News Portal

अरुणोदयमा भलिबल प्रतियोगिता सुरु

रातोपोस्ट संवाददाता
८३५ पटक

झापा। मेचीनगर–६,काँकरभिट्टामा अन्तर मावि भलिबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ ।

अरुणोदय आवासीय मावि मेचीनगर–६ को आयोजना र जिल्ला भलिबल सङ्घ झापाको प्राविधिक सहयोगमा निर्मल राई स्मृति झापा जिल्ला स्तरीय अन्तर मावि भलिबल प्रतियोगिता सुरु भएको हो ।

बुधबार कार्यक्रमकाबीच मेचीनगर खेलकुद विकास समिति संयोजक नविन बरालले प्रतियोगिताको उद्घाटन गरेका छन् ।

उनले खेलकुदको उर्वरभूमि मेचीनगरमा यस किसिमका खेलकुद प्रतियोगिताले थप सहयोग पुग्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि बराल, प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजकुमार पराजुलीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भगिरथ राईको सभापतित्व भएको कार्यक्रममा स्वागत खेल संयोजक राजकुमार विश्वकर्मा र सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल जीआर धितालले गरेका थिए ।

कार्यक्रममा काँकरभिट्टा साकोसका अध्यक्ष भुपाल शिवाकोटी, झापा जिल्ला फुटबल सङ्घका महासचिव सुन्दर बस्नेत, कराते टेक्निकल एसोसिएसन झापाका संयोजक कृष्ण बस्नेत, रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला, जन संसद दैनिकका सम्पादक मुक्ति पौडेल, विद्यालयकी निर्देशक रीता थापा, कराते प्रशिक्षक तिलक तामाङ, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका खेलकुद विभाग प्रमुख अरुण श्रेष्ठ, फुटबलका राष्ट्रिय रेफ्री तामाङलगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिता अन्तरगत बुधबार ८ वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा पशुपति अङ्ग्रेजी मावि काँकरभिट्टालाई पराजित गर्दै हिमालयन एकाडेमी धुलाबारी विजयी भएको छ ।

त्यस्तै, दोस्रो खेलमा शनिश्चरे मावि अर्जुनधारा विजयी भएको छ । शनिश्चरे माविले फाइभ स्टार अङ्ग्रेजी माविलाई हराएको हो । तेस्रो खेलमा हिमालयन अङ्ग्रेजी मावि मेचीनगरलाई पराजित गर्दै टावर टेम्पल इङ्लिस स्कुल बिर्तामोड विजयी भएको छ ।

यस्तै, इडन गार्डेन बिर्तामोड सिताराम समुदायिक धाइजनलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । पाँचौं खेलमा अंशु एकाडेमी बाहुनडाँगीलाई हराउँदै तारापुञ्ज इङ्लिस स्कुल काँकरभिट्टा विजयी भएको छ ।

यसैगरी, होलीबेल इङ्लिस स्कुल धुलाबारी विजयी भएको छ । होलीबेलले बिदुर इङ्लिस स्कूल भद्रपुरलाई पराजित गरेको हो । सातौं खेलमा थेसिस इङ्लिस स्कूल मेचीनगर शारदा शिशु सदन धुलाबारीलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यता, सनसाइन इङ्लिस स्कूल इटाभट्टा विजयी भएको छ । सनसाइनले युनिक इङ्लिस स्कूल चारआलीलाई पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत बिहीबार ९ वटा खेल हुने खेल संयोजक राजकुमार विश्वकर्माले जानकारी दिए ।

प्रतियोगिताको रेफ्रीमा जिल्ला भलिबल झापाकी प्रशिक्षक हेमा थापा, प्रादेशिक रेफ्री काजी गुरुङ, सञ्जय अधिकारी छन् । बुधबारबाट सुरु भएको प्रतियोगिता ३ दिन सम्म चल्नेछ ।

जिल्लाभरका २३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद २० हजार तथा उपविजेता टिमले नगद १० हजारसहित ट्रफी प्राप्त गर्ने छन् ।

प्रतिकृया दिनुहोस्