News Portal

झापामा इन्स्पेक्टर खनालको तस्करी धन्दा पर्दाफास !

खगेन्द्र घिमिरे÷पुस्कर गुरागाई
१८२७ पटक

 काँकडभिट्टा। झापामा प्रहरी निरीक्षकले सञ्चारमाध्यमकै सवारीसाधन प्रयोग गरी सरसामान तस्करी गरिरहेको घटना सार्वजनिक भएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास खनालले अवैध भन्दै जफत गरेका सरसामान अन्यत्र पठाउनने  घटना बाहिरिएको हो ।

यसरी खुल्यो घटनाको रहस्य

प्रहरीकै संलग्नतामा सञ्चारमाध्यमको सवारीसाधन प्रयोग गरी तस्करी गरिरहेको विशेष सूचना आएपछि पत्रकारको  टिम आइतबार बिहान काँकडभिट्टा पुगेका थिए । इलाका प्रहरी कार्यालय काँकडभिट्टा पछाडि बसेका पत्रकारको टोलीले नयाँ पत्रिका बोक्ने को २ च १४१५ नम्बरको मारुती भ्यान त्यहाँ देखे ।

केही बेरमै सो भ्यान इलाका प्रहरी कार्यालय काँकडभिट्टाको पछाडिको गेटबाट भित्र प्रवेश र्गयो । त्यो गतिविधि हुँदै गरेको भिडियो पत्रकारले खिचिरहेका थिए । सादा पोसाककै एक प्रहरी कर्मचारीले गेट खोलेर भ्यान भित्र ल्याउन सहयोग गरे ।

प्रहरी कार्यालयमा प्रवेश गरेको भ्यानमा इन्स्पेक्टर सुवास खनालकै (बडीगार्ड) प्रहरी कर्मचारी मनिष घिमिरेले घर बनाउँदा प्रयोग हुने टायल्स (मार्बल) लोड गरिरहेका थिए ।

पत्रकारले भिडियो खिचिरहेको थाहा पाए लगतै प्रहरी कर्मचारी घिमिरेले हतपत भ्यानमा लोड गरिएका टायल्स झारेर भ्यानलाई त्यहाँबाट पठाइ दिए ।

सो गाडीलाई मेचीनगर ७ स्थित जोर सिमलमा सशस्त्र प्रहरीले चेकचाँजको क्रममा रोक्दा ती गाडीका चालक कृष्ण धिमाल रहेको खुल्यो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका इन्स्पेक्टर सुवास खनाल आफ्नो छिमेकी चालक धिमालले खुलाए ।

उनले खाना खान आफू प्रहरी कार्यालय भित्र भ्यान लिएर गएको सशस्त्र प्रहरीलाई सुनाएको छ । खाना खान कसैले भ्यान पछाडिको गेटबाट भित्र लाँदैन । त्यसपछि पत्रकारले थप अनुसन्धान सुरु र्गयो ।

पत्रकारले थालेको अनुसन्धानको क्रममा सादा पोसाकका प्रहरी कर्मचारीलाई फोन गरेर सोध्दा आफूहरूले चार कार्टुन टायल्स लोड गरेको र माथिको आदेश आएपछि फेरि निकालेर भ्यान पठाइ दिएका स्वीकार गरे ।

उनलाई सामान लोड गर्न इन्स्पेक्टर खनालका बडीगार्ड घिमिरेले सघाएका थिए । प्रहरी कर्मचारीसँग भएको फोन वार्तालापको अडियो रेकर्ड सुरक्षित छ ।

उता सामान लान प्रयोग गरिँदै आएको नयाँ पत्रिकाका सुजन खतिवडाले यस विषयमा मिडियालाई सूचना आइसकेको बताए । उनका अनुसार सो गाडी पत्रिका बोक्न लिजमा भाडामा लिएको हुँदा यो सूचना आएसँगै चालकलाई कारवाहीँ गरिने बताए । गाडीसँग सम्झौता तोडेर भोलिबाटै अर्को नयाँ गाडी पठाउने उनले बताए । उनले भने, ‘प्रहरीले मिडिया हाउसलाई प्रयोग गरेर बदनाम गराउन खोजेको हुँदा यसमा मिडिया गृह गम्भीर छ ।’

यस्तो छ इन्स्पेक्टर खनालको संलग्नता

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा विगत एक वर्षदेखि कार्यरत इन्स्पेक्टर सुवास खनालले अवैध सामान जफत गरी अन्यत्र पठाउँदै आइरहेको थप घटना खुलेको छ । उनी सोही कार्यालयमा आए देखिनै यस्तो गतिविधिमा लागेको प्रहरी स्रोतको दाबी छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा नाकामा हुने अवैध तस्करी रोक्न सादा पोसाकमा प्रहरी खटाइन्छ । सादा पोसाकका प्रहरी सामान बरामद गर्छन् । बरामद गरिएको सामानमध्ये केही भन्सार बुझाउने बाँकी सामान इन्स्पेक्टर खनालले आफ्नो व्यक्तिगत प्रयोजनका लागि रातारात उनको घर विराटनगर सम्म र्पुयाउने गरेको प्रहरी स्रोतको दाबी छ ।

इन्स्पेक्टर खनालले बरामद गरिएका सामान लत्ताकपडा, जुत्ता, किराना खाद्यान्न, रेडबुल, काजु लगायत महगामहगा ससामानहरु घर सम्म र्पुयाउन उनकै बडीगार्ड मनिष घिमिरेलाई प्रयोग गर्दै आइरहेका छन् । कार्यालय प्रमुख बाहिर गएको बेलामा मौका छोपी उनले महँगा महँगा सामान स्टोरबाट निकाली घर पठाउने गरेका हुन ।

यसरी घर पठाउन उनले निजी, व्यापारीदेखि सञ्चारमाध्यमका सवारीहरू प्रयोग गर्दै आएका छन् । यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालासँग बुझ्दा यस विषयमा आफूले सत्य तथ्य बुझी माथिल्लो निकायमा जानकारी गराउने र त्यस्तो पाइएको खण्डमा विभागीय कारबाही हुने बताए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले यस विषयमा आफूलाई थाहा नभएको बताए । ‘आफू आजकै दिन आइतबार काम विशेषले धरान गएको र कार्यालय फर्किएर घटना बारे बुझ्छौ, उनले भने ।’

प्रतिकृया दिनुहोस्