News Portal

“हामी रक्तविजहरु”-सुमनसिंह पाैडेल

रातोपोस्ट
११८९ पटक

“हामी रक्तविजहरु”
चाहे खुला आकाश हाेस
चाहे खुला धर्ती
चाहे बन्द पर्खाल हाेस
या षड्यन्त्रका हतकडि
जबसम्म अत्याचारका फरमानहरु
लुटेरा सत्ताका चाैकिदारहरु
हाम्रा गरिब बस्तिहरुमा लादिरहन्छन्
तबसम्म ठाडो शिर पारेर
छाति चाैँडा गरेर
हामी एक स्वरले गर्जि रहन्छाैँ
तिम्रा षड्यन्त्रका सिसमहल चर्किनेगरी
हामी चिच्याई रहन्छाैँ
तिम्रा अपमानहरु,तिम्रा अभियानहरु
न्याय हेर्ने आँखाहरुमा
समानता चाहने मस्तिष्कहरुमा
इन्क्लाब बाेल्ने आवाजहरुमा
क्रान्तिकारी ‘रातो’मुठ्ठीहरुमा
तिमि लादिरहन्छाै
हामी पहाड बनेर खडा भैरहन्छाैँ
शतिसाल बनेर हाम्रो हुंकार
तिम्रा बिरुद्ध गर्जिरहन्छाैँ
ओ शासकहरु हाे!
के तिमी हाम्रा चेतनाहरुमा
‘हतकडि’ लाउन सक्छौ ?
के तिमी हाम्रा विचारहरुलाई
बन्द पर्खाल भित्र कैद गर्न सक्छौ ?

अहँ सक्दैनौ।सम्भव छैन,
हाम्रा हजारौं मुठ्ठीहरुमा
तिमी हतकडि लगाउ,बन्द पर्खालमा कैद गर
हाम्रा हातहरु लाखौं भएर उठ्नेछन्,
हामी सयौंकाे हत्या गर,
हामी हजारौं भएर खडा हुनेछौं ।
जवसम्म गरिवहरुकाे जिवनमा
सुखकाे दियो जल्ने छैन
जबसम्म उत्पीडितहरुकाे संसारमा
उन्मुक्त श्वास खेल्ने छैन
जबसम्म दलितहरु,दमितहरु
यो साझा धर्तीलाई आफ्नो ठान्ने छैनन्
हामी त्यतिबेलासम्म
जहाँ टेक्छाैँ त्यहाँबाट विष्फोट भैरहन्छाैँ।
बन्द पर्खाल भित्रैबाट हामी गर्जिरहन्छाैँ।
जाेडजाेडले चिच्याइरहन्छाैँ।
हो दलितहरु ढलिरहेका छन्,
गल्नेहरु गलिरहेका छन्
गद्दारहरुकाे अखडामा झाेलि फैलाएर
जिबनकाे भिख मागिरहेका छन्
त्यसैले तिमी शासकहरु मुस्काइरहेका छाै,
बदेलकाे मासु र सुकुटी
महंगो रक्सी खाँदै,सत्ताका काेठिहरुबाट
सत्ताको मातले अट्टाहस पाेखिरहेका छाै।

मजदुरको रगत खाने तिम्रा मुखहरु
सुकुम्बासीलाई बलात्कार गर्ने
तिम्रा पासविक दानव अनुहारहरु
दलित ,दमित र हेपिएकाहरुलाई
जुकाले झैँ चुस्ने तिम्रा मुखाकृतहरु
तिम्रा अत्याचारका विभिसिकाहरु
नियालिरहेका,चियाइरहेका,हेरिरहेका ,देखिरहेका
करोडौं मनहरु मडारिरहेका छन्।
लाखौं घरहरु चिमाेटि रहेका छन्
तिम्रो अट्टाहसकाे विशाक्त धुवा सँगै
तिम्रो अन्त्यकाे कालो बादल,तिम्रै वरिपरि
मडारिरहेकाे छ,तिम्रो मृत्युको छाया नाचिरहेकाे छ।
रगतहरुले रंगिएकाे राताे झण्डा
बलिदान र यातनाले खारिएका मनहरु
त्यही विद्रोह,त्यहि प्रतिरोध
मसाल लिएर निरन्तर अगाडि बढिरहेको छ।
बिजयकाे झण्डा फर्फराएकाे छ
गरिबहरुकाे वजय हुनेछ ,भैरहेको छ
चाहे खुला आकाश हाेस,
या स्वतन्त्र धर्ती
चाहे बन्द पर्खाल हाेस
या षड्यन्त्रका हतकडि

हामी रक्तविजहरु
न कहिल्यै ढल्नेछाैँ,न कहिल्यै गल्नेछाैँ।
हामी चिरण छाैँ।
हामीलाई जहाँजहाँ फ्याँक्ने छाै
हामी त्यहीँबाट बल्न सुरु गर्नेछौं
तिम्रो शोषणको साम्राज्य खरानी पार्ने छाैँ।
२०७६पाैष २३
इनरुवा हिरासत

लेखक:प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेकपाका झापा जिल्ला इन्चार्ज हुन्।हाल उनी झापा कारागारमा छन्।

प्रतिकृया दिनुहोस्