News Portal

चितवनमा पूर्वएमाले र पूर्वमाओवादी विद्यार्थीबीच झडप, पार्टी कार्यालय तोडफोड

रातोपोस्ट संवाददाता
४५५ पटक

फागुन, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका विद्यार्थीको दुई पक्षबीचको कुटाकुटले उग्ररुप लिएको छ ।

पूर्वएमाले निकट अनेरास्ववियु र पूर्वमाओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबीच पटक पटक झडप भएको छ । झडपको पछिल्लो श्रृङ्खलाअन्तर्गत सोमबार पूर्वमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले पूर्वएमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकबाट टाउकोमा रडले हानेर घाइते बनाएका छन् ।

उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनीसँगै आएका जिल्ला नेता सचित सुवेदी पनि सामान्य घाइते छन् ।

विवादका कारण तत्कालीन एमाले निकट अनेरास्ववियुका विद्यार्थी संगठनका विद्यार्थीहरु कलेज होस्टलमा समेत बस्न सक्ने वातावरण नरहेको बताएका छन् ।

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रमा एकता भए पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा भने एकता अझै भइसकेको छैन । नेकपाको जिल्ला नेतृत्वले विवाद मिलाउने प्रयास गरे पनि सहमति हुन नसक्दा घटनाले उग्ररुप लिन थालेको छ ।

रामपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जुनसुकै बेला पनि घटना हुने सक्ने देखिएकोले सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

नेकपाको चितवन पार्टी कार्यालयमा तोडफोड

रामपुरको घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीहरुले नेकपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् । क्रान्तिकारीका विद्यार्थीहरुले केन्द्रीय सदस्य देव पाठकबाट रड प्रहार गरी घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन् ।

पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्ष विद्यार्थीहरुले तोडेका छन् । पार्टी कार्यालयमा सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

नेकपा चितवनका कार्यालय सदस्य आरसी अधिकारीले विवाद समाधानका लागि पार्टीले पहल गरिरहेको बताए । तल्लो तहसम्म पार्टी एकता नभएका कारण दुई पार्टीका बीचमा समस्या उत्पन्न हुँदै आएको उनको धारणा छ ।

यसअघि गत फागुन २ गते पूर्वएमाले निकट विद्यार्थीमाथि पूर्वमाओवादी निकट विद्यार्थीहरुले आक्रमण गरी घाइते बनाएका थिए । त्यस क्रममा पूर्वएमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका सागर काफ्ले, विक्रम केसी, आशिष कार्की, केशवराज काफ्लेलगायतका घाइते भए ।

सोही दिन साँझ अनेरास्ववियुका विद्यार्थीहरुले पूर्वमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीमाथि आक्रमण गरेका थिए । उनीहरुको आक्रमणबाट क्रान्तकारीका विश्वास अम्गाई, अनिश शाक्य र दिनेश पौडेल घाइते भए । एक जनाको हात भाँचिएको छ ।

घाइते विद्यार्थीहरु चितवन मेडिकल कलेजमा उपचार पछि घर फर्किएका छन् । उनीहरुलाई अनेरास्ववियुका विद्यार्थीले रडले आक्रमण गरेका थिए ।-अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस्