News Portal

छैटौं एशियन ग्रामिण पर्यटन महोत्सवको तयारी पुरा

रातोपोस्ट संवाददाता
१७६२ पटक

झापा। मेचीनगर ६ स्थित काँकरभिट्टाको देवकोटा पार्कमा सञ्चालन हुने छैटौं एशियन ग्रामिण पर्यटन महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

माघ २६ देखि फागनु १ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यतालिका रहेको पनि शुक्रवार महोत्सव सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताए ।

महोत्सवमा जम्मा ४८ वटा स्टल रहने छ । महोत्सवमा प्रदेश १ का १४ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी सांस्कृतिक र पहिचान खुल्ने स्टलहरु रहने र भारतबाट समेत १० वटा स्टाल आउने संयोजक कार्कीले बताए।

नमूना महोत्सवको रुपमा सम्पन्न गर्न आयोजक लागि परेको छ । करीब २५ लाख खर्च हुने अनुमान गरिएको भए पनि अहिलेसम्म कुनै संघ संस्था र सरकारको निकायबाट एक रुपैया पनि रकम प्राप्त नभएको संयोजक कार्कीले बताए ।

महोत्सवमा बिभिन्न जातिय पहिचान र संस्कृतिलाई एकै ठाउँ देख्न पाईने महोत्सवका प्रबक्ता नवराज प्रधानले बताए। प्रधानका अनुसार नेपाल, भारत र भुटानका जातिय सांस्कृतिक प्रस्तुती महोत्सवमा हुनेछ ।

महोत्सव अवधिभर काकरभिट्टाका होटल ब्यवशायीले पाहुनालाई खादा लगाएर स्वागत गर्ने र सबै होटलमा बिशेष छुटको ब्यवस्था गरिएको होटल ब्यवसयी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठले बताए।

महोत्सव अवधि भरि काँकरभिट्टा क्षेत्रको यातायातलाई ब्यवस्थित गरिने महोत्सवका यातायात समिति संयोजक बिष्णु श्रेष्ठले बताए ।

महोत्सवलाई भव्य रूपमा सफल पार्न र महोत्सव अवलोकन गर्न आउने पाहुनाहरूलाई सहज बनाउन ६० सदस्यीय स्वंयसेवक टोली परिचालन गरिने स्वंयसेवक संयोजक बालकृष्ण थापाले बताए ।

समितिका उपाध्यक्ष ज्ञानेन्द्र घिमिरेले सञ्चालन गरेको पत्रकार सम्मेलन कार्यक्रममा सल्लाहकार शुशिल आचार्य, अग्रज समाजसेवी मोहन उप्रेती, देवकोटा पार्क व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार खरेल, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्