दै मुख्यमन्त्रीले नेपाल आउन इच्छुक रहेको बताएका हुन् ।

“उहाँले हाम्रो निम्तोलाई हार्दिकतापूर्वक स्वीकार गर्नुभयो । आवश्यक प्रक्रिया पूरा गरेर महोत्सवमा सहभागी हुन इच्छुक रहेको बताउनु भयो’ भिजिट नेपाल मेचीनगरका जागरण अभियानका टोली नेता डिल्लीराम घिमिरेले बताए ।

उक्त भेटमा कार्यक्रममा आमन्त्रण गर्नुका साथै भिजिट नेपालको जागरण अभियानको तर्फबाट मुख्यमन्त्रीलाई भिजिट नेपालको लोगो अंकित टिसर्ट र व्याज हस्तान्तरण गरिएको थियो ।
महोत्सवको छैठौं संस्करण यही माघ २६ गतेदेखि काँकरभिट्टामा आयोजना हुने भएको छ ।

सन् २०१२ बाट सुरु भएको महोत्सवको पाँचवटा संस्करण बाहुनडाँगीमा सम्पन्न भएको थियो । सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाईसमेत ध्यानमा राख्दै यो वर्ष सो महोत्सव काँकरभिट्टामा आयोजना गरिने भएको हो । महोत्सव पहिलोपटक बाहुनडागी बाहिर हुन लागको आयोजकले बताएको छ ।

यही माघ २६ देखि ३० गतेसम्म काँकरभिट्टाको देवकोटा पार्क र आसपासको बजार क्षेत्रलाई महोत्सव क्षेत्रका रुपमा रहने गरी कार्यक्रम आयोजना हुने महोत्सव आयोजनक समितिका अध्यक्ष अर्जुन कार्कीले बताएका हुन् । अधयक्ष कार्कीका अनुसार यस पटकको महोत्सव मौलिक हुनेछ ।

नेपालले पर्यटन वर्षका रुपमा सन् २०२० लाई घोषणा गरेको अवस्थामा महोत्सवको महत्व र व्यापकताका लागि स्थान परिवर्तन गरिएको आयोजकको भनाई छ । “पर्यटन वर्षलाई समेत लक्षित गरेर आयोजना गर्दा राम्रो हुन्छ भन्ने सुझावका आधारमा काँकरभिट्टामा गर्न लागेका हौं” अध्यक्ष कार्कीले भने “यसपटक महोत्वसलाई सधैंभन्दा फरक र प्रभावकारी बनाउने छौं ।

महोत्सवमा नेपाल भारत, भुटान, बंगालदेशलगायतका ग्रामीण पर्यटन क्षेत्रको प्रतिनिधित्व हुनेछ ।’ महोत्वसको तयारीका लागि ५१ सदस्यीय मूल आयोजक समिति गठन भएको अध्यक्ष कार्कीले जानकारी दिए । महोत्सवमा भारत सिक्किमका मुख्यमन्त्री पिएस गोले अतिथिका रुपमा आउने भएका हुन् ।

प्रतिकृया दिनुहोस्