News Portal

मेचीनगरमा राष्ट्रपति रनिङ शिल्ड हुँदै

रातोपोस्ट संवाददाता
८४२ पटक

झापा । १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिता यहि शनिबारबाट सञ्चालन हुने भएकाे छ ।

मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगिता सञ्चालनका लागि गठित समितिले बिहीबार उक्त मावि परिसरमा आयोजना गरेको पत्रकार भेटघाटमा सो जानकारी गराएको थियो ।

उक्त प्रतियोगिताको तयारीका लागि मेचीनगर शिक्षा शाखाको यहि माघ १६ गते बसेको बैठकले शिक्षासेवी एवं खेलप्रेमी विक्रम क्षेत्रीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको थियो ।

समितिका संयोजक क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य सचिव चन्द्रशेखर गुरागाईंले सोमबार समापन हुने प्रतियोगितामा नगरका ५२ वटा विद्यालयले भाग लिने बताए ।

मेची जनसाधारण माविका प्रधानाध्यापक समेत रहेका गुरागाईंले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरको प्याब्सनतर्फ २२, एन प्याब्सनतर्फ १४ र सामुदायिक मावितर्फ १६ वटा विद्यालय सहभागी हुने बताए ।
समितिका संयोजक क्षेत्रीका अनुसार नगरस्तरीय छनौट प्रतियोगितामा ट्रयाकतर्फ ९ वटा, फिल्डतर्फ ७ र करातेतर्फ ६ वटा खेलहरु हुनेछन् ।

प्रतियोगितामा ट्रयाकतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटरको दौड गराइने छ भने ४ गुणा १ सय मिटर र ४ गुणा ४ सय मिटरको रिले दौड हुनेछ । त्यस्तै, ५ हजार मिटरको म्याराथन दौड हुनेछ ।
त्यसैगरी, फिल्डतर्फ हाइजम्प, लङजम्प फाइनल, ट्रिपल जम्प फाइनल, ज्याभलिन थ्रो, सटपुट फाइनल, कबड्डी र भलिबल खेल सञ्चालन गरिनेछ ।

यस्तै, कराते खेल विधाको छात्रातर्फ ४०, ४५ र ५० केजी तौल समूह तथा छात्रतर्फ ४२, ४७ र ५२ केजी तौल समूहमा प्रतिष्पर्धा हुने सो अवसरमा जानकारी गराइयो ।

उक्त प्रतियोगिता सम्पन्न गर्न मेचीनगर शिक्षा शाखामार्फत् १ लाख रुपैयाँ बजेट विनियोजन भएको समितिले जनाएको छ ।
प्रतियोगिता सञ्चालन समितिका अनुसार मेचीनगर नगरपालिका कार्यालयबाट १ लाख रुपैयाँ प्राप्त हुने र सहभागी प्रत्येक विद्यालयले प्रवेश शुल्क बापत २ हजार रुपैयाँ संकलन हुनेछ ।

करिब २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग जुट्ने अपेक्षा लिएको समितिले प्रतियोगिता सम्पन्न गर्न विभिन्न शीर्षकमा गरी करिब ५ लाख रुपैयाँ खर्च पूर्वानुमान गरेको छ ।

कार्यक्रममा समितिका सदस्यहरु डम्बर रुचाल, चेतनाथ बाँस्तोला, शेखर गिरी, देवीप्रसाद खतिवडा, भलिबल संघ प्रदेश १ का महासचिव लेखनाथ पराजुली, करातेका वरिष्ठ प्रशिक्षक कालु मेचे, सितोरियो कराते संघ जिल्ला अध्यक्ष मिलनराज प्रसाईं, राखेप कराते सहायक प्रशिक्षक कृष्ण बस्नेत, बद्री विष्टलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्