News Portal

‘पूर्वी ढोकाबाट नेपाललाई संसारभर चिनाउने काम भएको छ’– मुख्यमन्त्री राई

रातोपोस्ट संवाददाता
६०६ पटक

झापा। मेचीनगरको काँकरभिट्टामा छैठौं एसियन ग्रामीण पर्यटन महोत्सव आजबाट सुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महोत्सव उद्घाटन गरेका छन ।

काँकरभिट्टा बसपार्कमा आयोजित महोत्सव उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राईले पर्यटन वर्ष सफल तुल्याउन महोत्सव अभिन्न अङ्ग भएको बताए ।

उनले पूर्वी ढोकामा आयोजना गरिएको महोत्सवले पर्यटनको विकासमा नयाँ उचाइ थपेको‘ साथै महोत्सवले पूर्वी विन्दुबाट नेपाललाई संसारभर चिनाउन सफल तुल्याउने विश्वास लिएको बताए ।’

महोत्सव आयोजक समितिका अध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, राप्रपा मेचीनगर अध्यक्ष सुशील आचार्यलगायत अन्य राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बेलायतको फोक्सटन सिटीका मेयर जेक्की मेड, गोर्खा मेमोरियल फ्रन्डका संस्थापकहरु जोन, रे, पर्यटन प्रतिनिधि ओलिवर र पूर्व काउन्सिलर धनकिरण गुरुङलगायत भारतका विशिष्ट पाहुनाहरुको पनि आतिथ्यता रहेको थियो ।

आयोजक समितिका सल्लाहकार डिल्ली घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन भूपाल शिवाकोटी र तुलसा भण्डारीले गरेका थिए । पाँच दिनसम्म चल्ने सो महोत्सवको काँकरभिट्टाको मुख्य रमणीय स्थान देवकोटा पार्क र बसपार्कमा स्टल रहेका छन् ।

त्यहाँ विभिन्न जातजातिका संस्कृति र भेषभुषा झल्कने स्टलहरु छन् । त्यस्तै, स्टलमा ग्रामीण तथा सहरका अर्गानिक खाद्यवस्तुहरु समेत बिक्रीका लागि राखिएको छ ।

फागुन १ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव ५० हजार आन्तरिक तथा बाह्रय पर्यटक भित्राउने लक्ष्य लिएको अध्यक्ष कार्कीले बताए । २५ लाख रुपैयाँमा महोत्सव सम्पन्न गर्ने आयोजकको योजना छ ।

भारत, भूटान र नेपालका विभिन्न जिल्लाको समेत स्टल रहेका छन् । स्टल अवलोकन गर्न कुनै पनि शुल्क नलाग्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्