News Portal

  • आयोजकलाई हराउँदै थ्रि स्टार फाइलनमा

    रातोपोस्ट संवाददाता
    २६० पटक

    झापा । तेस्रो सताक्षी गोल्डकपको बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रि स्टार क्लब काठमाडौँ विजयी भएको छ । जितसँगै थ्रि स्टारले कम्तिमा तीन लाख रुपैयाँ पक्का गरेको छ ।

    आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रि स्टार फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसके पनि खेलको ५९ औँ मिनेटमा थ्रि स्टारका अनन्त तामाङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

    मिक्चेन तामाङले प्रहार गरेको कर्नर किकलाई अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।

    त्यस्तै, खेलको ६० औँ मिनेटमा थ्रि स्टारका अशोक खवासको लामो प्रहार सतासीधामका गोल किप्पर मनोज प्रधानको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो ।

    खेलको ८२ औँ मिनेटमा अर्को एक गोल थप्दै थ्रि स्टारले जित सुनिश्चित बनाएको थियो । कप्तान विक्रम लामाले गोल गरेका हुन् ।

    यसअघि खेलको सातौँ मिनेटमा थ्रि स्टारका सञ्जोग राईको प्रहार आकाशिएको थियो २५ औँ मिनेटमा लालरामको प्रहार विपक्षी खेलाडीले रोकिदिएका थिए ।

    खेल सकिन दुई मिनेट बाँकी छँदा सतासीधामका शिशिर लेखीलाई पेनाल्टी बक्सभित्र थ्रि स्टारका खेलाडीले लडाएपछि पाएको पेनाल्टी प्रहारलाई पदम भट्टराईले गोलको दिशा दिएका थिए ।

    यसअघि खलको नवौँ मिनेटमा सतासीधामका रोशन थाम्सुहाङको प्रहार आकाशिएको थियो । ४४ औँ मिनेटमा मनिष थापाको ३५ यार्ड टाढाको प्रहार थ्रि स्टारका गोल किप्पर पूर्ण चेम्जोङले पञ्च गरेर बचाएका थिए ।

    खेलको म्यान अफ दि म्याच थ्रि स्टारका अनन्त तामाङ घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । सतासीधाम स्पोर्टिङ क्लबल आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।

    दोस्रो सेमिफाइनल खेल लिग विजेता मच्छिन्द्र फुटबल क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

    प्रतिकृया दिनुहोस्