News Portal

थ्री स्टार सताक्षी गोल्डकपको सेमिफाइनलमा

रातोपोस्ट संवाददाता
५३१ पटक

झापा। तेस्रो सताक्षी गोल्डकपमा आज भएकाे खेलमा बेलबारी फुटबल क्लब माथि सहज जीत दर्ता गर्दै थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गरेपछि थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेशका लागि उसले आयोजक सतासीधाम स्पोर्टिङ क्लबको सामना गर्नु पर्नेछ ।

१ नम्बर प्रदेश लिगको उपविजेता बेलबारीविरुद्ध थ्री स्टारको जीतमा सञ्जोग राईले दुई गोल गरे भने उनकै पासमा सुशिल राईले एक गोल गर्दा थ्री स्टारको सहज जीत दर्ता भयो ।

खेलको सुरुवाती समयमै थ्री स्टारले बेलबारीलाई दबाबमा राखेको थियो । खेलको नवौँ मिनेटमा थ्री स्टारका सञ्जोग राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विपक्षीको हेडर फ्लिक भएको मौकामा उनले गोल गरेका हुन् ।

त्यसको पाँच मिनेटपछि सञ्जोगकै एसिस्टमा सुशील राईले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ५३ औँ मिनेटमा सञ्जोगको प्रहार बेलबारीका गोल किप्पर सनम राईले उत्कृष्ट बचाउ गरे पनि एक मिनेटपछि लालारामको पासमा सञ्जोगले एक गोल थप्दै टिमलाई ३–० मा पुर्याएका थिए ।

त्यस्तै, खेलको २३ औँ मिनेटमा बेलबारीलाई गोल गर्ने अवसर मिले पनि मिस पास हुँदा थ्री स्टारका डिफेन्सले क्लियर गरिदिए ।

पहिलो हाफको अन्तिम मिनेटमा बेलबारीका वीरेन्द्र लिम्बूलाई डिबक्स नजिकै लडाउँदा पाएको फ्रिकिकमा भूषण सुब्बाको प्रहार ब्लक हुँदा बेलबारीले गोल गर्ने अवसर गुमायो ।

दुई गोल गरेका थ्री स्टारका सञ्जोग राई खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार पुरस्कारस्वरुप पाए । भोलि (मंगलबार)को खेल ए डिभिजन लिगको उपविजेता त्रिभुवन आर्मी क्लबले दार्जीलिङको एमएफसीसँग भिड्नेछ ।

प्रतियोगिताका विजेताले ६ लाख नगद पाउँदा उपविजेता टोलीले ३ लाख पाउनेछ । प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशि जनही २० हजार र म्यान अफ दी म्याचको १० हजार रहेको प्रेस संयोजक योगेन लावतीले जनाए ।

प्रतिकृया दिनुहोस्