News Portal

इटहरी चिल्ड्रेन ट्यालेन्ट हन्ट प्रतियोगिता २०२० को विजेता बनिन् नानिमा

रातोपोस्ट संवाददाता
६७७ पटक

इटहरी । गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित इटहरी चिल्ड्रेन ट्यालेन्ट हन्ट २०२० को विजेता नानिमा राई बनेकी छन् ।

इटहरी ४ स्थित दुर्गा पार्टी प्यालेसमा शनिबार सम्पन्न ट्यालेन्ट हन्टमा अक्सब्रिज इन्टरनेश्नल मन्टेश्वरी स्कुलको कक्षा ३ मा अध्ययनरत नानिमाले विजेता बन्दै क्राउन, शिल्ड, नगद ५० हजार, बुके, प्रमाणपत्र, एक वर्षसम्म निशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेकी छन् भने प्रतियोगितामा बेष्ट क्याटवाकको उपाधि समेत जितिन् ।

यसैगरी ग्रीन पिस एकाडेमी इटहरीकी कक्षा ३ की छात्रा मोनिका खत्री फस्ट रनरअप बन्दै नगद २५ हजार, ६ महिनासम्म निशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेकी छन् ।

अक्सब्रिजकै कक्षा १ की छात्रा मान्सी घिमिरे सेकेन्ड रनरअप बन्दै नगद १५ हजार र ६ महिनासम्म निशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेकी छन् ।

प्रतियोगिताको प्रमुख निर्णायक पूर्वमिस नेपाल सुगारिका केसी रहेकी थिइन् भने अन्य निर्णायकहरुमा डा.एलिसा लिम्बु, दोर्पध्वज राई र दिलिप योगी रहेका थिए ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुको प्रतिभालाई अडिसनको माध्यमबाट पहिचान गरी ती प्रतिभाहरुलाई तालिमको माध्यमबाट निखार्दै उचित मञ्च प्रदान गर्ने उद्देश्यले सो ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गरिएको गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बूले बताए ।

सो ट्यालेन्ट हन्टको ग्राण्ड फिनाले हुनुपूर्व १५ दिनसम्म बालबालिकालाई नृत्य, र्याम्पवाक, पब्लिक स्पीकिङ, हेल्दी डाइट, सरसफाइ, इलेक्ट्रोनिक सामानको असर, सामाजिक उत्तरदायित्व, राम्रो छुवाई–नराम्रो छुवाई, उत्प्रेरणा, आत्मरक्षालगायतका तालिम प्रदान गरिएको सञ्चालक तथा तालिम निर्देशक सन्जु राईले बताइन् ।

प्रतिकृया दिनुहोस्