News Portal

बाहुनडाँगीमा महोत्सव आयोजना हुँदै

रातोपोस्ट संवाददाता
१४९९ पटक

झापा । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुनडाँगी संगीत तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।
सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी आउँदो फागुन १७ देखि २३ गतेसम्म महोत्सव हुन लागेको हो ।

आयोजक बाहुनडाँगी जेसीजले शुक्रबार काँकरभिट्टास्थित क्वालिटी होटलमा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी गराएको हो । सम्मेलनमा महोत्सव मूल आयोजक समितिका संयोजक प्रविण भण्डारीले महोत्सवको तयारी बारे जानकारी गराएका हुन् ।

‘बाहुनडाँगीमा विगतदेखि नै महोत्सव हुँदै आएको थियो, यहाँ वर्षेनी लाग्दै आएको महोत्सव यस वर्ष अन्यत्र सारियो’ बाहुनडाँगी जेसीज सन् २०१८ का अध्यक्ष उनले भने–‘त्यसैले, बाहुनडाँगीवासीको चाहनालाई सम्बोधन गर्दै महोत्सवलाई निरन्तरता दिन खोजेका हौं ।’

‘एशियन ग्रामिण पर्यटन महोत्सव पाँचौं संस्करणसम्म आइपुग्दा बाहुनडाँगीवासीबाट उत्साहपूर्वक सहयोग भएको थियो’ भण्डारीले भने–‘तर, वर्ष महोत्सव नहुँदा यस क्षेत्रवासी निराश छन्, जनस्तरबाट आएको आग्रहलाई स्वीकार्दै बाहुनडाँगी जेसीजले महोत्सव लगाउने सोच बनाएको हो ।’

बाहुनडाँगी जेसीज सन् २०१९ का अध्यक्ष तथा महोत्सवका प्रवक्ता कञ्चन उप्रेतीले महोत्सवका अवलोकनकर्तालाई ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजको चिनारी दिन महोत्सव सञ्चालन गर्न लागिएको बताए । महोत्सवमा आस्था राउत, मेलिना राई, सुगम पोखरेल, प्रमोद खरेल, पुष्पन प्रधान, प्रितम आचार्य, लाहुरेलगायतका कलाकारको प्रस्तुति रहने उनले बताए ।

त्यस्तै, महोत्सवमा वेभ ब्याण्ड, आरम्भ ब्याण्ड, मन्त्र ब्याण्डलगायतका विभिन्न ब्याण्डको प्रस्तुति रहने आयोजक जेसीज सन् २०२० का अध्यक्ष सागर कार्कीले बताए ।

सम्मेलनमा महोत्सव आयोजक समिति कोषाध्यक्ष नीता थापा, इभेन्ट म्यानेजमेन्ट को–अर्डिनेटर किशोर भट्टराईलगायतको आतिथ्यता थियो । पत्रकार सम्मेलनको सञ्चालन बाहुनडाँगी जेसीज सन् २०२० का महासचिव देबु बानियाँले गरेका थिए ।

नेपाल जेसीज सहयोगी संस्था रहने सो महोत्सवमा विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलकलगायत ४० वटा स्टल रहनेछन् ।

आयोजकले साताव्यापी महोत्सवमा करिब २७ लाख रुपैयाँ खर्च पूर्वानुमान गरिएको जनाएको छ । उक्त महोत्सवमा बालमैत्री खेलहरु, साविक बाहुनडाँगी गाविसको विद्यालयस्तरीय गायन तथा नृत्य प्रतियोगिता, पर्यटनसँग सम्बन्धित समूहगत छलफल, साहित्यिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्