News Portal

  • क्रान्तिको बिगुल फुक्दै बागलुङमा जनसरकार

    रातोपोस्ट संवाददाता
    २२० पटक

    बागलुङ। विसं २००७ पुस २४ गते बागलुङ बजारमा परिवर्तनकामी नारा घन्किए – ‘राणा शासनको क्षय होस्, इन्कलाब जिन्दावाद ।’ निरङ्कुश व्यवस्थाका विरुद्धमा निस्केको विशाल जुलुसको नेतृत्वकर्ता हुनुहुन्थ्यो, ओमप्रसाद गौचन ।

    त्यो नै प्रजातन्त्र प्राप्तिका लागि बागलुङबाट उठेको पहिलो आन्दोलन थियो । तीन दिनमै आन्दोलन उत्कर्षमा पुग्यो । तर, प्रजातन्त्र ल्याउने सपना भने पूरा भएन । सरकारी फौजको सहयोगमा तत्कालीन शासकले पुनः बागलुङलाई कब्जा गरे ।

    बागलुङ त्यसबेला पाल्पा गौंडाको प्रशासनिक एकाइका रुपमा थियो । क्रान्तिका पक्षधर युवा जमात आन्दोलनको नेतृत्वबाट पछि हटेनन् । बागलुङवासी फेरि जुर्मुराए । आन्दोलन चर्किंदै गयो । विसं २००७ माघ १५ मा बागलुङ जनताको नियन्त्रणमा आयो ।

    गौचनको नेतृत्वमा बागलुङ जनसरकार बन्यो । गौचन प्रधानमन्त्री रहेको मन्त्रिमण्डलमा कालीभक्त पन्तलाई उपप्रधानमन्त्री, चन्द्रमान थकालीलाई अर्थलगायत अन्य व्यक्तिलाई विभिन्न मन्त्रालयको जिम्मेवारी तोकियो ।

    ‘बागलुङको ऐतिहासिक घटना’ पुस्तकका लेखक एवं अन्वेषक प्रेम छोटाका अनुसार जनसरकार विसं २००८ भदौसम्म चल्यो । बागलुङ पाल्पा गौंडाको अधीनमा रहने भनी पाल्पाबाट आएका सरकारी अधिकृत र फौजले बागलुङ जनसरकारलाई भङ्ग गरेका थिए ।

    विसं २००७ फागुन ७ मा प्रजातन्त्र उदय भएपछि पनि बागलुङ पाल्पा बडी गौंडाको अधीनमा रहिरहने कुरा पाल्पाबाट आएपछि त्यसको विरोध भयो । विघटित जनसरकारका ग्राम विकास मन्त्री मोहनबहादुर मल्ललगायतका प्रतिनिधि काठमाडौँ पुगे ।

    बागलुङको वस्तुस्थितिबारे जानकारी गराए । बागलुङलाई स्वायत्त शासन प्रणाली भएको ‘बागलुङ गौंडा’मा परिणत गराउनुपर्ने माग राखे । केन्द्रबाट माग पूरा भयो । विसं २००८ फागुन ८ गतेदेखि बागलुङ पाल्पा बडी गौंडाबाट मुक्त भई स्वतन्त्र ‘बागलुङ गौंडा’ बन्यो ।

    त्यसअघि बागलुङ पाल्पा बडी गौंडा अन्तर्गत छोटी गौंडाको हैसियतमा थियो । यसरी विसं १९९६ देखि नै बागलुङमा पलाएको राणा विरोधी आक्रोशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा शुरुआती योगदान दिएको थियो ।

    “विसं २००७ सालमा बागलुङबाट पहिलोपटक आन्दोलनको नेतृत्व गर्ने व्यक्ति ओमप्रसाद गौचन नै हुनुहुन्छ,” प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय सदस्य गोविन्दप्रसाद शर्मा कँडेलले भन्नुभयो – “उहाँलाई कालीभक्त पन्त, चन्द्रमान शेरचन, टेक नारायण भारी, हेमलाल राजभण्डारीलगायतका तत्कालीन युवाले साथ दिए ।”

    आफू विसं २०१३ देखि सक्रिय राजनीतिमा लागेको र विसं २०१७ पछि पञ्चायत विरुद्धको आन्दोलनमा होमिएको उहाँले स्मरण गर्नुभयो । “प्रजातन्त्र प्राप्तिदेखि मुलुकका हरेक आन्दोलनमा बागलुङको उल्लेख्य योगदान छ,” पूर्वसासंदसमेत रहनुभएका कँडेलले भन्नुभयो – “सङ्घर्षको इतिहासलाई कसैले बिर्सन हुँदैन ।”

    गौचनलगायतले ल्याएको राजनीतिक जागरणले आन्दोलनलाई सघाएको नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार बागलुङ अदालतका तत्कालीन डिठ्ठा धर्ममानसिंह श्रेष्ठलाई घुस खाएको आरोपमा राणाका आठपहरियाहरुले पक्राउ गरेका थिए । निर्दोष डिठ्ठा श्रेष्ठको पक्राउको विरोध गरेकै कारण राणा शासकहरुले ओमप्रसाद गौचनलगायतलाई पक्राउ गरी पाल्पा जेलमा १६ दिनसम्म राखे ।

    शिक्षा र राजनीतिमा त्यतिबेला गनिएको पाल्पा रहँदा, बस्दा गौचनलगायत उहाँका समकालीनले ज्ञान र जागरण प्राप्त गरे । गौचनकै पहलमा विसं १९९७ मा बागलुङमा विद्यालय र विसं २००३ मा पुस्तकालय खोलिनुले पनि राजनीतिक चेतना बढाउनमा टेवा पु¥याएको संयोजक श्रेष्ठको बुझाइ छ ।

    यहाँका तत्कालीन चौबिसे राज्य अन्तर्गतका गलकोटे राजा भरतबम मल्ल र उहाँका छोरो थीरबम मल्लले पनि विसं २००७ को क्रान्तिमा महत्वपूर्ण योगदान दिनुभएको थियो । भारतको सैनिक शिक्षालयमा पढ्नुभएका थीरबमले राणा विरोधी आन्दोलनका क्रममा वीरगञ्जमा शहादत प्राप्त गर्नुभएको थियो । “थीरबम मल्ल मुक्ति सेनाको कमाण्डर हुनुहुन्थ्यो, सङ्घर्षकै क्रममा उहाँको शहादत भयो,” इतिहासका अध्येतासमेत रहनुभएका श्रेष्ठले भन्नुभयो ।

    शहीद थीरबम मल्ल काँग्रेस नेता वी पी कोइरालाका विश्वासपात्र र साहसी सैन्य कमाण्डर हुनुहुन्थ्यो । मल्लको शहादतपछि बागलुङमा राणा विरोधी भावना झन् चर्केको पाइन्छ । राष्ट्रिय प्रजा परिषद् हुँदै सशस्त्र क्रान्तिको चरणमा नेपाली काँग्रेस आइपुग्दा बागलुङमा त्यसको नेतृत्व गौचनले गर्नुभएको थियो ।

    मुस्ताङको थाकखोलामा जन्मी बागलुङलाई कर्मथलो बनाउनुभएका गौचनको स्मृतिग्रन्थमा तत्कालीन कम्युनिष्ट नेता देवेन्द्रराज अधिकारी लेख्नुहुन्छ – ‘बागलुङमा त्यसबेला काँग्रेसको अर्थ हुन्थ्यो, काका ओमप्रसाद ।’

    त्यो बेला गौचनलाई अधिकाँशले ओमप्रसाद काका भनेर बोलाउने गर्थे । निर्भिक, न्यायप्रेमी र सच्चा प्रजातन्त्रवादीका रुपमा गौचनलाई अहिले पनि सम्झना गरिन्छ । छिमेकी जिल्ला पर्वतमा कालीभक्त पन्त, मोहनबहादुर मल्ललगायतले प्रजातान्त्रिक आन्दोलनको शुरुआत गरेका थिए । सशस्त्र बल प्रयोगबाट पर्वतलाई मुक्त गर्नमा पन्तकै प्रमुख भूमिका रहेको बताइन्छ ।

    विसं २००७ मै पाल्पाबाट बागलुङ आउनुभएका पुष्पलाल श्रेष्ठका बहिनी ज्वाइँ चिरञ्जीवीलाल वैद्यले गठन गरेको ‘बागलुङ युवक सङ्घ’ ले पनि क्रान्ति र आन्दोलनप्रति जागरण सिर्जना गरेको थियो । यस्तै, महिला सशक्तीकरणको मुद्दा पनि विसं २००७ सालकै क्रान्तिको जगबाट शुरु भएको मानिन्छ ।

    आन्दोलनको जगबाट प्राप्त प्रजातन्त्र विसं २०१७ पुस १ गते खोसियो । ससंद् भङ्ग भयो । दल र सङ्घसंस्थामाथि प्रतिबन्ध लाग्यो । मुलुकमा पञ्चायती व्यवस्था शुरु भयो । पञ्चायत विरोधी दलहरु आन्दोलनमा होमिए । त्यसयताका हरेक प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनमा बागलुङको विशिष्ट स्थान रहेको बताउनुहुन्छ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुराना नेता मोहनलाल शर्मा ।

    नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको प्रेरणाबाट विसं २०२४ देखि वाम आन्दोलनमा सक्रिय शर्माले सात सालको परिवर्तनमा तत्कालीन बुद्धिजीवी र राजनीतिक अगुवाले गरेको सङ्घर्षलाई कसैले भुल्न नहुने उल्लेख गर्नुभयो । “पञ्चायती व्यवस्था शुरु भएपछि आन्दोलन पेचिलो भयो, जेलनेल र यातना भोग्नुपर्ने अवस्था आयो,” उहाँले भन्नुभयो ।

    लोकतन्त्र प्राप्तिको आन्दोलनमा वाम शक्तिका तर्फबाट नेता चित्रबहादुर केसीलगायतले लामो सयमसम्म योगदान दिएको स्मरण उहाँले सुनाउनुभयो । विसं २०३६ को विद्यार्थी आन्दोलन, विसं २०४६ को आन्दोलन, माओवादी सशस्त्र सङ्घर्षदेखि विसं ०६२÷६३ को जनआन्दोलनसम्म बागलुङले राम्रो छवि कायम गरेको शर्माको भनाइ छ ।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीद्वारा सञ्चालित सशस्त्र सङ्घर्षमासमेत बागलुङ अग्रणी भूमिकामा थियो । त्यस सङ्घर्षमा जिल्लाबाट ९६ जना शहीद र २० जना बेपत्ता छन् । रासस

    प्रतिकृया दिनुहोस्