News Portal

काँकरभिट्टामा निःशुल्क कुक सम्बन्धी तालिम सुरु

रातोपोस्ट संवाददाता
२२१४ पटक

 झापा । क्षेत्रीय होटल व्यवसायी संघ काँकरभिट्टाको आयोजनामा बुधबारदेखि कुक सम्बन्धी तीन महिने निःशुल्क तालिम सुरु भएको छ ।

स्पिङ डेल कलेज फर होटल म्यानेजमेन्ट प्रालिले तालिमको संयोजन गरेको छ । सूर्याेदय माविको सभाहलमा आयोजित तालिममा मेचीनगर क्षेत्रका २० जना युवा–युवतीले सहभागिता जनाएका छन् । सहभागीहरुलाई स्प्रिङ डेलका दीपेश श्रेष्ठ र राजेश सुवेदीले प्रशिक्षण दिने भएका छन् ।

सीप सिकाएर रोजगार समेत प्रदान गर्ने उद्देश्यले तालिम सुरु गरिएको होटल म्यानेजमेन्टका डाईरेक्टर निरज श्रेष्ठले बताए । बढ्दो युवा बेरोजगारलाई अन्त्य गर्न स्प्रिङ डेलले विभिन्न समयमा तालिम प्रदान गर्दै आएको उनले बताए ।

लामो समयदेखि बिर्तामोडलाई केन्द्र बनाएर होटल म्यानेजमेन्ट सम्बन्धी तालिम प्रदान गर्दे आएको स्प्रिङ डेलले अब काँकरभिट्टाबाटै तालिम प्रदान गर्ने डाइरेक्टर श्रेष्ठले जानकारी दिए ।

स्प्रिङ डेलले आगामी दिनमा सूर्याेदय माविमा होटल म्यानेजमेन्ट कक्षा समेत सञ्चालन गर्ने भएको छ । क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ(गोपाल) को सभापतित्व तथा मेचीनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ललित तामाङको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथि तामाङले बढ्दो बेरोजगार समस्या न्यूनीकरणका लागि तालिम प्रभावकारी हुने बताए । उनले तालिम अवधिभर सहभागीहरुले आफ्नो ध्यान तालिममा केन्द्रित गर्न सुझाव दिए । कार्यक्रममा समाजसेवी ज्ञानेन्द्र घिमिरेले तालिममा सिकेको सीपले जीवन सफल हुने भएकाले आफ्नो विगत सम्झेर भविष्य सफल पार्न वर्तमानमा कडा मेहनत गर्न आवश्यक रहेको बताए ।

संघका अध्यक्ष श्रेष्ठले बेरोजगार समस्या न्यूनीकरण गर्न र युवाको विदेश पलायन नियन्त्रण गर्न गाउँ–गाउँमा पुगेर विपन्न युवाहरुलाई तालिममा सहभागी गराइएको र उनीहरुलाई तीन महिनापछि रोजगार प्रदान गर्ने बताए ।

सो कार्यक्रमको सञ्चालन संघका सचिव हस्तबहादुर तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्