News Portal

मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनौट जारी

रातोपोस्ट संवाददाता
६८२ पटक

झापा । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको मेचीनगरस्तरीय छनौट अन्तर्गत आइतबार विभिन्न विधाका खेलको फाइनल सम्पन्न भएको छ ।

मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भएको छनौट अन्तर्गत दोस्रो दिन १ सय मिटर र ३ हजार मिटरको दौड, लङजम्प, सटपुट र करातेको विभिन्न तौल समूहको फाइनल सम्पन्न भएका हुन् ।

मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा जारी तीन दिवशीय छनौटको आइतबारको खेलमा ट्रयाकतर्फ १ सय मिटर दौड छात्रतर्फ हिमालयन एकाडेमीका ज्ञानेन्द्र थापा प्रथम, इष्ट होराइजन माविका अविनाश चौधरी द्धितीय र मेची जनसाधारण माविका अनिश भूजेल तृतीय बने ।

त्यस्तै, छात्रातर्फ हिमालयन एकाडेमीकी जिना बुढाथोकी प्रथम, धुलाबारी माविकी प्रिया मलाहा द्धितीय र बाल कल्याण माविकी कविता कार्की तृतीय भईन् ।

३ हजार मिटर दौड छात्रतर्फ धुलाबारी माविका भूपेन्द्र राई प्रथम, माउण्ट पोइन्ट अंग्रेजी माविका तागेरा लिम्बू द्धितीय र ज्यामिरगढी माविका मनकुमार कार्की तृतीय भए । त्यस्तै, छात्रातर्फ धुलाबारी माविकी भवानी कामती प्रथम र माउण्ट पोइन्ट अंग्रेजी माविकी सञ्जिता राजवंशी द्धितीय बनिन् ।

मेची जनसाधारण माविको संयोजनमा जारी सो प्रतियोगिताको फिल्डको लङजम्प छात्रतर्फ हिमालयन एकाडेमीका ज्ञानेन्द्र थापा प्रथम, धुलाबारी माविका मुकेश चौधरी द्धितीय र आदर्श माविका गणेश माझी तृतीय भए ।

छात्रातर्फ धुलाबारी माविकी प्राप्ति खरेल प्रथम, पवित्र माविकी प्रतिक्षा कटुवाल द्धितीय र इष्ट होराइजन माविकी सलिना दाहाल तृतीय भईन् ।

त्यसैगरी, फिल्डको सटपुट छात्रतर्फ शहिद दशरथ चन्द माविका लाजेहाङ थेवे प्रथम, माउण्ट पोइन्ट अंग्रेजी माविका केनिश सुवेदी द्धितीय र बलभद्र जनता माविका सुमन राजवंशी तृतीय भए ।

त्यस्तै, छात्रातर्फ बलभद्र जनता माविकी सरिता राजवंशी प्रथम, आदर्श विद्या मन्दिरकी पवित्रा मगर द्धितीय र इष्ट होराइजन माविकी दिक्षा कटुवाल तृतीय बनिन् ।

यसैगरी, कराते ३० केजी तौल समूहको छात्रातर्फ सरस्वती माविकी स्नेहा मगर प्रथम, पूर्वाञ्चल अंग्रेजी माविकी प्रतिमा गिरी द्धितीय र एसबी निकेतनकी अंशु मगरले तृतीय स्थान हाँसिल गरेका कराते छनौटका निर्णायक सदस्य मिलनराज प्रसाईंले बताए ।

मेची जनसाधारण माविका शिक्षक पुष्कर ढकालका अनुसार सोमबार समापन हुने सो प्रतियोगितामा नगरका प्याब्सनतर्फ २२, एन प्याब्सनतर्फ १४ र सामुदायिक मावितर्फ १६ वटा विद्यालय सहभागी छन् ।

प्रतियोगितामा ट्रयाकतर्फ ९, फिल्डतर्फ ७ र करातेतर्फ ६ वटा खेलहरु भइरहेका उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्