News Portal

  • जेलबाट लेखे विकल्पले सहयात्री कमरेड मनऋषीलाई मार्मिक पत्र

    रातोपोस्ट संवाददाता
    ६०४ पटक

    प्रिय सहयात्री कमरेड मनऋषि
    क्रान्तिकारी अभिवादन !

    युग त चिट्ठीको होईन तर लेख्नै पर्ने परिस्थितिमा छु । समय निकै अगाडी बढिसकेको छ । म धेरै पछाडी धकेलिएकोछु । जीवन यस्तो कष्टसाध्य भोगाई व्यहोर्दैछु कि जसको कारण र अर्थ मलाई नै थाहा छैन । मेरो बैंस, जोबन,रहर र उर्जा जति सबै देश र जनताको मुक्तिको निम्ति भनेर त्यहि महान जनयुद्धमा लगाए । सङ्गैका साथी–सङ्गीहरु आज कोहि सत्ताको रस चुसिरहेकाछन् भने कोहि यति बेला एकीकृत जनक्रान्तिको राजनैतिक कार्यदिशा लिएर जनसंघर्षमा होमिदै छन् । केहि सहयात्रीहरु उपेन्द्र यादब र असोक राइहरुको पार्टीको अङ्कमाल गर्दै अघि बढ्दैछन् । केहि सहयात्री साथीहरु खाडीको चर्को घाम र बालुवासँग जुध्दैछन् गुजरा चलाउन । केहि सहयात्रीहरु भने अमेरिका, अष्टे«लीया, जापान विकसित पुजीवादी देशहरुमा श्रमकैलागि गएपनि सुविधापूर्ण जीवन बिताउदैछन् । देशमै भए पनि केहि साथीहरु व्यवसाय संञ्चालन गरेर घरपरिवारको व्यवस्थापकिय जिम्मेवारी सम्हालिरहेकाछन् । सुनेको छु केहि हिजो आजका सहयात्री कमाण्डरहरुले क्यान्टोन्मेन्टमा रहदा देखि नै जनमुक्ति सेनाको नाममा राज्यले लिएको करोडौं रकम हिनाविना गरी जम्मा गरेको पैसाले अहिले सपनाको सहरमा आलिसान बंगला खडा गर्दै सुविधा सम्पन्न जीवन यापन गर्दै हिजोका शोषक शामन्त भन्दा माथि पुगेकाछन् । यस बीच तपाई अष्टे«लियामा पुग्नु भएको व्यहोरा जानकारीमा आएकाले मैले यो सन्देश लेख्दैछु । तपाईको सपरिवारको सु–स्वास्थ्य एवं प्रगतीको कामना गर्दछु । हाल म नखाएको विषको शिकार बनेर जेलको चिसो छिडींमा सड्दै गल्दै गइरहेकोछु ।
    पृय मित्र, मैले तपाईका अक्सर जनआस्था र साप्ताहिक मार्फत प्रकाशनमा आएका लेख, रचनाहरु पढ्ने गरेको छु । तपाईले लेखे अनुसार आप्रवासी नेपालीहरुको समस्या, अनुभूती र प्रगतीको खवरहरुबारे ज्ञान लिने मौका पाएकोछु । जेलमा भए पनि मैले नियमित जनआस्था पत्रिका पढ्ने गरेको छु । तपाईको लेखन सम्पादन र त्यस प्रति तपाईले गर्ने मेहनत उत्कृष्ट लाग्छ । लेखनमा मैले पनि तपाई, ओमऋषिराज ज्ञवाली, रविन्द्र आदिबाट थुप्रै कुरा सिकेको छु । मैले तपाईलाई युद्धकाल देखि आजसम्म पनि पढिरहेकोछु । मैले तपाईलाई पढ्दा संकटकालका ती संगिन दिनहरुमा डोटी,सुर्खेत लगायत बैतान, गुटु विधापुर, घाटगाउँ, कालिकोट, जुम्लाका वस्तीहरुमा भेरी–कर्णालीका छालहरुमा तपाईसँग गरेको सहयात्राको संझना आउछ । मलाई ती क्षणहरुको गतिलो याद छ । बर्दियाको निकुञ्ज भित्रको हाम्रो क्यान्टिङ, चौधरी बस्तीले दिएको सत्य अनि थुप्रै लडाईहरुको याद मेरो मानसपटलमा खदिलो भएर एउटा चलचित्रको रिल झैं घुम्ने गर्दछ । आफ्नो बैंसमा सबै गुमाए, मैले सक्ने जति लडे, बलिदान गर्न सके जति गरे, युद्धमा धेरै चोटी घायल भए । शरीरमा अहिले पनि छर्राहरु साचेर राखेको छु, तर युद्धमा मर्न पाएन र आज पलपल मरेर बाच्दैछु । शहीदका सपना पुरा नभए पनि हाम्रो शहीद हुने सपना पनि पुरा भएन त्यो बेला । यी यादहरुले मलाई असाध्यै धेरै भावुक र मर्माहत बनाउछ । आदरणिय दाइ प्रभाकर शुदर्शन दाइ, विविधदाइ, रमेश केइराला सर, सुदिप, ओम शर्मा, संगिन, प्रशान्त, सेवक, प्रेम कुवेर, अजय, प्रतिकार लगायतलाई मीठो युद्ध यात्राको स्मरण भैरहेको छ । दैलेखी सुवास, मुनाल, कालिकोटे विनर अनि साना तर पावेल जस्ता चंख भाइहरु सिर्जन, राजेन्द्र, विमल, आँधी, परिवर्तन, जेट, राकेट, लगयत थुप्रै ती लडाकु बहिनीहरुसँगको युद्ध यात्राको याद आईरहन्छ । युद्धयात्रा सम्झदा आनन्द लाग्छ । आगोलाई प्रेम गर्ने र आगोसँग खेल्ने हामीले आफूसँगैका थुप्रै कमाण्डरहरु जस्तैः क. जित दाइ, योद्धा बहुबीर सिर्जन, बादल, विद्रोही, भूमिका, सपना, पशुपति, विशाल लगायतका धेरै महत्वपूर्ण जीवनहरुलाई आफैसँग गुमायौं । उहाँहरु बीर शहीद बन्नु भयो । हामी घाइते भयौ । सहयात्रीहरुलाई गुमाएर एक्लो पनि भयौ, भोक–भोकै पनि बस्यौ, तर लक्ष्य, विचार र संघर्षबाट अलिकति पनि विचलित भएनौ । लडाईमा थुप्रै पृय सहयात्रीहरु गुमायौ । फेरी पनि सम्हालिदै निरन्तर लक्ष्य प्राप्तीका खातिर अर्को मोर्चाहरुमा अगाडी बढिरह्यौ । पृय मित्र जीवन , प्रज्वल, मदन दाइ, संजय सर, दिपक चलाउने, रमेशहरुसँगको युद्धयात्रा सयौ बाँचुञ्जेल जहाँ गए पनि त्यतिकै मूल्यवान, सुन्दर र महान रहनेछन् । आजको समयले हामीलाई कहिल्यै छुट्याउन संम्भव छैन ।
    मनऋषि, यो देशको हालखबर त तपाईले पलपल पछ्याई रहनु भएको छ । लिपुलेक, लिम्पिया धुरा, लगायतका हाम्रा पश्चिमको माटो हाम्रो हो भनेर सिंगो नेपालीले संघर्ष गर्नु परेको छ । भक्तपुर जिल्ला जत्रा ३ वटा बन्ने हाम्रो भूगोल भारतले आफ्नो नक्सामा पारेको छ । यो भयानक र डरलाग्दो कदम हो । देशमा अन्याय,अत्याचार, शोषण, दमनको चक्र रोकिएको छैन । सर्वहारा श्रमजीवी तथा शोषित उत्पीडित जनताको मुक्तिकोलागि क्रान्ति अपरिहार्य छ भन्ने नेकपालाई कम्युष्टि सरकारले प्रतिवन्ध लगाएको छ । एउटा कप्युनिष्ट पार्टीलाई शान्तिपूर्ण ढंगले राजनैतिक काम गर्ने छुट छैन । हिजो प्रतिक्रियावादी पुरानो संसदिय व्यवस्थाको खिलापमा युद्धको कमाण्डर सम्हालेका नेताहरु आज संसदिय व्यवस्थाकै असली संरक्षक बनेकाछन् । हास्यपातपूर्ण संघर्षको औचित्य समाप्त भएको बताउदैछन् जब कि समाजमा वर्ग उस्तै कायम छ । कृष्ण बहादुर महरालाई जेल हालेकाछन् । ग्ल् ले अयोग्य भनेका सेनाहरु आज योग्य भएर संघर्ष तताउदैछन् । ठूलो माओवादी पर्टी एमालेकरण भएको छ । हिजो मिलिटरी हरियो बुट, हात्तीछाप छप्पल पड्काउदै जनताको बीचमा हामीसँगै गाउँपाखामा कुद्नेहरुको जिन्दगी मस्तीको बित्दैछ । उनीहरुको आज वर्ग बदलिएको छ, हुनेखाने कहलिएकाछन् । हाम्रा सेलरदाताहरु, कयौं इमान्दार सहयात्री साथीहरुको जीवनस्तर भने उही उस्तै दर्दनाक हालतमा बाचिरहेकाछन् । अझ कतिपयको हाल त मेरो जस्तै घर न घाटको अवस्थामा छ । यस्तै छ जिन्दगी कयौ अर्थ हामीलाई देखाएको सपनाहरु हाम्रा महान शहीदहरुको सदिक्षाहरु, जनताको आसय र अपेक्षाहरु सम्पूर्ण रुपले संसदिय दावानलमा दनदनी जलाएर भष्म खरानी पारिएका छन् । यी सबै चित्र सम्झिदा पीडा हुन्छ । यसर्थ यस्तै छ, अरु ठीकै छ लेख, रचना लेख्दै गर्नुहोला । जेलका कष्टपूर्ण जीवन बिताईरहेको छु । मैले यो चिसो छिडीबाट ती बिगतका महन्वपूर्ण सस्मरणहरुलाई पुनर्ताजगी गर्न कहिल्यै छाड्नेछैन । फेरिपनि संम्झने छु । अहिलेलाई भने अझै लम्ब्याउन चाहेन हवस्त ! उही तपाईको मित्र बिजय केसी “बिकल्प” कास्की पोखरा

    प्रतिकृया दिनुहोस्