News Portal

  • एउटा फरक मोर्चा र हाम्रो रातो आदर्श – सुमनसिंह पौडेल

    रातोपोस्ट संवाददाता
    ६८१ पटक

    केपी–पीके नेतृत्वको सामाजिक फासिवादी सत्ताको षड्यन्त्रकारी हिरासतमा ‘हात–हतियार खरखजाना’ नामको कथित मुद्दा झेलेर बसिरहेका छाैँ । महिला र पुरुष थुनुवा कक्षका बेग्लाबेग्लै दुईवटा कोठाहरू छन् ।

    पञ्चायतकालमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुनसरीको भवन जीर्ण छ । एसपीको कार्यकक्ष जाने भर्याङको मुनिपट्टि ‘ट्वाइलेट’ प्रयोजनका लागि खाली राखिएको अत्यन्तै सानो चेपलाई यस कार्यालयले महिला थुनुवा कोठाका रूपमा प्रयोग गर्दै आएको छ ।

    उक्त महिला थुनुवा कोठामा नेपालको क्रान्तिकारी आन्दोलनमा असाधारण भूमिका निर्वाह गरिसक्नुभएकी क्रान्तिकारी नेत्री क. उमा भुजेल ‘शिलु’ हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था बिग्रिएको छ । बसाइ कष्टपूर्ण छ ।

    एउटा सानो कोठा, त्यहीँभित्र ट्वाइलेट, काठको बन्द कोठा, एसपी कार्यकक्षमा जानेआउनेको चहलपहल र प्रदूषण सहेर उक्त कोठरीमा बस्नुपर्ने अवस्था छ । यसो हेर्दा लाग्छ, त्यो कुनै छाउगोठ हो ।

    म बेलाबेला मौका मिल्दा सोध्छु– दिदी, बसाइ कस्तो छ ? जनयुद्धका भीषण आँधीमय दिनहरूमा राज्य पक्षको चरम अमानवीय क्रूर यातनाको सिकार बन्नेहरूमध्येकी एक महिला क. उमा विगतको तुलनामा सामान्य नै भएको बताउनुहुन्छ । आफूलाई ठीकै भएको बताउनुहुन्छ तर म उहाँको अवस्था बुझ्छु ।

    यो मुलुकमा सामन्तवादी राजतन्त्रको निर ङ्कुश अधिनायकवादको अन्त्य गरेर वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म यो समाजलाई ल्याइपुर्याउन जीवनको सम्पूर्ण समय आगोमा आहुती दिने क. शिलुहरूले आज पनि यस्तै कालकोठरी झेल्नुपर्ने ? यो वर्तमान व्यवस्थाप्रति विमतिहरू छन् ।

    यसको परिवर्तनको आवश्यकता औँल्याइएको छ । त्यसका निम्ति विद्रोह सुरु भएको छ । तर वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार, जग जे भने पनि यिनै क. उमाहरूले लडेर ल्याइदिएको हैन ? आज यही व्यवस्थामा विद्या भण्डारीहरू, केपीहरू श्रीपेच पहिरिरहेका छन्।

    तर उमाहरू यिनकै यातनागृह, यिनकै कालकोठरी, उपकार, अभिमान र उपमानका हत्कडीहरू झेलिरहेका छन् । न यसले कहिल्यै छलफल र संवादको कुरा अगाडि बढाउँछ, न त आफ्नो धरातलको सम्मानमा एक शब्द बोल्छ । बरु आफ्ना निकृष्टता, तुच्छता व्यक्त गर्दछ ।

    त्यसैमा आफूलाई अग्लो साबित गर्न लालायित बनिरहन्छ । सत्ताको नाम बदलियो तर त्यसको चरित्र बदलिएन । खासमा जे बदलिनुपर्ने हो त्यो बदलिएन । आज हामी सबै नागरिकहरूले यही अनुभूति गरेका छौँ । अनि यही बेथिति, कुसंस्कार, बेरीति र अभिमानका विरुद्ध त हो नि हाम्रो लडाइँ भनेर मन बुझाउँछु ।

    त्यसैले त हामीलाई यो सत्ताले आफ्नो काँडा देख्यो । मुद्दा लगायो र बन्दी बनायो । यो जनविरोधी दलाल संसदीय पुँजीवादी व्यवस्थाको सत्ता अन्त्य गर्नैपर्छ । वैज्ञानिक समाजवाद स्थापना गर्नैपर्छ ।

    २०७६ पुस १२ गते शनिबार बिहान ६.३० बजेतिर उमा दिदीसहित हामी दुईजनाको गिरफ्तारी भयो । हामी शुक्रबार बेलुका बराहक्षेत्र बाङ्गेचोकनजिकै जनताको घरमा बस्यौँ ।

    हामीसँग सुनसरी जिल्ला पार्टीका जिम्मेवार साथी पनि हुनुहुन्थ्यो । हामीले बेलुका बास बस्ने स्थानका विषयमा सुरक्षाका दृष्टिले कति सुरक्षित हुन सकिन्छ भन्ने विश्लेषण गर्यौँ । म सेल्टरका विषयमा विश्लेषण गर्ने गर्थें । मैले उक्त स्थानका बारेमा प्राप्त जानकारीअनुसार विगतका गतिविधिहरू, विरोधीहरूको गतिविधि, हाम्रो गतिविधि, मौसम, भूगोल सबै कोणबाट यहाँ बस्न उचित छैन भन्ने निष्कर्ष निकालेँ ।

    मैले उमा दिदीलाई यहाँबाट निकालौँ भन्ने प्रस्ताव पटकपटक गरेँ । अझ मैले जोड गरेरै भनेँ– बरु म यहीँ बसौँला तर दिदीलाई यो क्षेत्रबाट निकालौँ किनकि नेतृत्वको सुरक्षा यतिबेला महत्वपूर्ण बनेको छ । यो संवेदनशीलतालाई मैले ख्याल गरेको थिएँ ।

    म कार्यालयको सचिव भएको नाताले म प्रायजसो दिदीसँगै हुने, नभए पनि प्रत्यक्ष सम्बन्धमा हुने भएकाले म आफूले सबै कुरामा ध्यान दिएको थिएँ । अनावश्यक सम्पर्क फोन यहाँसम्म कि घरमा समेत फोन गर्न छाडेको थिएँ । मैले सकेसम्म सबै उपाय अपनाएको थिएँ ।

    तराई क्षेत्रको सुरक्षा कबच ‘सूचना’ मात्र हो । सूचनाको रक्षा र परिचालन गर्न सक्याैँ भने, भूगोल र सेल्टर मिलाउन सक्यौँ भने दुस्मनको कब्जामा परिँदैन भन्नेमा म ढुक्क थिएँ । यो मनोगत पनि थिएन ।

    म सबै तहका नेताहरूलाई जानेबुझेसम्म सुरक्षाका विषयमा सुसूचित गराइरहन्थेँ । मेरो जोडबलले काम गरेन । हामी सबै त्यहीँ बस्ने बरु बिहानै निस्कने कुरा भयो । यही निर्णय गलत साबित भयो किनकि मरो विश्लेषण सही थियो ।

    दुस्मन हामीसम्म हाम्रा कमजोरी टेकेर आइपुग्छ र त्यो यति समयमा आइपुग्छ भन्ने मेरो निष्कर्ष मनोगत थिएन । दुस्मनको चाल, हाम्रो कमजोरी, भूगोल, मौसम सबै कुरा हेरेर गरिएको विश्लेषण थियो त्यो । यति हुँदाहुँदै पनि दुस्मनले हामीलाई गिरफ्तार गर्यो ।

    गिरफ्तार गर्दासम्मका सबै हेर्दा लाग्छ दुस्मन अझै धेरै पछाडि छ । चाहे जे होस् माओ त्सेतुङले भन्नुभएको छ, ज्ञानको दुई छलाङको सिद्धान्त भनेर व्यवहारबाट ज्ञान, श्रमबाट व्यवहार, व्यवहारबाट फेरि ज्ञान भन्नुभएको छ । हामीले सुदूरपूर्व क्षेत्रको क्रान्तिकारी आन्दोलनको प्रक्रियामा महत्वपूर्ण नेतृत्वको गिरफ्तारीपछि धेरै ज्ञान हासिल गरेका छौँ ।

    पक्कै पनि आगामी व्यवहारमा यस्ता, भुल, कमजोरीहरू हुने छैनन् । यसलाई नयाँ ज्ञानको तहमा उठाउनेछाैँ । यसको समीक्षालाई मूर्तीकृत गर्नेछौँ । निष्कर्षलाई संस्थागत गर्नेछौँ र यो घटनासँग जोडिएिका कयौँ छिद्रहरू र पहलहरूका विषयमा खुला समीक्षा गर्नेछौ र यसलाई पूर्वको आन्दोलनमा सिक्नलायक घटनाका रूपमा मूर्तीकृत गर्नेछौँ । धेरै विषयमा फासिवादी सत्ताको नजिक बसेर हेरेपछि प्रस्ट भइरहेको छ ।

    २०७६ पुस १२ गते बिहान एकदमै जाडो थियो । हुस्सु लागेको थियो । शीत परिरहेको थियो । बिहान ६ः३० बजेतिर प्रहरीले हामीलाई गिरफ्तार गर्नुअगाडि हामी बेलुका बास बसेको स्थानबाट बिहानै निस्कियौँ ।

    हुस्सु लागेर बाटो देख्न मुस्किल थियो । उमा (शिलु दिदी मैले ल्याएको स्कुटरको पछाडि बस्नुभयो । दिदीले भन्नुभयो– हात काठ्याङ्ग्रियो । सस्तो खालको पञ्जा किनौँ । त्यसपछि एउटा पसलअगाडि लगेर स्कुटर रोकेँ । उहाँले पञ्जा किन्नुभयो, मैले मखलर ।

    हामी त्यसपछि अगाडि बढ्यौँ । मलाई बाटो थाहा नभएकाले इटहरी जाने बाटो कता हो भनेर सोध्दै हिँडेँ । हुस्सुले गर्दा बाटो राम्रोसँग कहाँ देखिन्थ्यो र ? म सुनसरीको भूगोलप्रति पूर्ण रूपमा अनभिज्ञ थिए । सायद भूगोलको केही ज्ञान भएको भए बिहान केही चक्कर लगाएर बाहिर निस्कन्थेँ होला ।

    हामीसँग सरासर इटहरी झर्नुको विकल्प थिएन । मलाई हामी बसेकै घर ‘रेड’ हुन्छ होलाजस्तो लागेको थियो । मैले राति नै उठेर ४/५ चोटि बाहिर चहलपहल विचार गरेको थिएँ । हामी अगाडि बढ्दै थियौँ । बाटो सुनसान थियो ।

    छेउमा नहर थियो । बाँकी देखिएको भाग खाली जमिन थियो । पछाडिबाट एक्कासि रोक–रोक भन्दै एउटा मोटरसाइकल आयो । मोटरसाइकलमा दुईजना थिए । पछाडिपट्टिको व्यक्ति पेस्तोल ताक्दै थियो । रोक–रोक, रोकिनस् भने इन्काउन्टर गरिदन्छु भन्यो ।

    यद्यपि त्यो कराउने व्यक्तिको अनुहारमा हिम्मत कम र डर ज्यादा स्पष्टै देखिन्थ्यो । उसको हात काँपिरहेको थियो । मैले मेरो स्कुटर रोकिदिएँ । अगाडि आएर रोक भनेपछि मैले स्वाभाविक रुपमा रोकिदिएँ ।

    त्यति बेला मलाई लाग्यो– हामी सेल्टरबाट बाहिरिँदै गर्दा एउटा मोटरसाइकल सोही स्थानबाट पछिपछि आएर केही अगाडि बढेपछि हामीलाई जितेर हराएको थियो ।

    मलाई लाग्छ, हामीलाई सोही घरबाटै पछ्याउन सुरु भैसकेको थियो । त्यो हामी बसेको स्थान प्रहरीले सर्वाधिक ‘ मार्क’ गरेको स्थान थियो भन्ने पछि थाहा लाग्यो । त्यहाँ हाम्रा साथीहरूको आवतजावत धेरैपटक भएको थियो । त्योभन्दा अगाडि पक्राउ खाएका, आत्मसमर्पण गरेका धेरै साथीहरू त्यहाँ कयौँ सातासम्म बसेको घर र स्थान थियो ।

    सुनसरी जिल्लाका जिम्मेवार कमरेडहरूसँग त्यति समन्वय हुनुपर्ने हो । त्यसो हुन सकेन । दुस्मनले आफ्नो सर्वाधिक अभीष्ट पूरा गर्न सफल भयो । दिदीसहित म पूर्वका (मेची–कोसी) महत्वपूर्ण राजनीतिक व्यक्तित्व, प्रशासनिक व्यक्तित्व, व्यावसायिक व्यक्तित्व, अधिकारकर्मीहरूसँग समय मिलाएर सुरक्षा संवेदनशीलतालाई अधिकतम ख्याल गरेर भेटघाट, छलफल र अन्तक्र्रिया गरिरहेका थियौँ ।

    शिलु दिदीको भनाइ थियो– नेतृत्वले सुरक्षित हुनुहोस् भनेको काम नगरेर, लुकेर हिँड्नुस् भन्नुभएको होइन । सुरक्षित भएर पार्टीको काम गर्नुस् भन्नुभएको हो । उहाँ यसो भनिरहनुहुन्थ्यो– एउटा मिडियामा चन्दाको पासोमा विप्लवका नेताहरू भन्ने आएकाले समाचार थाहा पाइयो तर नितान्त हाम्रो काम चन्दाका लागि मात्र थिएन ।

    स्वाभाविक मङ्सिरसम्म देशव्यापी आर्थिक अभियान भएकाले त्यो काम पार्टीजीवनमा महत्वपूर्ण हुने नै भयो । यद्यपि दिदीको महत्वपूर्ण छलफल र सकारात्मक प्रतिक्रियाको बीचबाट हेर्दा त्यसैमा धेरै समय धेरै गतिविधि गर्नु परेन । बरु हाम्रो त सङ्गठनमा जोड थियो जसमा मेची–कोसीका सबै जिल्लाहरूमा सशक्त र पार्टीका कामहरूलाई कार्यान्वयन गर्न सक्षम सबल सङ्गठन बनाउने, झापा, मोरङ र सुनसरीमा ठूला जनसङ्घर्ष गर्ने ।

    आधार क्षेत्रमा दीर्घकालीन र व्यवस्थापन जनमुक्ति सेनाको सबलीकरण, जनवर्गीय सङ्गठनहरूको शुद्धीकरण, उत्पादन, साथीहरूका समस्याहरूको समाधान आदि कुरामा हाम्रो जोडबल थियो ।

    हामी मोरङ, झापा, सुनसरी, उत्तरी मोरङ, दक्षिणी इलामका जिम्मेवार साथीहरू र टिमका महत्वपूर्ण साथीहरूसँग प्रत्यक्ष भेटघाट, छलफल, निरन्तर गरिरहेका थियौँ । केही महत्वपूर्ण कामपछि ताप्लेजुङसम्म जाने र सोह्रथुमसम्म पुग्ने कुरा थियो ।

    स्पष्टै छ काम गर्ने कुरामा हामीले कुनै कसर बाँकी राखेका छैनौँ । त्यसैले विरोधीहरू आत्तिएका थिए । पूर्वमा उठ्दै गरेको क्रान्तिकारी आन्दोलनलाई निष्प्रभावी बनाउन सकिन्छ भने कथित, कपोलकल्पित र खुनी योजना बनाइरहेका थिए । केन्द्र, प्रदेश र उसका जिल्ला एकाइ र युनिट घुमुवा सिभिल प्रहरीहरू हाम्राविरुद्ध परिचालित थिए । उनीहरू हामीलाई गिरफ्तार गर्न सकेसम्मको मेहनत गरेर लागिरहेका थिए । सफल भने थिएनन्, त्यो सम्भावना न्यून थियो ।

    हामीलाई खोज्दै–खोज्दै आफ्नो दलबलसहित झापा हान्निएको १ नम्बर प्रदेश प्रहरी बबिन्द्र नेम्बाङको घुमुवा टोली रातारात सुनसरी बराहक्षेत्र (जहाँ हामी बसेका थियौँ आइपुगेको थियो ।

    उनीहरूले हामी त्यो क्षेत्रमा बसेको विशेष सूचानबाट प्राप्त गरेका थिए । हामी जहाँ बस्यौँ त्यो छनोट गलत थियो । हामीलाई जहाँ पक्राउ गर्यो त्यहाँ आउने सादा पोसाकको प्रहरीले पेस्तोल ताक्दै हात उठा भन्यो ।

    मैले रोकिराखेको स्कुटीबाट किन उठाउने ? प्रतिप्रश्न गरे । उठा, नत्र इन्काउन्टर गरिदिन्छु भन्यो । उत्रिएर छेउमा आएर पोस्तोल ताक्यो । हतकडी झिक्यो अनि लगायो । दिदीलाई र मलाई एउटै हतकडी लगायो । कम्मर छाम्यो, स्कुटीको डिकी छाम्यो, हेप्यो । गोजी सबै हे¥यो । त्यति नहुँदै सिभिल प्रहरीको गाडी आयो । प्रहरी भ्यान आयो । अन्य प्रहरी आए ।

    हाम्रो गिरफ्तारिका लागि करिब ६०/७० जना प्रहरी बाटो, चेकपोस्ट, गाडी ढुकेर बसेका थिए । केन्द्र, प्रदेश र जिल्लासमेतको सहभागिता थियो । हामीलाई भ्यानमा हाल्यो र लिएर हिँड्यो । मैले भ्यानबाटै पर्सनल कमरेडलाई आफूहरू गिरफ्तार परिसकेको जानकारी गराएँ किनकि हाम्रो भेट उहाँसँग हुँदै थियो । सोही केन्द्र, प्रदेश र जिल्लासमेतको सहभागिता थियो ।

    बिहान सुनसरी जिल्लाका पुराना महत्वपूर्ण साथीहरूलाई भेट्नेवाला थियौँ । हाम्रो मोरङ र सुनसरीमा नितान्त साङ्गठनिक भेटघाट थियो । जनवर्गीय सङ्गठनका जिम्मेवार साथीहरूलाई हामीले अघिल्लो दिनको साँझ भेटिसकेका थियौँ ।

    सायद हाम्रो भेटघाट भेरै परिणाम ल्याउने ध्याउन्नमा अलि खुकुलो हुँदै थियो कि ? फेरि एउटा जिल्लाका जिम्मेवार, परिपक्व, अनुभवी कमरेडहरूलाई भेट्नु कसरी खुकुलो हुने ? पक्कै हामी यसै विषयमा केही गम्भीर, केही सचेत र होसियार हुन आवश्यक देखियो ।

    हामीलाई प्रहरी भ्यानले महेन्द्रनगर इलाका प्रहरी कार्यालय चन्द्रगढीमा ल्याएर राख्यो । मुद्दा शाखामा ८ बजेदेखि करिब ११ बजेसम्म ।

    प्रहरीहरू हाकिम आउने कुरा बताउँदै थिए । ११ बजेतिर डीएसपी विनोद शर्मा दिदी नमस्कार भन्दै आइपुगे । दिदीलाई माथि घाममा लैजा भन्दै छतमा हामीलाई लग्यो ।

    दिदी र म कालीकोटमा बसेको हो । कालीकोटमा हुँदा प्रत्येक घरमा विप्लव छन् । सबैलाई समाएर राखे जेल र हिरासतले भ्याउँदैन भनेर प्रतिक्रिया दिने मै हुँ भन्दै आफ्नो बखान तिनले गरे । हामीलाई केही सोधे ।

    हामीले केही आफ्ना स्वाभाविक कुरा अनौपचारिक राख्यौँ । केही राजनीतिक कुरा भए । आफ्नो कुरा गर्वका साथ राख्यौँ । उनीहरूकै इन्स्पेक्टरले खाने मेसमा खाना खुवाए ।

    एकजना सादा पोसाकको प्रहरी नेपाली कागज लिएर आइपुगे । त्यो खानतलासी बरामदीको मुचुल्का उठाउने कागजात थियो । डीएसपी आफैँले बरामदीमा राख्ने वस्तु केही छैन । प्रक्रिया दिए  ।

    केही नभएको भनी कागजात बनाउनुपर्यो भने,  उनले दिदी राम्रोसँग पढ्नुस है कागज, प्रहरीले पेस्तोल राख्न सक्छ नि भने । हामीमा कुनै आपराधिक चेत थिएन । सामान्य हिसाबले नै त्यो कागज पढ्यौँ । त्यसपछि हामीलाई डीएसपीले आफ्नो गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याए र हिरासतमा हाले ।

    रिभल्बरको कथित आरोप

    हामी दुवै पूर्ण रूपमा निःशस्त्र थियौँ । सायद हामीसँग पेस्तोल हुँदो हो भने प्रतिकार गथ्र्यौं होला । हामीसँग त्यो मौका, समय र मौसम सबै थियो ।

    हाम्रो साथमा नङ काट्ने नङकट, दाह्री फाल्ने मेसिन, केही फेरफार कपडाबाहेक केही पनि थिएन । डीएसपी बिनोद शर्मा स्वयम्ले हामीसँग केही नभएको विषयमा स्पष्ट भएको र बरामदीमा केही राख्न नसकिने कुरा स्पष्ट भएको अवस्था थियो ।

    हामीलाई हिरासतमा राखेको भोलिपल्ट बिहान मुद्दा फाँटमा लगियो । मेरा अगाडि प्रहरीहरू थिए । तिनले थुनुवा पुर्जी बुझ्न भने । मैले के मुद्दाहो भनेर प्रश्न गरेँ । उनले हातहतियार खरखजाना भएको सुनाए ।

    हामी झसङ्ग भयौँ किनकि हामी पूर्ण रूपमा निःशस्त्र थियौँ । एकाएक कथित झूट्टा मुद्दा बनाएर प्रहरी हामीलाई साँच्चीकै पेस्तोल बोक्न बाध्य पार्दै थियो ।

    यो देशको सामाजिक फासिवादी सरकार नागरिकहरूको आलोचना, विरोध र विद्रोह गर्न सक्दैन वा आफूहरू सच्चिनु पर्दछ भनेर गम्भीर बन्नुको सट्टा खबरदारी गर्नेहरूलाई यसरी नै बनावटी मुद्दा र कथित आरोपहरूले आरोपित गरेर थुन्दै जान्छ भने पेस्तोल बोक्ने कुरा, बन्दुक उठाउने कुरा अनिवार्य बन्दैन र ? पक्कै पनि अनिवार्य बन्दै जानेछ ।

    हामीले उक्त थुनुवा पुर्जी बुझ्न मानेनौँ । हामीले त्यसको मौखिक प्रतिवाद गर्यौँ । उनीहरूको आरोप थियो– हामीलाई यूएसए लेखिएको अमेरिकन रिभल्बर र त्यसमा लाग्ने ५ राउन्ड गोलीसहित लोड भएको अवस्था पक्राउ गरिएको हो ।

    उनीहरूको प्रतिवेदनमा उमा भुजेलको कम्मरमा पेस्तोल भएको, उनले पेस्तोल निकालेर प्रहरीलाई ताकेको, प्रहरीलाई ताकिरहेको पेस्तोल उमा भुजेलको हातबाट खोसी सुमनसिंहले हान्न खोजेको तर उमाले सुमनको हातबाट खोसी पुनः आफ्नै कम्मरमा भिरेपछि प्रहरीले नियन्त्रणमा लिएको ।

    यस्तो कपोलकल्पित, मिथ्या र हास्यास्पद प्रतिवेदन प्रहरीले बनाएको थियो । हामीलाई पनि देखाइयो, एउटा खिया परेको, पुरानो सायद पड्किन्नथ्यो, त्यस्तो पेस्तोल देखाइयो । त्यसबेला मैले सहिद कुमार पौडेललाई सम्झिएँ ।

    कुमार पौडेलको षड्यन्त्रपूर्वक हत्या गर्दा उहाँको हत्यापछाडि सार्वजनिक फोटोमा हातको छेउमा पेस्तोलजस्तो देखिएको थियो । काठको बिँड भएको, खिया लागेको । मलाई लाग्यो प्रहरीको घुमुवा टोली मौका मिलेको भए हाम्रो हत्या गर्ने मनसायले पछि लागेको थियो ।

    आपराधिक मनोवृत्ति र मनसाय भएका योजनामा खटिएका व्यक्तिगत लाभका लागि बढी सोच्ने मानिसहरू हिंस्रक हुन्छन् । जसरी कमरेड कुमारको हत्या भयो, त्यसैगरी हाम्रो हत्या गर्ने र हातमा यही थोत्रो पेस्तोल राखिदिने मनसायले योजनामै आएका थिए भन्ने आधारहरू पनि छन् किनकि पछिसम्म अन्य प्रहरीहरू तपाईंहरूसँग पेस्तोल थियो भनेर जिकिर गरिरहेका थिए ।

    मलाई लाग्छ १ नम्बर प्रहरी कार्यालय र वर्तमान सामाजिक फासिवादी सत्ताका १ नम्बरका केही मुख्तियारहरू हाम्रो आन्दोलनलाई निष्प्रभावी पार्न व्यक्तिहत्यामा उत्रिएको र उनीहरू हत्याको हिंस्रक मानसिकतामा रहेको विगतका घटनाहरूबाटै स्पष्ट भैसकेका छन् ।

    यद्यपि हामी बलिदान गर्न, कयौँ वर्ष जेल बस्न, यातना सहन मानसिक रूपमा तयार भएरै हिँडेका कारण बलिदान हाम्रा निम्ति गर्वको विषय हो । यो रिभल्बरको झूट्टो अभियोग देखेपछि र बनावटी कथा हेरेपछि लाग्यो हाम्रा कयौँ साथीहरूलाई हिजो आज प्रहरीले यस्तै झूट्टा अभियोग लगाएको छ ।

    सबैलाई साँच्चिकै बन्दुक बोक्न, पेस्तोल भिर्न र प्रतिकार गर्न बाध्य बनाउँदैछ भन्ने लागिरहेको छ । हामी वर्तमान दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थासहितको उन्नत समाज, सभ्यता र संस्कृति स्थापनाका निम्ति सङ्घर्षरत छौँ ।

    हामी निर्भीकतापूर्वक आफ्नो कुरा भनिरहन्छाैँ, प्रतिवाद गरिरहन्छौँ । हामीले उठाएको आवाज हाम्रो विद्रोह लाखौँ प्रहरी, सुरक्षाकर्मीहरूका लागि पनि हो । वर्तमान सत्ता हामीलाई गिरफ्तार गर्ने बबिन्द्र नेम्बाङहरूको वर्गको खिलापमा पनि छ ।

    सायद यिनै सुरक्षाकर्मी साथीहरूले महलको गीतमा रमाइदिनुभन्दा झुपडीहरूको गीत कोरिदिए भने आफ्नो वर्ग, समुदायप्रति इमानदार भएको ठहरिनेछ । हाम्रो पूर्वाग्रह अत्यन्त कम अनुरोध नै ज्यादा छ । हामी भन्न चाहान्छौ ।

    सत्यलाई कैद नगर, सत्यको हत्या नगर ।
    कहिल्यै पनि हत्केलाले सूर्यलाई छेक्न सकिँदैन ।
    म त अहिल्यै भनिरहेको छु ।
    ए जून मलाई पनि तिम्लेजस्तै
    अँध्यारो फटाउँदै, लुटारुले सिर्जना गरेको
    कृत्रिम अँध्यारोमा थोरै भए पनि
    उज्यालो भरेर अस्ताउनु छ ।

    यो दुनियाँबाट बिदा लिनु, अस्ताउनु सबैलाई छ । कोही छैन अजम्मरी । मलाई थोरै भए पनि समाजमा केही सकारात्मक योगदान गरेर अस्ताउनु छ । समाज बदल्ने न्यायपूर्ण लडाइँलाई थोरै भए पनि योगदान गरेर मर्नुछ ।

    लुटेराहरूले खडा गरेको कृत्रिम, बनावटी, अँध्यारो, लूट र अत्याचारपूर्ण सामाजिक अवस्थालाई परिवर्तन गरेर सबै नागरिकहरू खुसी हुने, समान हुने, अधिकारपूर्ण हुने सामाजिक अवस्था निर्माण गर्नुछ । यही गरेबापत भागमा मृत्यु नै पर्छ भने त्यो स्विकार्ने चाहना मैले राखेको छु ।

    मेरो अनुरोध छ– यस्ता झूट्टा रिभल्बरका कार्य, हत्याका षड्यन्त्र, यातनाका तानाबाना अबको युगमा, यो चेतनामा पाच्य हुँदैन । यसो नगर्नुमै बुद्धिमत्ता ठहरिनेछ ।

    म्याद थप र आन्दोलनको यात्रा

    हामीलाई पुस १२ गते थुनुवा कोठामा हाल्यो । दोस्रो दिन अदालत लगेर ५ दिनको म्याद थप गरियो । सरकारी वकिल कार्यालयमा लगियो ।

    हाम्रो अभियोगका बारेमा सोधियो । हामीले प्रतिवाद गर्यौँ । म्याद थपको पुस्तिकामा हस्ताक्षर गर्न मानेनौँ । अन्त्यमा आफ्नो कुरा राख्ने समय आउने भएकाले हस्ताक्षर गर्ने स्थानमा रिभल्बरको विषय अस्वीकार भएको नोट लेखेर हस्ताक्षर गर्यौँ ।

    त्यो दिन प्रहरीको व्यवहार एकदमै घिनलाग्दो थियो । गाडीमा हाल्यो शिलु दिदीलाई चिन्ने एकजना सर्वसाधारण (जनयुद्धमा योगदान गरेको महिला आएर खुब रोइन् । म पनि भावुक भएँ ।

    मेरा पनि आँखा रसाए । मलाई यस्तो लाग्यो– आज हामी दलालहरूको पछि लाग्ने भएर खट्ने, त्यही फोहोरी राजनीतिमा थियौँ भने जनताको यो हार्दिकता, यही व्यवहार र माया प्राप्त हुन्थ्यो होला ? अहँ हुँदैनथ्यो, बरु घृणा, थुकाइ प्राप्त हुन्थ्यो ।

    फेरि हिरासतमा ल्याइयो । हिरासतको बसाइ, थुनुवाहरूसँग कुरा गर्ने, पत्रिका पढ्ने, कविता– गीत लेख्ने यस्तै बितिरहेको छ । यो एउटा सशक्त र महत्वपूर्ण मोर्चा हो ।

    यो मोर्चालाई गर्वका साथ उचाइमा उठाउनु हाम्रो दायित्व हो । हाम्रो पार्टीका स्थायी समिति सदस्य क. सुदर्शनसहित कयौँ महत्वपूर्ण नेतृत्व दलाल सत्ताको अभिमानको बन्द पर्खालभित्र कैद हुनुहुन्छ ।

    पूर्व क्षेत्रबाट पहिलोपटक शिलु दिदी दुस्मनको घेरामा पर्नुभयो । बाहिरी मोर्चा र जेल मोर्चा हाम्रो आन्दोलनको जीवनमा स्वाभाविक प्रक्रिया हो । बाहिर हुँदा इमानदारीपूर्वक, निष्ठापूर्वक जनताको अपार माया र विश्वासका साथ आफ्नो कर्तव्य निर्वाह गर्यौँ । जहाँ खाली भयो त्यहाँ अझ सशक्त रूपमा आन्दोलन उठ्नेछ । हामी हिरासत र जेल मोर्चा सशक्त रूपमा समाल्नेछौँ ।

    हामीलाई दोस्रोपटक अदालत लग्यो । ५ दिनको म्याद थप्यो । कमरेड लक्ष्मण पौडेल, कमरेड सागर, कमरेड सुरेश र कमरेड मोहनसँग अदालतमा भेट भयो ।

    उहाँहरूलाई पनि म्याद थप गर्न ल्याएको रहेछ । केही कुराहरू भए । त्यस दिन अदालतमा न्यायाधीशलाई ध्यानाकर्षण गराउन पाइयो । मैले केही कुरा राखेँ । दिदीले दमदार कुरा राख्नुभयो ।

    पहिलो कुरा आफूहरूसँग हतियार नभएको, दोस्रो भए प्रतिरोध गर्नका लागि प्रहार हुन्थ्यो, प्रशस्तै वातावरण थियो । तेस्रो नागरिकहरूलाई यसरी पेस्तोल बोकेका झूट्टा आरोपहरू लगाइरहने हो भने साँच्चिकै पोस्तोल बोक्ने र त्यसले राज्यमा युद्ध मच्चिने कुरा राख्नुभयो ।

    सरकार गम्भीर बन्नुपर्ने विषय राख्नुभयो । अदालत परिसरमा धेरै सर्वसाधारण, कानुन व्यवसायी यी कुरा सुनेर स्तब्ध भएको अनुभूति भयो । स्वयम् व्यवसायी पनि गम्भीर र चिन्तित मुद्रामा तपाईंको कुरा नोटिस भयो, आफ्ना कुरा राख्नुहोला भन्दै थिए ।

    हिरासतमा फेरि ल्याए । कनुनको अवस्था, यसको कार्यान्वयनको अवस्था, सुनसरी जिप्रका थुनुवा कक्षमा थुनिएका गरिब मधेसी जनता, लागूपदार्थमा थुनिएका साधारण युवक, साइकल चोर, अटोरिक्सा चालक, सोझा जनतासँग कुरा गर्दै दिनहरू व्यतित गरिरहेको छु । लाग्छ हिरासतभित्र राज्यले आरोपित गरेका अपराधहरू राज्यको निकम्मा र गैरजिम्मेवारीपनका कारण, नागरिकहरूको व्यवस्थापनमा उदासीनताका कारण, अन्याय, अत्याचार, गरिबी, अशिक्षाका कारण उत्पन्न भएका हुन् ।

    यसरी हेर्दा मलाई लाग्छ यो वर्तमान दलाल संसदीय व्यवस्था अपराध नियन्त्रण गर्ने संस्था होइन, अपराध उत्पन्न गर्ने कारखाना भएको स्पष्ट भएको छ । यो व्यवस्थाको सङ्कट छताछुल्ल हुँदै गएको छ । अन्त्य अनिवार्य र आवश्यक छ । जनताको विजय सुनिश्चित छ ।

    तेस्रोपटक ७ दिनको म्याद थप भएको छ । चौथोपटक ६ दिनको म्याद थप भएको छ । हामीलाई झूट्टा कथाहरूले आरोपित गरिएको छ ।

    यस्ता कयौँ झूटहरूको कथा खडा गरेर उभिएको सामाजिक फासिवादी सत्ता हाम्रो विचार, दृष्टिकोण, आदर्श, मूल्य–मान्यताको अगाडि फिक्का साबित हुँदै गएको छ ।

    यो अभिमान, घमण्ड, असन्तोष, झूट, अन्तर्घात, विद्वेष, घृणा, लूट, व्यभिचारको कमजोर धरहरा सामान्य भूकम्पले नै ढाल्नेछ । त्यो भूकम्प भूगर्भमा सल्बलाइरहेको छ । त्यसले विस्फोट हुने केन्द्र छनोट गरिरहेको छ ।

    २०७६ पुष २५ गते इनरुवा हिरासत

    लेखक:राज्यबाट प्रतिबन्धित नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला इन्चार्ज हुन्।हाल उनी झापा कारागारमा छन्।

    प्रतिकृया दिनुहोस्