News Portal

तेस्रो कचनकवल गोल्डकपको उपाधिको रेड हर्ष इलामले उचाल्यो

रातोपोस्ट संवाददाता
५०५ पटक

झापा। तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि रेड हर्ष फुटबल क्लब इलामले उचालेको छ ।

कचनकवल गाउँपालिका ६ स्थित बनियानी खेल मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्याइज युनाइटेड ललितपुरलाई २-० गोल अन्तरले पराजित गर्दै रेड हर्ष इलामले उपाधि उचालेको हो ।

उपाधि उचालेसँगै रेड हर्ष इलामले नगद एक लाख ५० हजारसहित शिल्ड तथा प्रमाणपत्र पाएको छ । उपविजेतामा चित्त बुझाएको चर्च ब्याइजले नगद एक लाखसहित शिल्ड तथा प्रमाणपत्र पाएको छ ।

दोस्रो हाफको ४६ औ मिनेटमा रेड हर्ष इलामले गोल गर्दै अग्रता लिए । इलामको तर्फबाट किस्मत राईले गोल गरे । खेलको ६९ औँ मिनेटमा इलामका तर्फबाट मनिष थापाले गोल गरे ।

प्रतियोगिताको म्यान द सिरिज चर्च ब्याइजका रोशन सुब्बा, उत्कृष्ट गोलकिपर इलामका सौरभ सुवेदी र उत्कृष्ट गोलकर्ता इलामका किस्मत राई घोषित भए ।

बनियानी युवा क्लबका अध्यक्ष हरि बस्नेतको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा प्रदेश सांसद वसन्त बानियाँ, कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, ६ नम्बर वडा अध्यक्ष कुलबहादुर कार्की लगायतले मन्तव्य राख्दै खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकामा आधुनिक स्तरको रङ्गशाला स्थापना गर्नु पर्ने बताए ।

क्लबका उपाध्यक्ष दिलबहादुर कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन क्लबका सचिव शिवप्रसाद गुरुङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्