News Portal

आज महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै

रातोपोस्ट संवाददाता
७४७ पटक

काठमाडौं। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व छ ।

आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भइ यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजन–कीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ ।

यसैबीच, आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारओटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई चारओटा लाइनबाट मन्दिरसम्म पुग्ने व्यवस्था मिलाइएको छ ।

दर्शनार्थीको सहयोगका लागि ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटाइएको छ ।

पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ ।

प्रतिकृया दिनुहोस्