News Portal

  • दिलिप महतो हत्या प्रकरण : तीन जना पुर्पक्षका लागि जेल चलान

    रातोपोस्ट संवाददाता
    ४२० पटक

    जनकपुरधाम। अवैध उत्खननको विरोध गर्दा ज्यान गुमाएका दिलिप भनिने ओमप्रकाश महतोको हत्यामा संलग्न ६ जना आरोपीमध्ये ३ जनालाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । तीन जना भने २५–२५ हजार धरौटीमा रिहा भएका छन् ।

    धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले हत्यामा संलग्न टिपर चालक मुनिन्द्र महतो, लोडर रञ्जित भनिने जितेन्द्रकुमार महतो र क्रसर सञ्चालक विपिनकुमार महतोलाई पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको हो ।

    मिथिला नगरपालिकामा टिपरले किचेर हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका थिए । अदालतको आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राखी पुर्पक्ष गर्न आदेश गरेको छ । आदेशमा दिलिप भनिने ओमप्रकाश महतोको हत्याको क्रममा वारदातमा प्रयोग भएको टिपर, बरामद सामानले समेत हत्यामा संलग्न पुष्टि भएको जनाउँदै पुर्पक्षका लागि कारागार चलान गर्न भनिएको छ ।

    अन्य अभियुक्त दिलीपका साथी रोशनकुमार यादव, सह–अभियुक्त मजदुर जितेन्द्र भनिने सत्यनारायण महतो र बृजमोहन भनिने शत्रुधन महतोलाई २५–२५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालतको आदेशउपर चित नबुझेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले सरकारी वकिलमार्फत उच्च अदालत जाने जनाएको छ ।

    धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जिल्ला अदालतको आदेशले हत्या जस्तो जघन्य अपराधमा कसैलाई पनि उन्मुक्ति नदिन उच्च अदालत जाने तयारी गरेको जानकारी दिए । उनले भने, ‘अनुसन्धानको दायरालाई थप फराकिलो बनाउँदैछौं, सरकारी वकिलसँग छलफल गरेर उच्च अदालत जाने तयारी गरेका छौं ।’

    प्रतिकृया दिनुहोस्