News Portal

मुनाल एकाडेमी च्याम्पियन

रातोपोस्ट संवाददाता
९४९ पटक

झापा। मेचीनगरको काँकरभिट्टामा सम्पन्न निर्मल राई स्मृति जिल्ला स्तरीय अन्तर मावि भलिबल प्रतियोगिताको उपाधी मुनाल एकाडेमी भद्रपुरले जितेको छ ।

फाईनलमा थेसिस इंगलिस स्कूल मेचीनगरलाई सोझो सेटमा २५/ १९ , २५/ २१ ले पराजित गर्दै मुनालले उपाधी जितेको हो । उपाधी संगै मुनालले नगद रु २० हजार प्राप्त गरेको छ । उपविजेतामा बनेको थेसिसले नगद १० हजार प्राप्त गरेको छ ।

विजेतालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, बिशेष अतिथि एन प्याबसनका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश १ अध्यक्ष जयबहादुर श्रेष्ठ लगायतले नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समन्वय समिति प्रमुख पोर्तेलले बिशेष गरी पहाडी भेगमा धेरै लोकप्रिय रहेको भलिबल यस किसिमका प्रतियोगिताका कारण तराईमा समेत लोकप्रिय बन्दै गएको बताउनु भयो । राष्ट्रले लिएको समृद्धीको सपना साकार पार्न खेलकुदले महत्वपुर्ण भुमिका खेल्ने बताउदैं पार्तेलले बिद्यालय स्तरमा आयोजना गरिएका यस्ता प्रतियोगिताले खेलाडि उत्पादन गर्नमा समेत मद्धत पुर्याउने बताउनु भयो । बिद्यालय स्तरमा खेलको प्रबद्र्धन भएको आफुले पाएको पोर्तलले बताउनु भयो । पछिल्लो पिडीमा स्वास्थ्यका लागि समेत खेलकुद महत्वपुर्ण रहेको चेतना सबैमा बढ्दै गएको कारणले समेत खेलकुदमा मानिसको रुची बढेको वहाँले बताउनु भयो । बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्न नगर जिल्ला, प्रदेश र केन्द्र सरकारले ध्यान दिनु पर्नेमा पोर्तेलले जोड दिनु भयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि मुनाल एकाडेमी भद्रपुरका अभि राजवंशी घोषित भए । उनले नगद २ हजार सहित ट्रफी, मेडल तथा प्रमाण पत्र हात पारे । त्यस्तै बेष्ट सर्भर, थेसिसका कल्याण पौडेल, बेष्ट लिफ्टर मुनालका प्रवेश बस्नेत, डिफेण्डर कुनाल गजमेर, बेष्ट स्पाइकर शनिश्चरे माविका अनिश अधिकारी घोषित भए । उत्कृष्ट घोषित हुन सफल बिद्यार्थीलाई ट्रफी मेडल तथा प्रमाण पत्र प्राप्त गरिएको खेल संयोजक राजकुमार बिश्वकर्माले जानकारी दिनु भयो ।

यस अघि मेचीनगर पत्रकार टिम तथा झापाली शिक्षक टिम बीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । जसमा शिक्षक टिम विजयी भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोर्तेल, बिशेष अतिथि नेपाली कांग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, युवा संघ पुर्व केन्द्रिय सचिव राजु कार्की, एन प्याबसन केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नं १ अध्यक्ष जयबहादुर श्रेष्ठ लगायत, एन प्याब्सन झापा अध्यक्ष खीवराज भट्टराई लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा मेचीनगर नगर परिषद सदस्य सावित्रा ल्वागुन, राजकुमार श्रेष्ठ, सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकाल, सामुदायिक प्रहरी सेवा केन्द्र काँकरभिट्टा अध्यक्ष गंगा कोईराला, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हर्क फ्याक, अरुणोदय शिक्षक अभिभावक संघ अध्यक्ष राजकुमार पराजुली, झापा ११ फुटबलका सचिव एवं शनिश्चरे माविका प्रध्यानाध्यापक चेतामणी खनाल, एन प्याब्सन प्रदेश कमिटि सचिव अग्नी कोईराला, एन प्याब्सन जिल्ला कमिटि झापाका सल्लाहकार संयोजक सञ्जीव राई, झापा जिल्ला सचिव ओमबिक्रम नेम्बाङ्ग, रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला, मेचीनगर प्रेस सल्लाहकार लक्ष्मी उपे्रती, लोकतन्त्र पोष्टका प्रधान सम्पादक झुलन रेग्मी, मेची चेस युमा एकाडेमीका महा सचिव राजु पौडेल, तारापुञ्ज अंग्रेजी माविका प्रिन्सिपल ठाकुरप्रसाद शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो ।

फागुन ७ गतेबाट सुरु भएको प्रतियोगितामा झापा जिल्ला भरका संस्थागत तथा सामुदायिक गरी २३ वटा बिद्यालयले सहभागीता जनाएका थिए । अरुणोदय आवासीय मावि काँकरभिट्टाले प्रत्येक बर्ष आयोजना गर्दै आएको प्रतियोगिताको तेस्रो संस्करणमा जिल्ला भलिबल संघ झापाको प्राविधिक सहयोग रहेको थियो ।

बिद्यालयका प्रध्यानाध्यापक दुर्गाबहादुर लुइटेलले स्वागत गरेको समापन समारोहको अध्यक्षता बिद्यालयका अध्यक्ष भगिरथ राई तथा सञ्चालन सहायक प्रध्यानाध्यापक जीआर धितालले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्