News Portal

ओरियन्स नेटवर्किङ्गको ठगी धन्दाः सिलगुढीमा बन्धक बने दोलखाका अनिश

रातोपोस्ट संवाददाता
७२१ पटक

झापा। गाउँ घरमा ट्याक्टर चलाएर जीविका चलाउँदै आएका दोलखाको बैतेश्वर गाउँपालिकाका १९ वर्षीय अनिश खड्का ।

ग्रामिण क्षेत्रमा बस्ने अनिशलाई स्थानीय एक युवा राज पौडेलले आश्वासन दिए–‘ झापा जाउँ स्काभेटर चलाउने काम पाइन्छ, म जागिर मिलाई दिन्छु ।’ राजको यो कुरालाई अनिशले नकार्न सकेनन् । विपन्न परिवारका खड्काले रोजगारी पाउने आशमा झापा आउने निर्णय गरे ।

ती दुवैजना झापा आए । झापाको काँकरभिट्टाा नजिकै आईसकेपछि निर्माणाधिन एशियन हाइवेमा प्रयोग हुँदै गरेको स्काभेटर देखाउँदै उनले यसमा तिमीले काम गर्नुपर्छ भन्दै लोभ देखाउन थाले ।

त्यहाँ काम गर्न केही दिनको तालिम लिनुपर्छ भन्दै राजले अनिशलाई सिलिगुढी पुर्याए । पारी(सिलिगुडी) जाँदा नाकामा कसैले सोधेमा सौदा गर्न गएको भन्नु भनेका अनिशले बताए ।

त्यसपछि छुट्टा छुट्टै हिँडेका दुवैजनाको भेट पानीट्याङ्कीमा भयो । त्यसपछि उनीहरु गाडी चढेर सिलिगुडीतर्फ लागे । राजले अनिशलाई सिलिगुढी पुर्याए । त्यसपछि सहभागी अरुसँगै उनले पनि तालिम लिन थाले ।

तर, तालिममा क्षमता विकास, मोटिभेसन जस्ता विषय सिकाउन थालेपछि आफू सशंकित भएको उनले सुनाए ।

राजले तालिम लिँदै गर्दा अनिशबाट ६ हजार लिए । र, भने–‘केही दिनपछि रोजगारी सुरु हुन्छ, उताभन्दा यतै काम राम्रो हुन्छ, सुरुमा एक लाख लगानी गर्नुपर्छ ।’

तर, अनिशलाई यो सम्भव थिएन । उनले आफू पैसा निकाल्न नसक्ने बताए । तर, राजले भने–‘मासिक २५ हजार हुन्छ, घुम्न पाइन्छ, पछि गाडी पनि पाइन्छ ।’

त्यसपछि अनिशलाई आशा पलायो । अनिशले आफु चाहिँ घरमा भन्न नसक्ने भनेपछि तीनै राजले घरमा कुरा गरेपछि आमा बुबाले ऋण काढेर एक लाख रुपैयाँ पठाएको बताए ।

रकम पठाएपछि आफूलाई केही औषधि दिइएको र कोठाभित्रै राखेको उनको भनाई छ । उनले भने–‘पैसा पाएपछि राज हुन्जेल मलाई एक छाक खाना दिँदै आएका थिए ।’

केही दिनपछि अरु साथीहरु लिएर आउने भन्दै उनी पनि गएपछि आफू अरु साथीहरुसँगै कोठामा बस्न थालेको तर, केहीदिन पछि त्यहाँका कर्मचारीले मानसिक तनाव दिन थालेका उनी बताउँछन् ।

केहीदिनपछि बिहान आफूलाई निधारमा कर्मचारीले अनौठो झोल दल्न लगाउन थालेपछि उनी दिनभरी एकोहोरो हुन थालेका थिए । यति मात्र होइन, कम्पनीले आफूलाई कोठाबाट बाहिर निस्कन समेत दिन छाडेको उनले बताए ।

उनीहरु कोठामै आएर अब सदस्य बनाउनुपर्छ अनि मात्र यहाँबाट बाहिर जान पाउने भन्दै धम्की दिन थालेका अनिशले बताए ।

कम्पनीका थापा नाम गरेका कर्मचारीले नेपाल गएर उजुरी गरिस् भने आफूलाई बाँकी नराख्ने भन्दै धम्क्याउने गरेका उनको गुनासो छ ।

उनले तेरो किड्नी समेत गायव हुने दिन गन्ती सुरु भएको भन्दै धम्काउने गरेको अनिशले आँखाभरी आँशु बनाउँदै भने । बेलुका कोठामा आउँदै गालामा कुट्ने गरेको उनको दुःखेसो छ ।

अन्ततः आफूले एक लाख बुझाईसकेपछि १६ दिनसम्म बन्धक भएपछि आफूले भागेर नेपाल जाने निर्णय गरे ।

आफूसँग एक रुपैयाँ समेत नभएका उनले बिहान ढोका खोल्ने कर्मचारीलाई ठेल्दै आफू भाग्न सफल भएको उनले सुनाए ।

बिहान ५ बजे बाहिर निस्किएका उनी नौलो ठाउँ भएका कारण ५ जनाभन्दा बढीलाई सोध्दै हिँडेर ५ घण्टामा नेपाल काँकरभिट्टा आईपुगेका थिए ।

काँकरभिट्टा आईपुगेका उनले विभिन्न संघसंस्था, प्रहरीलाई भेटेर उनले यो पीडा सुनाए । प्रहरीले उनलाई यस विषयमा दोलखा गएर उजुरी गर्न सुझाव दिए । उनलाई संघसंस्थाले केही सहयोग गरेर घर पठाएका छन् ।

उनले हामीसँगको कुराकानीमा आफूलाई लोभ देखाउँदै यो अवस्थामा पुर्याउने राजलाई कारवाहीको माग गर्दै ऋण लागेको पैसा उठाईदिन सहयोग मागेका छन ।

आफू जस्तै अरु नेपालीलाई यस्ता कम्पनीको लोभमा नपर्न उनले आग्रह समेत गरे । उता यसै कम्पनीका एक सिनियर कर्मचारीले फेसबुक कुराकानीमा त्यो मान्छेले गलत बोलेको भन्दै बचाउ गरे ।

उनले त्यो मान्छे आफूहरुसँग सम्पर्कमा नरहेको बताए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले ती युवा प्रहरीको सम्पर्कमा आएका र विषयवस्तु बुझेर दोलखा प्रहरीसँग सहकार्य गर्न भनी पठाइएको बताए ।

प्रतिकृया दिनुहोस्